राप्रपानिकट महिला संगठनले बुझायो गृहमन्त्री खाँणलाई ज्ञापनपत्र

Read Time = 4 mins

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शुक्रबार महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षासंग सम्बन्धित विभिन्न माग राखी गृहमन्त्री बालकृष्ण खाँड समक्ष ज्ञापनपत्र बुझाएको छ ।

संगठनकी अध्यक्ष अञ्जना शाह रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीको पनि उपस्थिति थियो ।

१३ असारदेखि राप्रपा चरणबद्ध आन्दोलनमा छ । राप्रपाको केन्द्र, जिल्ला, प्रदेश र विभिन्न भातृ संगठनहरु १३ असार, १७ असार, १९ असार, २२ असार, २४ असार, २७ असारमा सडक प्रदर्शन गरेको छ ।

यसक्रममा महिला संगठन पनि आफ्नो सरोकारका विषयलाई लिएर आन्दोलित भएको हो । १ असारमा २ सुत्रीय माग रोखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासंग सम्बन्धित विविध माग राखेको छ ।

यसको अलावा राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष बनाउन निश्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा बुझाएको थियो ।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?