‘प्रसाद-२’ को निर्माण टिम र कलाकारबीच विवाद

Read Time = 4 mins

काठमाडौं । छायांकनका लागि भनेर निस्किसकेको चलचित्र ‘प्रसाद-२’ को टिम छायांकन नै नगरी फर्किएको छ । १७ दिनअघि चलचित्रको कलाकारसहित सम्पूर्ण युनिट कास्कीको ल्वाङ गाउँ पुगेको थियो । तर चलचित्र क्रू र निर्माण टिमबीच व्यवस्थापन र आर्थिक पाटोलाई लिएर अविश्वासको वातावरण सिर्जना भएपछि पूरै टिम छायांकन सुरु नहुँदै फर्किएको हो ।

निर्माता सुवास थापाले आफ्नो निजी व्यानर सुवास थापा प्रोडक्सनमार्फत यो चलचित्र ल्याउने तयारी गर्नुभएको थियो । लकडाउनअघि नै निर्देशनमा सौरभ चौधरीलाई जिम्मेवारी दिएर उहाँ यो चलचित्र बनाउने तयारीमा हुनुहुन्थ्यो । अभिनेता विपिन कार्कीलगायत केही कलाकारले सोही क्रममा एड्भान्स रकम बुझिसक्नुभएको थयो ।

कोरोनाकाल र लकडाउन सुरु भएसँगै चलचित्र बीचमै रोकिन पुग्यो । बुझिएनुसार टिमभित्र मनमुटाव आर्थिक कारणले भइरहेको थियो । बीचमा चलचित्रको निर्माता र निर्देशक नै परिवर्तन भए । निर्माताको रूपमा मेडिकल व्यवसायी केशव पाण्डेको इन्ट्रि भयो भने निर्देशक चौधरीको ठाउँमा नयाँ निर्देशकमा सुदर्शन थापाको आगमन भयो । चलचित्रको असार १६ गते काठमाडौंमा एक कार्यक्रमबीच निर्माण टिम र कलाकारको टिम चिनाइएको थियो ।

चलचित्रका नयाँ निर्माता केशव पाण्डेले केही आन्तरिक विवादका कारण तत्कालका लागि चलचित्रको छायांकन रोकिएको बताउनुभएको छ । उहाँले विविध कारण भन्दै कलाकार तितरवितर भएको बताउनुभयो । चलचित्रका अभिनेता विपिनले निर्माण टिमबाट विश्वासको वातावरण सिर्जना हुन नसक्दा छायांकन रोकिएको बताउनुभएको छ ।

विपिनले निर्माण टिमकै कारणले चलचित्रको छायांकन रोकिएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘एक त चार-पाँच दिनपछि सुटिङमा जाने भनेर हामीलाई लगिएको थियो । तर, १७ दिनसम्म हामी त्यत्तिकै बस्नुप¥यो । अर्को कुरा चलचित्र नयाँ ढंगले निर्माणमा गएपछि सुटिङ सुरु हुनुअघि जति एड्भान्स रकम दिने भनिएको थियो, १७ दिन पुग्दासम्म आउने छाँटकाँट भएन । यो मेरोमात्रै होइन, त्यहाँ धेरैको यस्तै गुनासो भयो ।

पहिले पनि यस्तै भएका कारण हामी धेरैजना सुवास थापा प्रोडक्सनसँग काम नगर्ने भनेर अस्ति नै फर्किन लागेका थियौं । तर, नयाँ निर्माता केशव पाण्डे आएपछि रोकिएका हौं ।’ विपिनले अब यो फिल्म सुवास थापा प्रोडक्सनको व्यानरबाट निर्माण भए आफूले काम नगर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?