लुम्बिनी टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।

दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य हात पा¥यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान पाँच-पाँच स्वर्ण हात पारे । गण्डकीले थप समान ११-११ रजत र कांस्य पनि प्राप्त गर्‍यो । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्‍यो ।

प्रतियोगितामा चार कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र दुई व्यक्तिगत र एक टिममा कीर्तिमान रच्नुभयो । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिन्नुभयो । १०० मिटर दौड १२.५३ सेकेण्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो ।

त्यस्तै चार गुणा १०० मिटर रिले निशाले रेशु थारू, रामकुमारी थारू र सम्झना थारूसँग मिलेर ५४.२० सेकेण्डको जुनियर राष्ट्रिय कीर्तिमान रच्नुभयो । छात्र लङजम्पमा सुदीप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, प्रशासन विभाग प्रमुख मधुसूदन बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

कुल नगद पुरस्कार राशी नौ लाख ४५ हजार रुपैयाँ रहेको थियो । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५०० खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाउनुभएको छ ।

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५-११, २५-१०, २०-२५, २०-२५ र १५-१२ को सेटमा पराजित गर्‍यो । कर्णाली तेस्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१-२५, २५-२१, २१-२५, २५-१९ र १५-७ ले हरायो । गण्डकी तेस्रो बन्यो ।

कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । पाँच टिम सहभागी छात्रको राउण्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले आठ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोस्रो भयो । छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि पाँच टिमले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । मार्सल आर्ट्समा बागमतीकै दबदबा रहृयो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?