अब दुर्गम रहेन निसी

हिमालय टाइम्स
Read Time = 7 mins

-डम्मर बुढा मगर

बागलुङ मध्यपहाडी लोकमार्गले जोडिएपछि निसीखोलावासीको जीवनमा परिवर्तन आएको छ । जिल्लाको सुदूरपश्चिममा पर्ने यो क्षेत्र लोकमार्गले बीच भागबाटै चिरेर रुकुमसँग जोडिएपछि विकासका ढोकाहरू खुलेका छन् । यातायातको पहुँचसँगै स्थानीयले अन्य सेवा पनि सहजरूपमा लिन थालेका छन् । सडकले नजोडिँदा निसी–बागलुङ बजार आउनजान ६ दिन लाग्ने गथ्र्यो । सञ्चारको पहुँचसमेत पुगेको थिएन । सरकारी निकायका कर्मचारी दुर्गम भत्ता खाने गर्थे । बसाइँसराइ गरेर जानेक्रम बढ्दो थियो । तर, यातायातको पहुँच पुगेपछि स्थानीय घर नजिकैबाट सेवासुविधा उपभोग गर्न पाएको बताउँछन् ।

लोकमार्गले जोडिएपछि यातायातमा सहजता भएसँगै सामान ढुवानीमा समेत सजिलो भएको स्थानीय मनबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले खाद्यान्नलगायतका सामान ढुवानी गर्न घोडाखच्चडको प्र्रयोग गर्नुपर्ने बाध्यता हटेको भन्दै अहिले गाडीमार्फत् ढुवानी गर्न थालेको घर्तीले बताउनुभयो । ‘सडक नआउँदा हामीले दिनभर लगाएर बुर्तिबाङबाट सामान ढुवानी गर्नुपथ्र्यो, अहिले त्यो समस्या हटेको छ,’ घर्ती मगरले भन्नुभयो, ‘सडकले गाउँले सबैको जीवन परिवर्तन गरिदिएको छ, बुढापाकाहरू पनि निकै खुसी हुनुभएको छ ।’

आफ्ना पुर्खाहरूले तम्घास, बुटवल, पाल्पालगायतका ठाउँहरूबाट सामान बोकेर उपभोग गरेको सुनाउँदै आफूहरूले त्यो समस्या भोग्नुनपरेको घर्ती बताउनुहुन्छ । उहाँले अब घोडाखच्चड र मान्छेले नै बोकेर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । ‘हाम्रा बाउबाजेहरूले धेरै दुःख संघर्ष गर्नुभयो, बुटवल, तम्घासबाट नुनचामल बोकेर उपभोग गर्नुभयो, अब हामीलाई त्यो समस्या भोग्नुपर्ने अवस्था रहेन, सडक नआउँदासम्म त हामीहरूले पनि बुर्तिबाङसम्म पुगेर सामान ल्याउने गथ्र्यौँ,’ घर्तीले भन्नुभयो- ‘आठ/दश वर्ष भयो त्यसरी बोकेरै सामान ढुवानी गरिएको छैन, सबै गाडीमार्फत् ढुवानी हुन्छ ।’

निसीखोलाका अधिकांश क्षेत्रमा विशेष गरी जडीबुटी, भाँगो र भेडाबाख्राहरू बढीमात्रामा उत्पादन हुने गर्छ । सडकले जोडिएपछि यहाँ उत्पादित वस्तुहरू बजारसम्म पुर्याउन थप सहजता भएको स्थानीय बलिभद्र बुढा मगरले बताउनुभयो । सडकसँग ग्रामीण क्षेत्र नजोडिँदा गाउँमा उत्पादन हुने सामग्रीहरू खेर गएको भन्दै अब गाउँमा उत्पादन भएका सामग्रीहरूले सहजरूपमा बजार पाउन थालेको बुढा मगरले जानकारी दिनुभयो ।

निसीखोलाका वडा नम्बर ५ र ६ छुट्टै भेषभूषा, कला संस्कृति र रीतिरिवाजको उद्गमस्थल भएको भन्दै प्रचारप्रसारमा समेत सहज भएको उहाँको भनाइ छ । सडकले नजोडिएको अवस्थामा गाउँका कला संस्कृतिहरू स्थानीयस्तरमा मात्रै सीमित भएको भन्दै अहिले जताततै प्रचार हुन थालेको बताउनुभयो । सडकले जोडिएपछि सडकछेउछाउमा बस्ती बढ्न थालेको भन्दै जग्गाजमिनको मूल्यसमेत आकासिँदै गएको उहाँको भनाइ छ । सडक नआउँदा प्रतिआनाको १० हजार पर्ने जग्गाको अहिले पाँच लाख रुपैयाँमा कारोबार गरेको स्थानीय मगरले बताउनुभयो ।

‘गाउँमा सडक नआउँदा बाँझै रहेका जग्गाहरू अहिले घडेरीमा परिणत भएका छन्, पहिला २०/२५ हजारमा बिक्री नभएका जमिन अहिले लाखौँ पर्न थाले,’ उहाँले भन्नुभयो, ‘गाउँमा सडक आउला भनेर सोचेका थिएनौँ, सडक आएपछि त निकै विकास भएको छ, गाउँमा भएका जग्गाहरू उतिबेला सित्तैमा बेचियो र तराईमा घडरी किनियो अहिले गाउँमा सडक आएपछि तराईमा जग्गा किनेर पछुताउनुपरेको छ ।’

निसीखोला गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हर्कमान घर्ती मगरले सडकले निसीवासीको जीवन नै परिवर्तन गरेको बताउनुभयो । लोकमार्गले गाउँ नजोडिएको अवस्थामा यहाँका स्थानीयहरूले निकै समस्या भोग्नुपरेको भन्दै अहिले विकासको अनुभूति गर्न पाएको उहाँ बताउनुहुन्छ । ‘यस ठाउँमा कममात्रामा खाद्यान्न उत्पादन हुन्छ, त्यसले गर्दा सबै सामान बजारबाट ल्याउनुपर्ने हुन्छ, बजारबाट ल्याउँदा निकै समस्या थियो,’ उहाँले भन्नुभयो, ‘गाडी चल्न थालेपछि यहाँका नागरिकका धेरै समस्या समाधान भएका छन् ।’

सडक आएसँगै स्वास्थ्य, शिक्षा, खानेपानीलगायत विकासका पूर्वाधारहरूले समेत फड्को मारेको अध्यक्ष घर्ती बताउनुहुन्छ । गाउँमा उत्पादन हुने आलु, भाँगो, सिमीलगायतका सामग्रीहरू बजार पुर्याउनसमेत सहज भएको उहाँको भनाइ छ ।

अध्यक्ष घर्तीले सडकले गर्दा रहनसहन र बानीव्यवहारसमेत सुधार हुँदै गएको बताउनुभयो । ‘अब पहिलेको जस्तो छैन निसी भल्कोट निकै परिवर्तन भएको छ, यहाँका नागरिकको जीवनसँगै आनीबानी र अन्य पक्षमा समेत विकास भएको छ,’ अध्यक्ष घर्तीले भन्नुभयो, ‘पहिला पिछडिएको ठाउँ भएको हुँदा एकैचोटि हृवात्तै विकास हुन नसकेको हो, अब एक किसिमको खाका तयार भएको छ, विकासले खड्को मार्न धेरै समय लाग्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?