मेरो अतीत मेरो अनुभव : नुवाकोटपछि ललितपुर

Read Time = 13 mins

✍️ रमेशप्रसाद गौतम

म ललितपुर जिल्लामा जिल्ला शिक्षा अधिकारीको रूपमा सरुवा भएर आएँ । ललितपुर जिल्लामा जनआन्दोलन २०४६ को हृयाङओभर बाँकी नै थियो । मैले जिल्लामा प्रवेश गरेदेखि शैक्षिक आन्दोलनको छिटपुट घटनाहरू भई नै रहेका थिए । म असन्तुष्टि भएका ठाउँमा पुगी सम्झाई बुझाई पठनपाठन सुचारु गराउँदै आएँ ।

ललितपुरमा अन्तर्राष्ट्रिय बाल दिवस कार्यक्रमका उपलक्ष्यमा बाल अधिकारसम्बन्धी सभागोष्ठीको प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । उक्त कार्यक्रममा बाल अधिकार बारे मैले पनि बोल्ने कार्यक्रम आयोजकले राखेका थिए । कार्यक्रमको अन्त्यमा भट्टराईजीले तपाईं यस जिल्लामै हुनुहुँदो रहेछ मलाई भेट्नु पर्दैन भन्नुभयो । केही दिनपछि प्रधानमन्त्री भट्टराईजीको कार्यालयमा भेट्न गएँ । उहाँले पुग्ना साथ अब तपाईं सिडिओ बन्नुहोस् भन्नुभयो । मैले भने म हेडमास्टरबाट करारमा जिशिअमा आएको हुँ । साधारण निजामती सेवामा नल्याई सिडिओ बन्न मिल्दैन भनेँ ।

उत्तरमा प्रधानमन्त्रीले भन्नुभयो पञ्चायती कार्यकालमा तपाईंका महाराजाधिराजको अधिकारभन्दा पनि बढी अधिकार मसँग छ केही फरक पर्दैन तपाईं सिडिओ बन्नुपर्छ भन्नुभयो । आफ्नो सिभी मेरो सचिवलाई दिनुहोस् भन्नुभयो । त्यसपछि म घरतर्फ फर्किएँ । मेरा महिला जेठान योगेन्द्रपुरुष ढकालले करार सेवामै सिडिओमा जानु हुँदैन भन्नुभयो । साधारण निजामती सेवातर्फ नलगुञ्जेल सिडिओमा नजान सल्लाहा दिनुभयो । म ललितपुर जिल्लामा शिक्षाअधिकारी भएरै बसे । प्रधानमन्त्री भट्टराईजीले रातो बंगला स्कुल स्वीकृतिका लागि कुरा उठाउनु भयो । स्वीकृत दिन मिल्ने भए त्यसतर्फ कारबाही गरिदिन निर्देशन दिनुभयो ।

पछि रामहरि शिक्षामन्त्रीले विशेष जोड गर्नुभयो मैले पनि देखेँ राम्रो लागेको छ । तपाईंले पनि हेरीबुझी त्यस स्कुललाई स्वीकृत दिनेतर्फ कारबाही गरिदिनुहोस् भन्नुभयो । भट्टराईजीले सेफर्ड इन्टरनेसनल स्कुल ललितपुरलाई पनि बुझेर उचित देखिएमा स्वीकृत दिनु होला भन्नुभयो । यसरी बहुत नम्रतापूर्वक सुझबुझ पुर्‍याएरमात्र उहाँ काम अह्राउनु हुन्थ्यो । त्यस किसिमको सरलता नम्रता अहिलेका सत्तासीनमा पाइँदैन भन्ने गुनासो आउँछ । अहिले स्थानीय सत्ताधारीदेखि केन्द्रसम्मै दम्ब र अहंकार छ भन्ने गुनासो छ । हरेक कुरामा आर्थिक लेनदेनको खेल भागबण्डा गठबन्धनबाहेक केही पाइँदैन भन्ने गुनासो प्रसस्त सुन्न पाइन्छ ।

२०४८ सालको प्रजातन्त्र पुनः स्थापनापश्चातको पहिलो आमनिर्वाचनमा मलाई पनि निर्वाचन आयोगले काजमा बोलाई निर्वाचन-२ नं. क्षेत्रको निरीक्षण गर्ने जिम्मेवारी दियो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार मार्शलजुलुम शाक्य र एमालेका सिद्धिलाल अमात्यलगायत उम्मेदवार भएको क्षेत्रमा रेखदेख गर्न जिम्मेवारी दिइएको थियो । सिडिओले मेरो मातहतमा शान्ति सुरक्षाका लागि आवश्यक प्रहरी बटालियन खटाएको थियो । निर्वाचन शान्तपूर्वक सञ्चालन भयो । मत गणना सुरु हुँदै गर्दा एमालेका उम्मेदवार अगाडि बढ्दै गए ।

नेपाली कांग्रेसका उम्मेदवार पछि पर्दै हार्ने अवस्थामा पुग्न लाग्दा नलाग्दैको बीचमा मेरा गुरु प्रा.आशाराम शाक्य केही साथीहरू सहित सिडिओका च्याम्बरमा पुगी सिडिओले धाँधली गर्‍यो कांग्रेसलाई हराउन लागिपर्‍यो भनी रिसाउनु हुँदै गर्दा सिडिओले मलाई बोलाएर त्यो क्षेत्रको निर्वाचनमा पूर्णजिम्मेवारी जिशिअ रमेश गौतमजीलाई नै दिइएको हो । के कसरी धाँधली भयो यो विषय उनैसँग सोध्दा हुन्छ भनेपछि आशाराम सरले मलाई सोध्नुभयो । मैले त्यहाँ भएका सबै कुरा बताएँ ।

त्यसपछि धाँधली नभएको कुरामा विश्वास गर्दै त्यस क्षेत्रमा मलाई खटाएकोमा तत्कालै सिडिओलाई धन्यवाद दिएर जानुभयो । सिडिओ साबले भन्नुभयो । रमेशजी मैले बुझेर नै तपाईंलाई त्यस क्षेत्रको जिम्मा दिएको हो भन्नुभयो । मार्शलजुलुम शाक्य र मलाई आफ्नो कोठामा राखेर बिए पढ्दा ट्युसन पढाउनु भएको थियो मैले ट्युसनबापतको पैसा दिँदा लिनुभएन । हामीलाई आशाराम सर अत्यन्तै माया गर्नु हुन्थ्यो । मैले गल्ति गर्दिनँ भन्ने उहाँलाई विश्वास थियो ।

ललितपुरमा काम गर्दा गर्दै अचानक अत्यन्त जरुरी गोप्यपत्र लिएर शिक्षा मन्त्रालयका एकजना कर्मचारी आए । उनले शिक्षा अधिकारकै हातमा बुझाउनु भनेकाले सर आफैँले बुझिदिन आग्रह गर्दछु भने मैले पत्र बुझेर खोल्छु त २४ घण्टाभित्र बुझबुझारत गरी पद्योदय माविको प्रअपदमा अविलम्ब हाजिर हुन जानु भनी निर्देशन पाएँ । भोलिपल्टै बुझबुझारत गरी शिक्षा कार्यालयबाट विदावादी भएँ । सबै कर्मचारी सहयोगी साथीलाई धन्यवाद दिँदै हिडेँ । यति चाँडो यसरी पत्र आउने अनुमान गरेको थिइन । किनभने केही दिनअगाडि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जिशिअभन्दा राम्रो पद दिन्छु तपाईंको काम राम्रो छ भन्नुभएको थियो ।

भोलिपल्ट म पद्योदय माविमा जाने सोच बनाएर बसेको थिएँ । राति ९ बजेतिर तत्कालीन शिक्षामन्त्री गोविन्दराज जोशीको फोन आयो र उहाँले भन्नुभयो, ‘रमेशजी तपाईं विद्यालयमा जानु पर्दैन मन्त्रालयमा आएर बस्नुहोस् । तपाईं १३ वर्षभन्दा बढी जिल्ला शिक्षा अधिकारी पद सम्हालेर इमानदारीपूर्वक काम गर्दैैै आउनुभएको रेकर्डमा स्पष्ट छ । त्यसैले म अन्यत्र राम्रो ठाउँमा मिलाउँछु भन्नुभयो ।’ मैले जवाफमा भने मलाई २४ घण्टाभित्र विद्यालयमा हाजिर हुन जानु भन्ने पत्र लेख्ने अनि हाजिर हुन नजा भनेको कुरै बुझिन मन्त्रीजी भने । मन्त्रीजीले भन्नुभयो विद्यालयमा विरोध हुन सक्छ, तपाईंलाई शिक्षा अधिकारीबाट फर्काउने हाम्रो मनसाय होइन तर समूहमा पत्र पठाउँदा तपाईंको नाममा पनि पत्र गएको हो भन्नुभयो ।

मैले मानिन म पद्योदय माविमा गएँ । सबै साथीहरूसँग छलफल गरेँ । विद्यालय सुधार्न सबैको सहयोग र एकता चाहिन्छ । तपाईंहरू म नआए राम्रो हुन्छ भन्नुहुन्छ भने यहाँ बस्दिन, मेरो पेन्सन पाकिसकेको छ अरूको मन दुखाएर बस्दिन भने । त्यसपछि साथीहरूले सर आएर हामी खुसी छौँ तर सरकारले फेरि कुनै पद दियो भने छोडेर जान पाउनु हुन्न यो कुरा सर स्वीकार्नु हुन्छ भने हामी सरलाई स्वागत गर्दछौँ भनी सर्वसम्मत राय आयो । मैले विद्यालय छाड्दिन भने सबै साथीहरू खुसी हुनुभयो । झण्डै १९ वर्ष प्रअ भएर म पद्योदयमा बसे ।

यही विद्यालय छाडेर अन्यत्र नजाने बाचाले गर्दा मलाई राम्रा जिम्मेवारी पद दिँदा पनि विद्यालय छाडिन । प्रसङ्ग २०५०/०५१ सालतिरको हुनुपर्छ माननीय मन्त्री गोविन्दराज जोशीले शिक्षा सचिव डा. ईश्वरप्रसाद उपाध्यायमार्फत भेट गर्न खबर पठाउनुभयो । शिक्षा सचिवज्यूले पहिले आफ्नो सानेपाको घरमा बिहान ७ बजेतिर बोलाउनु भयो र मलाई भन्नुभयो शिक्षामन्त्रीले तपाईंलाई बोलाउन लगाउनु भएको हो । उहाँलाई भेटेर के कुरा हुन्छ त्यसपछि म कहाँ आउनुहोस् भन्नुभयो । म शिक्षामन्त्रीकोमा गएँ । उहाँले सदभावपूर्ण व्यवहार देखाउँदै आफ्नो माथिको कोठामा छुट्टै राखेर कुरा गर्न थाल्नुभयो । रमेशजी, तपाईंलाई विद्यालय फर्काउने हाम्रो मनसाय थिएन ।

त्यतिखेरै मैले मन्त्रालयमा बस्न आग्रह गरेको थिएँ । अब अहिले सिटिइभिटीको उपाध्यक्षमा डा.माधव मैनालीजीले छाड्नु भएको छ । त्यो उपाध्यक्ष पदलाई सेवा सुविधालगायत इज्जतको पद भरखरै बनेको नयाँ ऐनले बनाएको छ । सो पदमा तपाईंलाई नियुक्ति दिने हाम्रो विचार भएकाले मैले सचिवमार्फत तपाईंलाई जतिसक्दो चाँडो भेट्नु भनेको थिएँ । मन्त्रीजीले ममाथि देखाउनु भएको सदभाव र यत्रो जिम्मेवारीको पद समाल्न दिन खोज्नु भएकोमा धन्यवाद । यो पद खाने नखाने भोलि जवाफ दिन्छु भनेर म हिँडेँ ।

त्यसपछि सिधै शिक्षा सचिवको घरमा आएँ । सबै कुरा बताएँ । मैले पद्योदयमा पहिलो बैठकमै कुनै ठूलो पद पाए पनि विद्यालय छाडेर जानेछैन भनी बाचा गरेको छु पनि भनेँ । त्यसपछि सचिवज्यूले तपाईंले यहाँ आफ्नो इमानदारीपूर्वक काम गरेको छविसमेत बसाइसक्नु भएको छ । यो राजनीतिक नियुक्ति छोटो अवधिको र तपाईंलाई कुनै बेला नियमले नमिल्ने काम पनि गरिदिनु भनेमा तपाई गर्नुहुन्न त्यो मैले शिक्षा मन्त्रालय छँदा तपाईंले जिल्ला जिल्लामा गरेको कामले देखाउँछ । यही तपाईंको इमानदारीतालाई कदर गर्दै निरक्षण टोलीले पनि अधिराज्यका २३ कर्मचारीलाई गरेको इमानदारी स्वरूपको सम्मान कदर गरेको थियो ।

पद्योदय मावि नेपाल साइन्स क्याम्पस आफैँ नेतृत्वमा चलाइराख्नु भएको छ भने काठमाडौँ शिक्षा क्याम्पस बेलुका र काठमाडाँै बहुमुखी क्याम्पस कुलेश्वरमा समेत पढाउनु हुन्छ । सर्वत्र तपाईंका बारेमा प्रशंसा नै सुनेको छु । यो राजनीतिक नियुक्तिको पद म त्यति ठूलो ठान्दिन भन्नुभयो । मैले पनि विद्यालय नछाड्ने वाचालाई कदर गर्दै उक्त पद खान्न भने । क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?