सुकुमबासी समस्या समाधान मेरो पहिलो प्राथमिकता : नगरप्रमुख खड्का

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 14 mins

-विवेक खड्का

दाङ । लामो समय कम्युनिस्ट आन्दोलनमा निरन्तर लाग्दै आउनुभएका सादगी एवं स्वयं सुकुमबासी नेता टीकाराम खड्काले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीलाई हराएर तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उहाँमात्र विजयी हुनुभएन उपमहानगरपालिकाको कार्यपालिका पनि एमालेकै बहुमतमा पुगेको छ ।

यसअघिको कार्यकालमा कम्तीमा पनि ६० करोड रुपैयाँभन्दा बढी दायित्वमा डुबेको तुलसीपुरलाई दायित्वमुक्त बनाउनु र यहाँका नागरिकको अपेक्षाअनुसारको भौतिक विकास एवं मानवीय विकास पनि उहाँका लागि निकै चुनौतीपूर्ण छ । यी यावत् चुनौती हुँदाहुँदै पनि नवनिर्वाचित नगरप्रमुख खड्का निकै हौसिएर उपमहानगरपालिकाको दैनिक गतिविधिलाई कसरी अघि बढाउने भन्ने योजनामा जुटेको देखिन्छ । जिल्ला सुकुमबासी आयोगका अध्यक्षसमेत बन्नुभएका खड्काको भूमिहीनलाई जग्गा उपलब्ध गराउने सपना त्यो बेला पूरा हुन सकेन तर निर्वाचित खड्काले आफ्नो पहिलो आवश्यकता भने भूमिहीन सुकुमबासीको व्यवस्थापन नै भएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्रका विभिन्न समस्या र जनताका अपेक्षामा केन्द्रित रहेर हिमालय टाइम्स दाङ संवाददाता विवेक खड्काले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कासँग गरेको कुराकानीको सारसंक्षेप -

निर्वाचनमा विजयी बनेर नगरप्रमुखको अभिभारा वहन गरिसक्नुभएको छ, के छन् तपाईंका प्रमुख प्राथमिकताहरू ?

सबैभन्दा पहिले त म स्वयं सुकुमबासी नेता भएकाले पनि नगरमा सबैभन्दा पहिले भूमि व्यवस्थापन गरी वास्तविक भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउनु हो । त्यसपछि ऐलानीमा बसोबास गरिरहेकालाई आवश्यकताका आधारमा भूस्वामित्व दिनु तथा ऐलानी जग्गा जोतभोग गरेकालाई पनि आवश्यकताअनुसार प्रचलित नीति नियममा रहेर जग्गाको स्वामित्व उपलब्ध गराएर त्यस्ता जग्गाको कर राज्यले पाउनुपर्ने व्यवस्थापन गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले यसअघि थालेको भूमि व्यवस्थापनसम्बन्धी कामलाई पुनः निरन्तरता दिनका लागि म सबैभन्दा बढी प्रतिबद्ध छु । मैले कार्यभार सम्हालेकै दिन यो कुरा उपमहानगरपालिकामै बोली पनि सकेको छु । अर्को कुरा तुलसीपुर उपमहानगरपालिकाले विकास निर्माणका योजनामा निर्माण व्यवसायीलाई तिर्नुपर्ने दायित्वको निकै चर्चा छ । यसअघिको स्थानीय सरकारले थालेका अधुरा विकास निर्माणका योजनालाई पूरा गर्ने र बाँकी रहेको भुक्तानी निर्माण व्यवसायी वा उपभोक्तालाई दिने मेरो दोस्रो प्राथमिकता हो । त्यसपछि आवश्यकताका आधारमा मुलुकको संविधान र तुलसीपुर उपमहानगरपालिकाका स्थानीय ऐन, नीति नियम र कार्यविधिमा रहेर उपमहानगरपालिकाको समग्र विकासका लागि हामी अघि बढ्नेछौँ । त्यसमा सबै वडाध्यक्ष, वडा सदस्यलगायत आमनगरवासीको सधैँ साथ र सहयोगको पनि अपेक्षा गरेको छु । यसअघि तुलसीपुर उपमहानगरपालिकामा कर निकै बढी भयो भन्ने चर्चा थियो, केही शीर्षकका कर उपमहानगरपालिकाले पनि उठाउन सकेन, फोहोर व्यवस्थापन करदेखि व्यवसायीहरूले राखेका साइनबोर्ड करमा समेत ठूलो विवाद भयो ? यसलाई कसरी व्यवस्थापन गर्ने योजना छ ? राज्यका हरेक नागरिकले सरकारलाई कर तिर्नुपर्दछ तर कर करले होइन, रहरले तिर्नुपर्दछ । कर स्वाभाविक हुनुपर्दछ र करको प्रतिफल नागरिक स्वयंले पाएको अनुभूति हुनुपर्दछ भन्ने मलाई लाग्छ । हो, केही कर दोहोरो भएको हुन सक्दछ, केही कर छिमेकी पालिकाको तुलनामा केही फरक भएको हुन पनि सक्छ र केही कर यस पालिकामा नयाँ शीर्षकका हुन सक्छन् । त्यसमा हामी कार्यपालिकाको बैठकमा गहन छलफल गर्नेछौँ । छिमेकी पालिकाको कर कम्पाइल गर्नेछौँ र स्थानीय सरकारलाई पनि मजबुत र जनतालाई उत्साहित हुने गरी करको दर निर्धारण गर्ने तयारीमा छौँ । करको दर बढाउनुभन्दा पनि दायरा बढाएर हामी तुलसीपुर उपमहानगरपालिकालाई आन्तरिक स्रोतमा समुन्नत बनाउनेछौँ । त्यसका लागि नदीजन्य पदार्थको कर पुनरवलोकनका लागि प्रदेश सरकारलाई आग्रह गर्नेछौँ । अन्य विभिन्न शीर्षकका करका सन्दर्भमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, प्रजातान्त्रिक उद्योगी व्यवसायी, राष्ट्रिय वाणिज्य संगठनलगायत विभिन्न व्यावसायिक संघसंगठनका प्रतिनिधिसँग पनि एकपटक बसेर यो विषयमा छलफल गर्नेछौँ । म तपाईंको पत्रिकामार्फत् आमनगरवासीलाई विश्वस्त बनाउन चाहन्छु कि हामीले जनताको ढाड सेक्ने गरी नागरिकबाट कर असुल्ने छैनौँ ।

स्मार्ट सिटीको नारा जम्दाजम्दै तुलसीपुरवासी हैरान भइसकेका छन् । तपाईं आफ्नो निवास दुधरासदेखि दैनिक तुलसीपुरसम्म आउँदा स्मार्ट सिटी त देखिसक्नुभयो नि ?

हो, मैले देखेको मात्र होइन भोगेको पनि छु । अस्तिको केही क्षणको वर्षातले हात्तीखौवा हिलाम्मे देखेपछि तत्काल ग्राभेल लगेर राख्न तुलसीपुर विकास प्राधिकरणलाई आग्रह गरेलगत्तै केही सुधार भएको देख्नुभयो होला । यद्यपि, यो दीर्घकालीन समाधान भने होइन । हो, स्मार्ट सिटीको अवधारणाबाट हामी व्याक हुने छैनौँ । किनकि अब नागरिक पहिलेको सोचाइमा चल्न सक्दैनन् । नागरिकको चाहना र विकसित शहरहरूको अभ्यासलाई हामीले क्रमशः अनुशरण गर्नेछौँ । अव्यवस्थित बजार छ । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भइसकेको छ । सरसफाइको पूर्ण व्यवस्थापन हुन सकेको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि अझै समस्या छन् । फोहोर व्यवस्थापन तुलसीपुरको उहिल्यैदेखिको चुनौती हो भन्ने मैले स्पष्टरूपमा बुझिसकेको छु । त्यसका लागि फोहोरको वैज्ञानिक र आधुनिक व्यवस्थापन गर्नुपर्छ भनेर केही विज्ञहरूसँग सुझाव लिनेछौँ । केही यो विषयमा काम गरिरहेका कन्सल्टेन्ट कम्पनीसँग पनि चाँडै छलफल गरी फोहोरलाई मोहरमा बदल्नेतर्फ हाम्रो ध्यानाकर्षण हुनेछ । फोहोर व्यवस्थापनका लागि उपमहानगरवासीबाट पैसा लिनेमात्र होइन, अब सम्भव भयो भने हामी नगरवासीबाट स्याप्रेसन गरिएको फोहोर खरिद गर्नेसमेत योजना बनाउनेछौँ । अर्को कुरा अव्यवस्थित सडक व्यापारको पनि छ । स्मार्ट सिटी बन्नका लागि सडकमै सबथोकको व्यापार हुनुहुँदैन । फलफूलका लागि उपयुक्त बजार खोजिनेछ, माछामासुका लागि अर्को स्थान र चल्दै आएको तरकारी बजारलाई थप आधुनिक र व्यवस्थित बनाउन हाम्रो निरन्तर प्रयास रहनेछ ।

तुलसीपुरलाई गन्तव्यस्थल बनाउनका लागि के–कस्ता पूर्वाधारहरूको परिकल्पना गर्नुभएको छ ?

तुलसीपुरमा आन्तरिक एवं बाहृय पर्यटकहरूको गन्तव्यस्थल बनाउन यहाँ सबैभन्दा पहिले चाहिने भनेको स्तरीय विमानस्थल हो । यसका लागि हामीले यसअघि पनि टरिगाउँ विमानस्थल सञ्चालन गर्नका लागि अहोरात्र प्रयास गरेकै हो तर पर्याप्त धावनमार्गसहितको विमानस्थल बन्न नसक्दा यहाँको हवाई सेवा प्रभावकारी बन्न नसकेको हो । अब आगामी आर्थिक वर्षमा यो विमानस्थलको धावनमार्गको स्तरवृद्धिका लागि संघीय सरकारले पनि बजेट विनियोजन गरेको सुनेको छु । प्रस्तावित बजेटलाई कार्यान्वयनमा ल्याउनका लागि हामीले फेरि पनि क्रियाशीलता बढाउनुपर्नेछ । अर्को कुरा स्तरीय होटल निर्माणको पनि हो । तुलसीपुरमा नियमित र स्तरीय हवाई सेवा सञ्चालन हुन थाल्यो भने यो पश्चिम नेपालको एउटा गतिलो हवाई ट्रान्जिट पनि बन्न सक्छ । पाहुना राख्नका लागि तुलसीपुर क्षेत्रमा पर्याप्त स्तरीय होटलहरू छैनन् । स्तरीय होटल सञ्चालनका लागि हामी निजी क्षेत्रलाई आ≈वान गर्नेछौँ । त्यसका लागि स्थानीय सरकारले के–कस्तो सहयोग गर्न सक्छ, हामी तयार पनि छौँ । अर्को कुरा तुलसीपुरलाई गन्तव्यस्थलका रूपमा विकास गर्न अमिलिया–तुलसीपुर–रुकुम सडक र घोराही–तुलसीपुर–पुरन्धारा–सुर्खेत सडकको चाँडै स्तरोन्नति हुनु नितान्त आवश्यक छ । यी दुवै सडकहरू स्तरवृद्धिका क्रममा छन् । अमिलिया–तुलसीपुर–सल्यान सडकलाई त यो वर्ष आकर्षक बजेट पनि परेको छ । त्यसमा हामी पनि गौरवान्वित छौँ । यी दुवै सडकको स्तरवृद्धि तुलसीपुरको समग्र समृद्धिसँग जोडिएको छ । तुलसीपुर सुर्खेत सडकले कर्णालीलाई दाङका साथै राजधानीसम्म जोड्नेछ । यी दुवै राजमार्ग सञ्चालनमा पनि हाम्रो अहोरात्र पहल रहनेछ । यो अवस्थामा यस क्षेत्रका पर्यटकीय क्षेत्र पनि उदाउनेछन् ।

भौतिक विकाससँगै मानव संसाधनमा पनि केही योजना छन् कि ?

हो, हामी मानव विकासमा पनि उत्तिकै गम्भीर छौँ । सुत्केरीको स्वास्थ्यमा होस् वा बालबालिकाको स्वास्थ्य र ज्येष्ठ नागरिकको स्वास्थ्योपचारलाई निःशुल्क बनाउन हाम्रो आवश्यक पहल रहनेछ । सामुदायिक शिक्षालाई पूर्णरूपमा निःशुल्क बनाउन हामी सम्बन्धित विद्यालयसँग छलफल गर्नेछौँ । जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने अवधारणालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन तथा विपन्न समुदायलाई पानी तथा विद्युत्को महसुल अधिकतम् छुट दिनेतर्फ हाम्रो गम्भीर ध्यान जानेछ । यसैगरी सीमान्तकृत समुदायको उत्थानमा पनि तुलसीपुरलाई नमुनाका रूपमा स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?