पुस्तकालयलाई पुर्नजीवन दिने अभियान सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

-अनिल पोखरेल

राजजिराज । सप्तरीको राजविराज–७ स्थित सप्तरीकै पुरानो लेखनाथ  आदर्श पुस्तकालयको अस्तित्व समाप्त भएपछि यसलाई पुर्नजीवन दिने अभियान सुरु भएको छ । बि.स. २०७२ सालदेखि पूर्णरुपमा बन्द रहेको उक्त पुस्तकालयलाई पुनःसंचालनमा ल्याउन स्थानीय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक सुरेन्द्रप्रसाद गुप्ताले अभियान थाल्नु भएको छ । संचारकर्मी तथा साहित्यकर्मी समेत रहनु भएका गुप्ताले समाजिक सञ्जालमार्फत पहल थालेपछि विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धता आउन थालेको हो ।

बि.स. २०१६ सालमा स्थापित सप्तरी कै पुरानो मध्येका एक आदर्श पुस्तकालय तत्कालिन वडा हाकिम बद्री बिक्रम थापाको विशेष पहलमा राजविराज–७ मा स्थापना भएको थियो । पुस्तकालयको जिर्ण भवनलाई भत्काएर नयाँ संरचना निर्माण गरिए पनि पुस्तकालयका लागि आवश्यक कोठाको व्यवस्था नगरी ब्यापारिक प्रयोजनका लागि सटरहरू निर्माण हुँदा पुस्तकालय लोप हुने अवस्थामा पुगेको गुप्ताको भनाइ छ । पुस्तकालयमा रहेका अधिकाँश फर्निचर र पुस्तक नष्ट भई सकेका छन् ।

गुप्ताका अनुसार सामाजिक सञ्जालमार्फत अभियान चलाएपछि हाल काम विषेशले जिल्ला बाहिर रहनुभएका राजविराज निवासी आनन्द मिश्रले १५ हजारदेखि २० हजार सम्मको संख्यामा विश्वका उत्कृष्ट पुस्तकहरू उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै मिश्रले अफ लाईन र अनलाईन पढ्न सकिने करिब १० हजार पुस्तक थप सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको गुप्ताले जानकारी दिनुभएको छ । उहाँका अनुसार साहित्य प्रेमी योगिस खरेल, विमल न्यौपाने, संजिव उपाध्याय लगायतका दर्जनौं व्यक्तिले पुस्तकालयलाई पुर्नजीवन दिने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

समाजिक सञ्जालमार्फत अभियान चलाएको बताउने गुप्ताले पढ्ने बानीमा ह्रास आईरहेकाले पठन संस्कृतिको विकासका लागि पनि यो अभियान चलाएको बताउनुभयो । अभियानमा सघाउने र सहयोग गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गए पनि राजविराज नगरपालिकाले खासै चासो नदेखाएको उहाँको भनाइ छ ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्रप्रसाद यादवले ऐतिहासिक लेखनाथ आदर्श पुस्तकालयलाई पुर्नजीवन दिन नगरपालिका गम्भिर रहेको बताउनु भएको छ । उहाँले पुस्तकालयको जीर्ण भवन भत्काएर व्यापारिक कम्प्लेक्स बनाइए पनि पहिलो तल्लामा सुविधा सम्पन्न लेखनाथ आदर्श पुस्तकालय बनाई यसलाई नयाँ स्वरुपमा ल्याउने योजना बनाएको जानकारी दिनुभयो । उहाँले लेखनाथ पुस्तकालयलाई अत्याधुनिक पुस्तकालय बनाई प्रयोगमा ल्याउन मधेश प्रदेश सरकारसँग पनि सहयोगका लागि आवश्यक पहल थालिएको बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?