रोपाइँको बेला खडेरी, उत्पादन घट्ने चिन्ता

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश मैनाली

सर्लाही । रासायनिक मलबिनै धान रोप्न बाध्य बनेका सर्लाहीका किसान पानीसमेत समयमा नपरेपछि झन् चिन्तामा परेका छन् । पानी नपर्दा सर्लाहीका किसानले रोपेको धान सुक्न थालेको छ । पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो । धान खेत पटपट फुटेर धाजा फाटेको किसानले बताएका छन् ।

पानी नपर्दा विशेष गरी पूर्व–पश्चिम राजमार्ग आसपास र चुरेभेगका किसान सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्लामा चुरेको फेदी र पूर्व–पश्चिम राजमार्ग आसपासको क्षेत्रमा आकाशे पानीकै भरमा रोपाइँ हुने गरेको छ । दुई साताअघि दुई दिन झरी पर्दा खुसी हुँदै रोपाइँ गरेका किसान त्यसपछि पानी नपर्दा निराश भएका छन् । पानी पर्न रोकिएपछि बाँकी किसानले धान रोपाइँ गर्नसमेत पाएका छैनन् । पानी नपर्दा रोपाइँ नै रोकिएको हो ।

यो वर्ष सर्लाहीसहित तराई क्षेत्रमा मूल फुट्ने गरी पानी पर्नै नसकेको किसानहरू गुनासो गर्छन् । पम्पसेट चल्ने क्षेत्रका किसानले महँगो मूल्यको इन्धन खर्च गरेर पम्पसेट चलाएर धान रोपाइँ गरिरहेका छन् । पर्याप्त वर्षा नभएकै कारण सर्लाहीमा असार सकिनै लाग्दा भर्खर ४५ प्रतिशतको हाराहारीमा मात्रै धान रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । रोपाइँ गर्न नपाउँदा कतै धानको ब्याड सुक्न थालिसकेको छ भने कतै छिप्पिएर रोप्नै नहुने हुन थालिसकेको छ ।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पानी नपर्दा सिञ्चाइ सुविधा नरहेको क्षेत्रमा रोपेको धान सुक्न थालेको र बाँकी रहेका किसानले रोपाइँ गर्न नपाएका बताउनुभयो । ‘वर्षाले साथ नदिँदा किसान प्रभावित भएका छन्, सिञ्चाइको सुविधा रहेको क्षेत्रमा धमाधम रोपाइँ भए पनि आकाशे वर्षा नै कुर्नुपर्ने ठाउँमा समस्या भएको छ,’ कुशवाहाले भन्नुभयो । सर्लाही जिल्लाभर ४६ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ भने जिल्लामा २० वटै पालिकामा धान खेती हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?