मोरङको पेट्रोल खानी गौचरणमा परिणत

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानीहरू बेवारिसे बनेका छन् । पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर, कुनै पनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् ।

सरकारले सञ्चालनका लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ । मोरङको बेलबारी नगरपालिका–८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ । सरकारले चासो नदिँदा पेट्रोल खानी जीर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेको भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएका कच्चा पदार्थहरू नष्ट भएका छन् । सरकारले बेला–बेला आएर हेर्नेबाहेक अन्य काम गर्न नसकेको स्थानीय कुलबहादुर भण्डारी बताउनुहुन्छ । उहाँले सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नुनपर्ने बताउनुभयो ।

वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरे पनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो स्थानीय यामप्रसाद तिम्सिनाको छ । उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको उहाँले बताउनुभयो । ३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उहाँको भनाइ छ । उहाँले उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतले दबाब दिएको पनि आरोप लगाउनुभयो । उहाँले नेपालको उक्त खानी सञ्चालन गरे भारतको खानी सुक्ने भएकाले भारतले नदिएको गुनासो आउने गरेको बताउनुभयो ।

२०४५ सालमा चाइना कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणि रेग्मीले बताउनुभयो । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सीमित भएको उहाँको भनाइ छ । सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जंगलमा परिणत भएको छ । सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहे पनि आफूसँग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी–८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरू बेवारिसे भई खेर गएको स्थानीहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?