गुणस्तरहीन ढलान गरेको भन्दै रोकियो भुक्तानी

हिमालय टाइम्स
Read Time = 5 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसी ढलानको काम गुणस्तहीन भएको भन्दै भुक्तानी रोकिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा सुरु गरिएको पीसीसी ढलानको काम गुणस्तरहीन भएको दाबीसहित भुक्तानी रोकिएको हो ।

मध्यपहाडीबाट वडा कार्यालय हुँदै स्वास्थ्यचौकी पुग्ने ५५० मिटर सडकको पिसिसी ढलानका क्रममा स्टिमेटअनुसार काम नभएकाले भुक्तानी रोकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले बताउनुभयो । काम सम्पन्न गरेको र बाँकी भुक्तानीसहित फरफारकका लागि उपभोक्ता समिति २४ असारमा नगरपालिका पुगेको थियो ।

उपभोक्ता समितिले १८ असोज २०७८ देखि २० चैत २०७८ सम्ममा काम सक्ने गरी नगरपालिकाबाट करिब १९ लाख पेस्की लिएर सडकको पिसिसी ढलान सुरु गरेको थियो । तर, पीसीसी ढलानका क्रममा स्टिमेटअनुसार सव–वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको नगरपालिकाको दाबी छ । पिसिसी ढलानका क्रममा उपभोक्ता समितिले आठ लाख ८२ हजार २७५ रुपैयाँ बेहोर्नुपर्ने सम्झौता छ । ‘गुणस्तरहीन काम भएकाले भुक्तानी रोकिएको हो,’ उपमेयर राईले भन्नुभयो, ‘भुक्तानीका लागि उपभोक्ता समिति आएको छैन । वडाध्यक्ष अनुरोध गर्न आउनुभएको थियो ।’

त्यसो त वडाध्यक्ष लीलाकुमार चौहानमाथि भेला नगरी आफूखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपूर्वक किर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीका बारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टिमेट र कामको प्रकृतिबारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ ।

हिलो माटोमाथि ढलान गरिरहेको गुनासो आएपछि २३ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बिहान र दिउँसो उपमेयर राई, प्रदेश १ योजना आयोगको उपाध्यक्ष डा. पुर्णकुमार लोप्सन लगायतको टोलीले अनुगमन गरेका थिए । एउटै योजनालाई एकै दिन दुईपटक छड्के अनुगमन गरिएको सम्भवतः जिल्लामै पहिलो हो । २५ असारमा प्रशासनले प्राविधिकको टोली पठाएको थियो ।

गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरेको, निर्माणकै चरणमा सडकको कतिपय भागमा ढलान पड्किएको र सव–बेस नलगाइएकाले मुनिबाट ओढार परेको गठबन्धन दलसम्बद्ध स्थानीय नेताको दाबी छ । वडाध्यक्ष चौहानले भने स्टिमेटअनुसार सडक ढलान काम भएको तर राजनीतिक पूर्वाग्रह राखेर भुक्तानी रोकेको बताउनुहुन्छ ।

आयोजनाको भुक्तानी रोकिएपछि उपभोक्ता समिति समस्यमा परेको छ । उधारोमा निर्माण सामग्री जुटाएर सडक ढलानको काम गरिएको उपभोक्ता समितिले जनाएकोे छ । ‘स्टिमेटअनुसार काम भएको छ । ल्याब रिपोर्ट पास छ,’ चौहानले भन्नुभयो, ‘उपभोक्ता समितिलाई ऋणमा डुबाउने काम भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?