कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवामाथि दबाब बढाउँदै इतरसमूह

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा इतर समूहका नेताहरूले प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवामाथि दबाब बढाउँदै लगेका हुन् । सभापति देउवाले सरकार र पार्टी दुवैको नेतृत्व प्रभावकारी ढंगले गर्न नसकेको आरोप इतर समूहका नेताहरूले लगाएका छन् । बैठकमा बोल्ने अधिकांश इतर समूहका नेताले सरकारको समेत आलोचना गरेका छन् । सभापति देउवा आफूलाई मत नदिनेहरूको सभापति हुन नसकेकोदेखि सरकार सञ्चालनमा चुकेको इतर समूहको आरोप छ ।

सानेपामा बैठकको पहिलो दिन सोमबार डा. शेखर कोइरालाले गभर्नरलाई हटाउने निर्णय, बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नतालगायत मुद्दामा देउवालाई प्रश्न गर्नुभएको थियो । उहाँले १२ बुँदामा सभापति देउवासँग असन्तुष्टि पोख्नुभएको थियो । त्यसपछि बिहीबारसम्म आइपुग्दा इतर समूहका नेताहरूले देउवाको आलोचना गर्न छोडेका छैनन् । बिहीबार धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टीलाई बलियो बनाएर निर्वाचनमा जानुपर्ने, भ्रातृ संस्थालाई पूर्णता दिएर क्रियाशील बनाउनुपर्ने, निर्वाचनमा सफलता हासिल गर्न तालमेलको रणनीतिलगायत विषयमा जोड दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । संस्थापन पक्षका नेताहरूले भने सभापति देउवा र सरकारको बचाउ गर्दै इतर समूहको प्रतिवादसमेत गर्ने गरेका छन् ।

देउवाले पार्टीमा सबैलाई समेटेर जान सक्नुभएन : केसी
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको एउटा पक्षलाई तिरस्कार गरेर गठबन्धनका नाममा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको मात्र हित सोचेको बताउनुभएको छ । केन्द्रीय कार्य समिति बैठकमा लिखित धारणा राख्दै नेता केसीले पार्टी सभापति विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षति हुने बताउनुभयो । ‘देशको वर्तमान अवस्था : नेपाली कांग्रेसको जिम्मेवारी’ दस्तावेज पेश गर्दै उहाँले सभापति सबै दृष्टिकोणले सबल र सक्षम हुन नसकेको बताउनुभयो । चुनावी गठबन्धन तत्कालीन रणनीति मात्र रहेको भन्दै संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन आवश्यक छ भने पार्टीको स्वाभीमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टतासहित निश्चित मापदण्ड र आचारसंहिता हुनुपर्ने उहाँको भनाइ थियो ।

केसीले सभापति देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको बताउनुभयो । नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो । केसीले महाधिवेशनमा पराजित डा. शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताउनुभयो । महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि नीति महाधिवेशन गर्न नसकेको, केन्द्रीय विभाग गठन र भ्रातृ संस्थाहरूको अधिवेशन गरेर पार्टीलाई पूर्णता दिन नसकेको उहाँले आग्रह गर्नुभयो ।

चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिले शेरबहादुर र रामचन्द्रलाई कारबाही गर्नुपर्छ : बलबहादुर
नेपाली कांग्रेसका नेता बलबहादुर केसीले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिला शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा बोल्दै सभापति देउवा र नेता पौडेलले नै गत चुनावमा अन्त भोट हाल्न सिकाएको भन्दै पहिले उहाँहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो । पार्टीलाई मिलाएर लैजान पनि उहाँले आग्रह गर्नुभयो । ‘चुनावमा असहयोग गरेकाहरूलाई कारबाही गर्ने कुरा छ, गठबन्धन भएको ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकाहरूलाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ किनभने उहाँहरूले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको ।’

अरू दलसँग गठबन्धन गरेका छौँ, पार्टीभित्र पनि आवश्यक छ : निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिनुभएको छ । बिहीबार केन्द्रीय समितिको बैठकपछि निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहे जस्तै पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बहुमतको पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । ‘गठबन्धन र चुनावी तालमेल फरक-फरक कुरा हुन् । सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘अरू दलसँग गठबन्धन गरेका छौँ । तर, पार्टीभित्र पनि गठबन्धन आवश्यक छ ।’

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरूलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको निधिले बताउनुभयो । उहाँले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रका धेरै संकटलाई कांग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

गठबन्धनबारे ‘प्लान बी’मा पनि प्रवेश गर्नुपर्छ : पाण्डे
नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा ‘प्लान बी’मा पनि प्रवेश गर्नुपर्ने बताउनुभयो ।

‘आगामी दिनमा कुन बाटो जाने भन्ने प्र्रश्नहरू उठेका छन् । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरू पनि उठेका छन्,’ उहाँले भन्नुभयो, ‘गठबन्धन तोड्नु हुँदैन । तोडिए प्लान ‘बी’ मा पनि जानुपर्ने कुरा छ ।’ सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।

सिटौलाको प्रश्न : भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । केन्द्रीय समिति बैठकमा बौल्दै नेता सिटौलाले आगामी निर्वाचनमा वाम एकता भएमा पार्टीको स्थिति के होला ? भनेर प्रश्न गर्नुभयो । गठबन्धन परिस्थितिले निर्माण हुने भएकोले वाम एकता भएमा कांग्रेसलाई अप्ठ्यारो पर्नसक्ने बताउनुभयो । ‘स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो, भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन बन्दा कांग्रेस प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको थियो । गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यकता छैन । देश जता जान्छ, त्यतै जाने हो । त्यो परिस्थितिले भन्ने कुरा हो ।’

मधेशका कांग्रेसी गठबन्धनको पक्षमा छैनन्, म पनि छैन : कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा नरहेको ठोकुवा गर्नुभएको छ । जनकपुरधामको पिडरिया माईस्थानस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले मधेशका सबै जिल्ला सभापतिहरू कांग्रेस एक्लै लड्नुपर्ने पक्षमा रहेको बताउनुभयो । कोइरालाले ‘गठबन्धन गर्ने पक्षमा तपाईंहरू हुनुहुन्न भन्ने कुरा मलाई थाहा छ’ भनिरहँदा उपस्थित नेता कार्यकर्ताले ताली बजाएका थिए । गठबन्धनका न्यूनतम मापदण्ड मानेर कांग्रेस अगाडि बढ्नुपर्ने उहाँको तर्क थियो । उहाँले आगामी चुनावसम्म वाम गठबन्धनको पनि सम्भावना रहेको बताउनुभयो ।

अर्थमन्त्रीको घटना विषयमा बोल्दै नेता कोइरालाले अर्थमन्त्रीको राजीनामाले नै गडबड भएको स्पष्ट भएको बताउनुभयो । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामाले मात्र नपुग्ने उहाँले बताउनुभयो ।

चुनावी तालमेलको लागि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । त्यो सुखद रहेको बताउँदै कोइरालाले अब संसद् र प्रदेशको निर्वाचनमा त्योभन्दा बढ्ने उद्देश्य लिएर काम गर्नुपर्ने निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?