पुस्तक : दाहालको निबन्धसंग्रह : ‘आजलाई यति नै’

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ सुशीला घिमिरे

प्रकाशमणि दाहाल चिनिएकै स्रष्टा हुनुहुन्छ । त्यसैले उहाँलाई चिनाइरहनु पर्दैन । साहित्यका विभिन्न विधामा कलम चलाउने दाहालको यो २३औं कृति हो । यसबाट पनि उहाँको स्रष्टा व्यक्तित्वको मापन गर्न सकिन्छ । नेपालीका साथै अंग्रेजी भाषामा समेत उहाँको दख्खल छ । त्यसैले उहाँका केही पुस्तकहरू अंग्रेजी भाषामा पनि प्रकाशित भएका छन् । भुँडीपुराण प्रकाशन बागबजार काठमाडौंबाट प्रकाशित यो पुस्तक डिएमआई साइजमा छ । सेतो तौलयुक्त कागज प्रयोग भएको यस पुस्तकमा २६+३७४ गरी जम्मा ४०० पृष्ठ छन् । यसको मूल्य ५०० रूपैयाँ रहेको छ ।

पहिलो संस्करणका रूपमा हालै वा २०७९ सालमा यो पुस्तक प्रकाशित भएको छ । यसको लेआउट प्रकाशन संस्था भुँडीपुराण प्रकाशनको डेस्कबाटै भएको जनाइएको छ । आवराण आकर्षक छ । तलमाथि नीलो रङको पृष्ठभूमिमा बीचको केही भागमा बक्रस्थान छोडेर गाढा नीलो स्थान संरक्षित गरिएको छ र यही भागमा ठूला अक्षरमा पुस्तकको नाम ‘आजलाई यति नै’ भनिएको छ । सेता अक्षरमा यति भनिसकेपछि त्यहीँ साना सेता अक्षरमा निबन्ध संग्रह भनेर यस पुस्तकको विधा पनि खुलाइएको छ । तल नीलो भागमा कृतिकारको नाम सेता साना अक्षरमा दिइएको छ ।

पृष्ठ आवरणमा निबन्धकार दहालको फोटोसहितको परिचय दिइएको छ । जसबाट उहाँ २००२ साल भदौमा इलाम १० गोदकमा जन्मिनु भएको भन्ने थाहा हुन्छ । यसका साथै अध्यापन पेशामा संलग्न भई हाल सेवा निवृत्त जीवन बिताइरहनुभएका उहाँले स्नातकोत्तर पूरा गर्नु भएको जानकारी पनि यही पृष्ठबाट पाउन सकिन्छ । यहाँ उहाँले लेख्नुभएका पुस्तकहरूको सूची पनि दिएको छ ।

दुई दर्जन जति कृति सिर्जना गरिसक्नु भएका दहालका बालसाहित्य, कथा, निबन्ध, खण्डकाव्य, नियात्रा, समालोचना, उपन्यास, गजलसंग्रह, साहित्य सिद्धान्त, गद्या तथा पद्य कवितासंग्रह पौराणिक कथा तथा अनुवादहरू रहेका पाइन्छन् । यसरी बहुविधामा स्रष्टा दहालको सिद्धहस्तता पाइन्छ । पृष्ठ आवराणको तल प्रकाशक संस्था भुँडीपुराणको लोगोसहित नाम उल्लेख भएको छ । सँगै पुस्तकको मूल्य र बारकोड दिइएको छ । भूमिका खण्डमा प्रा.गोपीकृष्ण शर्माको ‘आजलाई यति नै : भोलिलाई प्रकाश आमन्त्रण’ शीर्षकको लामो भूमिका रहेको छ । त्यसपछि निबन्धकार दहालको ‘आफ्ना कुरा’ रहेको छ र त्यसपछि विषयसूची दिइएको छ ।

यस पुस्तकमा विभिन्न ५२ वटा निबन्ध छन् । केही निबन्धलाई छोडेर अधिकांश निबन्ध आत्मापरक शैलीमा लेखिएका छन् । निबन्धका शीर्षक छोटा एक शब्दकादेखि सात–आठ शब्दसम्मका निकै लामा पनि छन् । ‘बुख्याचा’ जस्ता केही शीर्षकका निबन्ध वस्तुपरक भए तापनि अन्य प्रायः सबै निबन्ध आत्मापरक नै हुन् । यसकारण निबन्धकार दहाल लक्ष्मीप्रसाद देवकोटाकै जसरी आत्मपरक निबन्ध लेख्न रुचाउने निबन्धकार हुनुहुन्छ भनेर उहाँका यस पुस्तकभित्र समेटिएका निबन्धलाई हेरेर भन्न सकिन्छ ।

यस संग्रहका निबन्धहरू चार पृष्ठदेखि १६ पृष्ठसम्मका छन् तर लामा निबन्धहरूको संख्या कम छ । छोटा-छोटा निबन्धहरू पढ्न लामो समय लाग्दैन । उहाँका निबन्धहरू पाठकलाई आकर्षित गर्ने खालका छन् जसले गर्दा पाठकलाई आकर्षित गर्न यी निबन्धहरू सफल छन् । यो निबन्धकार दहालको सफलता हो ।

यहाँ समावेश भएका निबन्धहरूलाई हेर्दा उहाँले यस पुस्तकमा विविध विषयलाई समेट्नु भएको देखिन्छ । बिग्रँदै गएको मानवीय प्रवृत्ति, समसामयिक राजनीति, कूटनीति, कला साहित्य, माया प्रेम, सामाजिक रूढीवाद तथा अन्धपरम्परा, व्यक्ति प्रशंसा, भाषा संस्कृति जस्ता कुराहरू निबन्धकारको लेखनको विषय बनेर आएका छन् । यसका साथै स्थान चर्चा, ज्ञान वा विद्याको अपरिहार्यताको चर्चा, पैसाको चर्चा, शासन प्रशासन, मानवका सुन्दर पक्षको विवेचनालगायत निबन्ध यस पुस्तकमा समेटिएका छन् ।

निबन्धकार प्रकाशमणि दहाल यहाँका निबन्धहरूमा बढी नै बौद्धिक देखापर्नु भएको छ । उहाँमा दार्शनिक चेतना छ र त्यो चेतना उहाँका यस संग्रहका निबन्धमा पोखिएको पाइन्छ । साहित्यका सबै विधामा उत्तिकै प्रभावपूर्ण रूपमा पोखिन सक्ने स्रष्टा दहाललाई यस निबन्धसंग्रहका लागि बधाई तथा कृतिको सफलताको कामना । यसका साथै उहाँलाई यस्तै अन्य कृतिहरूका लागि समेत हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?