एलपीएल सातौं संस्करण कात्तिक १३ गतेदेखि

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । विद्यालयस्तरीय अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको (एलपीएल) सातौं संस्करणको आयोजना धनगढीमा कात्तिक १३ गते देखि कात्तिक २६ गते सम्महुने घोषणा भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रियस्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको आयोजकले विज्ञप्ति जारी गर्दै मिति घोषणा गरेको हो ।

प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले एक लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले तीन हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ । सहभागी प्रत्येक टिमले चारजना अण्डर–१९ राष्ट्रिय टिमका खेलाडी समावेश गर्न पाउने प्रावधान छ । लिगको गत संस्करणमा अण्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनालसहित आदिल अन्सारी, बसिर अहमदसहित यु–१९ राष्ट्रिय क्रिकेटर सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, विपन रावल, विशालविक्रम केसी, सुवास ऐर, आकाश चन्द, गौतम केसी, खडक बोहरा विभिन्न टिमबाट सहभागी हुनुभएको थियो ।

२०७३ सालबाट आयोजना हुँदै आएको प्रतियोगिताको प्रत्यक्ष प्रशारण पहिलोपटक राष्ट्रिय टेलिभिजन टिभी टुडे एचडीले गर्नेछ । यसे प्रतियोगितालाई अझ लोकप्रिय र राष्ट्रव्यापी बनाउने विश्वास आयोजकले लिएको छ । प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिइसकेको छ । विगतको संस्करणभन्दा यसपटक प्रतियोगितालाई थपस्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ । ‘सहभागी १० टिमहरूलाई दुई समूहमा विभाजन गरिनेछ । जसकारण एउटा टिमले चारवटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयभित्र लुकेर रहेका नवप्रतिभा पहिचान गर्न सजिलो हुनेछ’, लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विज्ञप्तिमा जनाउनुभएको छ ।

‘लिगको ६ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेपश्चात सातौं संस्करणलाई थप परिस्कृत सुदृढ र बलियो धनगढीबाट आयोजना गर्न हामी प्रयासरत छौं । सानो उमेर समूहको क्रिकेट बलियो नहुँदसम्म सिनियर क्रिकेट बलियो नहुने तथ्यलाई मध्यनजरगरी विभिन्न कठिनाइका बाबजुद यस प्रतियोगितालाई निरन्तरता दिई राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको थियो । उसले फाइनलमा शेर मल्ल कप्तानीको विद्या भूषण स्कुललाई १६१ रनको अन्तरले पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?