प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाको तयारीमा खजुरा गाउँपालिका

हिमालय टाइम्स
Read Time = 5 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । खजुरा गाउँपालिकामा प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापना हुने भएको छ । गाउँपालिकामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरिने भएको हो । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले साउन महिनाभित्रै विश्वविद्यालयको कार्यालय सञ्चालन गरिने बताउनुभयो । क्षेत्रीको एक टोलीले विश्वविद्यालय स्थापनाका लागि जग्गाको अवस्था एवं कार्यालय व्यवस्थापनका लागि स्थलगत निरीक्षण गरेको थियो । स्थलगत निरीक्षणपछि उहाँले खजुरामा पनि प्राविधिक विश्वविद्यालयको कार्यालय छिट्टै खुल्ने बताउनुभएको हो ।

उक्त निरीक्षण टोलीमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विक, उपाध्यक्ष मञ्जु मल्ल उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष विकले स्थलगत निरीक्षणका क्रममा विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने भनिएको खजुरा गाउँपालिका–८ रनियाँपुर दाहवा, नयाँ बस्ती र चमकदारपुरको जमिन स्थलगत निरीक्षण गरिएको बताउनुभयो । विकले खजुरामा विश्वविद्यालयका लागि करिब एक सय बिघा जमिन उपलब्ध गराउन सकिने बताउनुभयो ।

उक्त जग्गा प्राप्तिमा कुनै समस्या नहुने भनेर उपाध्यक्षलाई जानकारी गराइएको विकको भनाइ छ । अब जग्गा प्राप्ति समितिको बैठक बसेर जग्गा प्राप्तिका लागि सिफारिस गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । योजना आयोगका उपाध्यक्ष क्षेत्रीले खजुरा गाउँपालिकाले विश्वविद्यालयका लागि जग्गा दिन्छु भनेर आश्वासन दिँदै आएकोमा कस्तो अवस्था छ भनेर आफूले निरीक्षण गरेको बताउनुभयो । नयाँ बस्तीमा रहेको २१ बिघा उच्च ठाउँमा रहेकाले उपयुक्त लागेको र अर्को गुलरिया रोड छेउमै रहेको ५१ बिघा जग्गा पनि ठिकै देखिएको उहाँको भनाइ छ । यसका साथै थप ८५ बिघा जमिन भने मिहिनेत गरेर बनाउनुपर्ने देखिए पनि तीनवटै ठाउँको जग्गा विश्वविद्यालय मातहत राखिने उहाँले बताउनुभयो । उहाँका अनुसार अब छिट्टै विश्वविद्यालय खजुरामै घोषणा गरेर आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण गर्दै जाने उहाँको भनाइ छ ।

कार्यालयका लागि रजिष्ट्रार, भाइस चान्सलर र कोअर्डिनेटर सहितका पदाधिकारीहरू नियुक्त गरिने क्षेत्रीको भनाइ छ । कार्यालय सञ्चालन गर्न जनक शिक्षा सामग्रीको भवन उपयुक्त देखिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । तत्कालीन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले खजुरामा स्थलगत अवलोकन गरेर मन्त्रिपरिषद्बाट विश्वविद्यालय स्थापनाको निर्णय गराउनुभएको थियो । त्यसपछि लुम्बिनी प्रदेश सरकारले खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश गरेर बजेट विनियोजन गरेको थियो । लुम्बिनी प्रदेश सरकारले खजुरामा स्थापना गर्ने प्राविधिक विश्वविद्यालयका लागि पहिलो वर्ष पाँच करोड र दोस्रो वर्ष सात करोड तेस्रो वर्षमा १० करोड बजेट छुट्याएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?