मोरङको पेट्रोल खानी गौचरणमा परिणत

हिमालय टाइम्स
Read Time = 4 mins

मोरङ । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् ।

पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् ।

सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ । सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन् ।

स्थानीय कुलबहादर भण्डारीले सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको बताउनुहुन्छ । उहाँले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने बताउनु भयो ।

वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्नुहुन्छ स्थानीय यामप्रसाद तिम्सिना । उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको बताउनु भयो ।

३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उहाँको भनाइ छ । उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो रहेको बताउनु भयो । उहाँले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकोले भारतले नदिएको गुनासो आउनेगरेको बताउनु भयो ।

२०४५ सालमा चाइना कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणी रेग्मीले बताउनु भयो । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उहाँको भनाइ छ ।

सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत तएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसंग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीहरुको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?