रौतहटको वागमतीमा बेपत्ता भएकाको शव फेला, असारमा मात्रै तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

रौतहट । धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान आएका एक जनाको वागमती नदीमा डुबेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित वागमती नदीमा डुबेर बेपत्ता पारस यादवको मृत्यु भएको हो ।

गत शुक्रबार धनुषा जिल्ला क्षिरेश्वर-५ बाट परिवारसहित पिकनिक खान आएका यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएको र खोजबिन गर्दा उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको थियो ।

बुबाआमासहित पिकनिक खान आएका यादव अन्य दुईजनासहित पौडी खेल्न साँझ साढे पाँच बजेतिर वागमती नदीमा पुगेका थिए, तीनजना मध्ये महाराजा जैसवार र अमर यादव नदीबाट पौडिएर बाहिर निस्के पनि यादव भने बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार बाग्मती ब्यारेजमा मृत भेटिएका यादवको शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको छ ।

यसअघि पनि दुई भारतीय नागरिक वागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत, बिहार सीतामढी जिल्लाका मयंककुमार जयसवाल र गोलुकुमार भन्ने रितेश साह वागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

केही दिनपछि उनीहरुको शव घटनास्थलभन्दा करिब १५ किलोमिटर दक्षिणतर्फ फेला परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?