पार्टी फुटाउने प्रयास गरेकाले बाबुरामजीलाई कारबाही गर्नुपर्‍यो : यादव

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताउनुभएको छ । वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा फुटाउने षड्यन्त्र संख्या नपुगेर परास्त भएको बताउनुभएको हो ।

‘पार्टी विधानविपरीत राजनीतिक रूपले गलत बाटोमा लैजाने प्रयासस्वरूप पार्टी विभाजन गरी बाबुरामजीले गुटको बैठक बोलाउनुभयो, यो गलत कार्य थियो,’ उहाँले भन्नुभयोे, ‘पार्टी अनुशासनविपरीत कार्य भएको छ, पार्टीको एकतामा खलल पु¥याउने प्रयास भएको छ ।’ पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई बैठक बोलाउने अधिकार नदिएको यादवले खुलाउनुभयो ।

वीरगन्जमा २९ र ३० गते बसेको बैठकमा दुई तिहाईभन्दा बढी केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको यादवले बताउनुभयो । काठमाडौंका भेलामा केही साथीहरूको मात्र उपस्थिति रहेको थियो । ‘पार्टी फुटाउने जुन उहाँको षड्यन्त्र थियो, त्यो संख्या नपुगरे नै उहाँ परास्त हुनुभयो,’ अध्यक्ष यादवले भन्नुभयो, ‘त्यो प्रयास असफल भएको छ । जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ ।’ गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराई पक्षले नयाँ पार्टी दर्ता गराउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

बाबुराम भट्टराई, महिन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ, हिसिला यमीलगायत नौ जनालाई पार्टीको हितविपरीत कार्य गरेकाले जिम्मेवारीबाट मुक्त गने निर्णय गरिएको पनि उहाँले बताउनुभयो । ‘बाबुरामजीले पार्टी क्षेत्रीयतावादी र जातिवादी बढी भयो भन्दै गुनासो गर्दै आउनुभएको थियो । छुट्टै दृष्टिकोण राख्दै केही केन्द्रीय सदस्य बटुलेर, केही सांसदलाई अनेक भ्रम फैलाएर अगाडि बढ्ने प्रयास गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि हस्ताक्षर अभियान चलाउनुभयो । हस्ताक्षर अभियानमा उहाँको संख्या पनि नपुगेको । र, केही हस्ताक्षरकर्ताले पार्टी विभाजनको षड्यन्त्रमा सहभागी नहुने भनेपछि पछाडि फर्किएका थिए । अनि उहाँको प्रयास असफल भयो ।’
कार्यकारिणी र केन्द्रीय समितिलाई पुनर्गठन गर्ने, विधान संशोधन गर्ने लगायतका पार्टी संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउने यादवले बताउनुभयो । जसपालाई वैकल्पिक शक्ति बनाउने अभियान जारी नै रहने उहाँले बताउनुभयो ।

जसपाको संघीय परिषद्का अध्यक्षमा चयन हुनुभएका अशोक राईले पार्टी विभाजन गर्नेहरूलाई एउटा किनारामा छाडेर मूल प्रवाह जसपाको घोषित लक्ष्यमा कतै पनि क्षति नपुग्ने गरी अगाडि बढ्ने जनाउनुभयो । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई बिहीबार केन्द्रीय समितिको बैठकले पदमुक्त गरी पार्टीका वरिष्ठ नेता अशोक राईलाई परिषद् अध्यक्षमा सर्वसम्मतिले चयन गरेको थियो ।

भट्टराई पक्षले भने नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपालाई पुनर्गठन गरी नयाँ पार्टी बनाउने निर्णय गरेको हो । बैठकले नयाँ पार्टीको नाम र संरचनाबारे निर्णय गर्ने अधिकार जसपाबाट अलग भएका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुने गरी अध्यादेश ल्याएपछि २०७७ वैशाख १० मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जसपा गठन भएको थियो । पछि ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई समूहबीच मतान्तर देखियो । अन्ततः गत भदौमा पहिलोपटक जसपा विभाजन भयो । ठाकुर-महतो पक्षले लोसपा गठन गरेका थिए ।

नागरिकतासम्बन्धी विधेयक ‘फाष्ट ट्र्याक’मा पारित गर्नुपर्छ : यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद्मा पेश गरेको नागरिकतासम्बन्धी विधेयकलाई ‘फास्ट ट्र्याक’मा पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँले फाष्ट ट्र्याकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पार्नुभयो । ‘यही संसद्बाट पारित गर्ने गरी पुराना विधेयकलाई फिर्ता लिइएको छ । नयाँ प्रवेश भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ विधेयकमा खासगरी कुनै पनि प्रकारका नागरिकता लिएका या नेपाली नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछ । या वंशजको नागरिक हुनेछ भन्ने आशयको साथ अहिले जुन विधेयक गएको छ, यसलाई यही सदनबाट फाष्ट ट्र्याकमा गएर भए पनि पारित गर्नुपर्छ । गठबन्धनमा समझदारी भइसकेको छ । चाँडै पास हुन्छ भन्ने हामी आशामा छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?