अटेरी ठेकेदार, लाचार सरकार, दर्जन बढी निर्माण आयोजनाहरू अलपत्र

हिमालय टाइम्स
Read Time = 8 mins

विवेक खड्का/हिटा
दाङ । एक करोड १५ लाख ३४ हजार ९२४ रुपैयाँमा यही असार मसान्तभित्र सक्ने गरी २०७७ माघ ८ गते सम्झौता गरिए पनि अहिलेसम्म नाला निर्माणको कामसमेत सकिएको छैन । समयमै काम गर्नका लागि ठेकेदारलाई कार्यालय बोलाएर सचेत गराउनका साथै पत्र काटेर उपमहानगरपालिकाले पटक-पटक ताकेता गरे पनि ठेकेदारले काम गरेको जस्तो बहाना गर्ने तर काम भने नगर्ने प्रवृत्तिका कारण सर्वसाधारण जनताले दुःख पाएका छन् । कुरा हो दाङ घोराहीको सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि सहिद गेटसम्म नालासहित सडक पिचको । तर, नालासहित सडक कालोपत्रे गर्ने जिम्मा पाएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही नै देखायो ।

त्यसैगरी, घोराही उपमहानगरपालिका-४ मा १५ शैय्याको हस्पिटल भवन निर्माण गर्न २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवाले सम्झौता गरे पनि अझै काम सुरु हुन सकेको छैन । संघीय सरकारको १० करोड ६६ लाख चार हजार ९०१ रुपैयाँमा २०७९ असार मसान्तभित्र हस्पिटल बनाउने सम्झौता भएको थियो । त्यहीअनुसार उक्त अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्याससमेत गर्नुभएको थियो । तर, उक्त अस्पतालको शिलान्यासबाहेक अरू काम नै हुन सकेको छैन । अर्काे उदाहरण हो, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्न पुष्पाञ्जलि/पिएस जेभीले २०७८ फागुन ४ गते दुई करोड ३१ लाख ५५ हजार ३६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार काम गरेको भए अहिले उक्त सडक पिच भएको हुनुपर्ने भए पनि ठेकेदारको चरम लापरबाहीका कारण अहिलेसम्म ग्राभेल गर्ने काम मात्रै गरेको छ । पिचको काम यस आर्थिक वर्षमा सक्ने कुनै पनि छाँटकाँट छैन । यी उदाहरण मात्रै हुन् ।

ठेकेदारको चरण लापरबाहीका कारण घोराहीमा एक दर्जन विकास निर्माणका आयोजनाहरू अघि बढ्न सकेका छैनन् । सहरी विकास तथा पूर्वाधार निर्माण शीर्षकमा पालिकाले छुट्याएको बजेटबाट बजार क्षेत्रमा नाला, सडक कालोपत्रेदेखि ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्नका लागि सम्झौताअनुसार समयमा काम नगर्दा अलपत्र जस्तै छन् ।

त्यीमध्येका योजनाहरू हुन, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले ठेक्का लिएको घोराही-८ सौरी थारूगाउँ बाटो पिच निरन्तरता तथा वडा नंं १० को पुरानो वडा कार्यालय हुँदै नारायणपुर थारूगाउँ हुँदै वनगाउँ जोड्ने बाटो निरन्तरता, मानबहादुर मिलदेखि शंकर गौतमको घरसम्मको अधुरो सडक पिच र दक्षिण पानीट्यांकी चोकसम्म सडक पिच, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्ने गरी सम्झौता गरेको पुष्पाञ्जलि/पिएस जेभी, खिरटियादेखि ६ नं. वडा कार्यालयसम्म सडक पिच गर्न बराहक्षेत्र हरितारा कन्स्ट्रक्सन जेभी, घोराही–१७ लख्वारे कुलोदेखि धर्नासम्म सडक बिस्तार तथा थारू कल्याणकारिणी भवनदेखि गैरागाउँ चोकसम्म पिच गर्नका लागि सोहन आभा जेभीरहेका छन् ।

त्यसैगरी, वडा नं. ९ को खैराकोठरी सडक पिच गर्न रोयल बिल्डर्स प्रालि, घोराही वडा नंं. १० मा स्वास्थ्य संस्था भवन निर्माणका लागि रोयल बिल्डर्स प्रालि, घोराही–७ कनरियादेखि वडा नं. ५ को दलजितपुरसम्म, घोराही-१७ को भैसाही चोकदेखि गैरागाउँ हुँदै सर्रा जोड्ने सडक र कटुवा खोला शंखेपीपलदेखि वडा नं.१८ को वडा कार्यालय हुँदै अम्बिकेश्वरी मन्दिर जाने सडक निर्माणसँगै पिच गर्नका लागि आरडी/हाम्रो जेभीले सम्झौताअनुसार निर्माणको काम नगर्दा काम अघि बढ्न सकेका छैनन् ।

घोराही उपमहानगरपालिकाले समयमै काम गराउनका लागि पटक-पटक ताकेता गरे पनि ठेकेदार सम्पर्कमा नआएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनुभयो । ‘तोकिएको समयभित्रै काम सक्ने गरी सम्झौता भएको हो । तर, विभिन्न बहाना बनाएर काममा ढिलाइ गर्ने प्रवृत्ति देखिएपछि केही निर्माण व्यवसायी बोलाएर पत्र काटेर सचेत बनाउने काम गरेका थियौँ’, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भन्नुभयो, ‘तर निर्माण व्यवसायीले काम गर्छु भन्ने तर जिम्मेवारीअनुसार काम नगर्दा समस्या भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत केसीले ठेक्का लगाइएका नौवटा योजनाहरू असारमा सक्नुपर्ने भए पनि अहिलेसम्म कतिपयको कामै सुरु हुन नसकेको बताउनुभयो । ‘कतिपय योजनाहरू यही असारमा सक्नुपर्ने थियो । तर निर्माण व्यवसायीको लापरबाहीले अहिले दिनरात काम गरे पनि नसकिने अवस्थामा छन्,’ उहाँले भन्नुभयो- ‘ठेकेदारले काममा बेइमानी गर्ने र आयोजना अलपत्र पार्दा नागरिकले सास्ती बेहोर्नुपरेको छ । अर्काेतिर पालिकाको अपेक्षाअनुसार प्रगतिसमेत देखिन सकेको छैन । सडक निर्माणका लागि नाला अलपत्र बनाउनेदेखि सडकभरि गिट्टी फिँजाउँदा आवागमनमा समेत असर पुगेको स्थानीयको गुनासो छ । ‘योजना सम्झौता गरे पनि काम भएका छैनन्’, घोराहीका एक स्थानीयले भन्नुभयो, ‘यसरी बेवास्ता गर्दा पनि ठेकेदारलाई राज्यले कारबाही गर्न नसकेर बेखबरजस्तै भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?