मदिराको आयात रोक्दा अवैध कारोबारको चिन्ता

Read Time = 4 mins

काठमाडौं । सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैधरूपमा आयातित विदेशी मदिराको कारोबारको जोखिम बढेको व्यवसायीले बताएका छन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिरालगायत १० किसिमका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । वैधानिक बाटोबाट विदेशी ब्रान्डका मदिरा भित्रिन नपाएको र आयातकर्ता व्यवसायीसँग भएको स्टक सकिँदै गएकाले अवैधरूपमा मदिरा भित्र्याउने समूह सक्रिय हुन थालेको विदेशी मदिराका अधिकृत बिक्रेताहरू बताउँछन् ।

आयात गर्न नपाएको अवस्थामा पनि विदेशी मदिराका नयाँ-नयाँ संस्करण बजारमा देखिएको उनीहरूको भनाइ छ । त्यस्तो मदिरा हवाई यात्रुले ड्युटी फ्री र अवैध कारोबारीले खुला सिमानाबाट भित्र्याएको अनुमान व्यवसायीको छ । दशैं, तिहारजस्ता मदिरा बढी खपत हुने सिजन नजिकिएकाले आयातमा लगाइएको प्रतिबन्ध खारेज नगरे अवैध कारोबार बढ्ने बिक्रेताको दाबी छ । बिक्रेताहरूका अनुसार मदिरामा उच्चदरमा राजस्व लाग्ने हुँदा भारतबाट भन्सार र अन्य कर छलेर ल्याउनेले धेरै नाफा कमाउँछ । मदिरा आयातमा तीन सय प्रतिशतसम्म कर लाग्छ । भारतमा नेपालको तुलनामा मदिरामा कम कर लाग्ने हुँदा उता कर तिरेरै ल्याउँदा पनि राम्रै नाफा हुने अध्ययनले देखाएको छ ।

नेपालमा मदिरा आयात खुला रहेकै बेला पनि गत माघमा ठूलो परिमाणमा अवैधरूपमा आयातित मदिरा काठमाडौंमा बरामद भएको थियो । प्रहरीले काठमाडौंको रामकोट, वानेश्वर, कपनलगायत ठाउँबाट दुई सय १६ कार्टुन करछलीका विदेशी मदिरा बरामद गरेको थियो भने उक्त कारोबारमा संलग्न चारजना पक्राउ परेका थिए । रेड लेबल, चिभास रिगल, एब्सोलुटजस्ता विदेशी ब्रान्डका मदिरा बरामद भएका थिए ।

नेपाल समुद्रपार निकासी पैठारी संघले पनि एक विज्ञप्ति जारी गर्दै आयातमा लगाइएको प्रतिबन्धले चोरी पैठारी बढाएको भन्दै आयात प्रतिबन्ध खारेजीको माग गरेको छ । संघका महासचिव मदन मित्तल बच्चाको खेलौना, मदिरा, तास, इनर्जी ड्रिंक्सजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा चोरबाटोबाट भित्रिने बताउनुहुन्छ ।

तीन वर्षअघि आयातमा प्रतिबन्ध लागेको विदेशी इनर्जी ड्रिंक्स नेपाली बजारमा पाइरहेको उहाँको भनाइ छ । संघका वरिष्ठ उपाध्यक्ष विनोद सेठिया आयातमा प्रतिबन्ध लाग्दा औपचारिक माध्यमबाट हुने विदेशी मुद्राको बहिर्गमन रोकिएको देखिए पनि अर्को पाटो झन् डरलाग्दो हुने बताउनुहुन्छ । संघले आयातको एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान हटाउन पनि आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?