काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई आग्रह गरेको छ । बेलायतको लन्डनमा आयोजित बृहत् अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो आग्रह गर्नुभएको हो । ग्लोबल आइएमई बैंकको लन्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको जानकारी गराउँदै अध्यक्ष ढकालले मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आहृवान गर्नुभयो । धेरै मुलुकको दाँजोमा नेपालमा लगानीकोे सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको उहाँको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौँ र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका सातवटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैरआवासीय नेपालीसँगको सहकार्यमा लमजुङमा निर्माण भएको जलविद्युत् आयोजना सम्पन्न हुनेक्रममा रहेको छ भने म्याग्दीको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्दैछौँ, तपार्इंहरूले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’
उहाँले नेपाल सरकार, राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको जानकारी गराउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेमा बढी प्रतिफल पाइने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘यता विदेशमा बिना व्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याजसमेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत् यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ ।’
उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले भूमिका खेल्नुपर्ने बताउँदै भन्नुभयो, ‘यसका लागि तपाईंहरूले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो । नेपालमा थप वैदेशिक लगानी भिœयाउन सहजीकरण गरिदिनुपर्यो ।’
बेलायतस्थित नेपाली राजदूतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउनसमेत आग्रह गर्नुभयो । डिसिएम खनालले ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रशंसा गर्दै दूतावास पनि सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, हृयाम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लन्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष्य गुरुङ, टिएनबी ग्यारिसनका कमान्डिङ अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
उहाँहरूले बैंकले विदेशमा रहेका नेपालीको सेवा र सजिलोका लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकोमा बैंकको प्रशंसा गर्दै खाताले गैरआवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बैंकका युके प्रतिनिधि अमित चालिसेले राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका