सडक बालबालिकाको अध्ययन गर्न कार्यदल गठन

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी। गुल्मीमा सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा समन्वय प्रमुख द्रोणबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले सडक बालबालिकाहरूको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी जिल्लाका सडक बालबालिकाहरुको पहिचान र दीर्घकालीन समस्या समाधानको लागि गम्भीर छलफल गरि आवश्यक कार्ययोजना निर्माण गरेर तत्काल कार्य प्रारम्भ गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकको निर्णयअनुसार जिल्ला शिक्षा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय सडक बालबालिकाको अध्ययन गर्न कार्यदल गठन गरिएको हो । कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा रेसुंगा नगरपालिकाबाट एक/एक प्रतिनिधि संलग्न रहनुभएको छ ।

उक्त कार्यादलमा पत्रकार महासंघको समेत प्रतिनिधित्व रहनेछ । सो कार्यदलले सडक बालबालिकाको वर्तमान अवस्था, वितरण र विवरण सम्बन्धमा अध्ययन गरी विस्तृत तथ्यांक संकलन गरेर अर्को बैठकमा छलफलका निम्ति पेश गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय प्रमुख खत्रीको अध्यक्षता रहेको बैठकमा रेसुंगा नगरपालिकाका नगरप्रमुख पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी, शिक्षा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, जिल्ला समन्वय समितिका शाखा अधिकृत विष्णुप्रसाद भुसाल, खरिदार खिमप्रसाद श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?