दुर्गमबाट गीतसंगीतमा चम्किनुभएका पदम

Read Time = 8 mins

लेखनाथ पोखरेल/हिटा
काठमाडौं । नेपाल भौगोलिक विविधासँगै सांस्कृतिक विविधतायुक्त मुलुक हो । देशको मौलिक कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा संगीतकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यतिमात्र नभई राजनीतिक र सामाजिक जागरणमा समेत गीतसंगीतलाई नै अघि सार्ने गरिएको छ । पश्चिम नेपाल अझै संगीतको उद्गमस्थल मानिन्छ । अभाव र गरिबीबीच पनि कर्णालीले आफ्नो कला, संस्कृतिलाई मर्न दिएको छैन, सांगीतिक स्रष्टाहरूलाई निराश हुन दिएको छैन ।

कर्णालीले अभाव, गरिबी र विभेदलाई गीतसंगीतका माध्यमले पनि उजागर गर्दै आएकोे छ । गायक तथा संगीतकार शिशिर योगीको ‘कर्णाली पारी, छैन खेतबारी, रुखो छ टारी’ होस् वा गायक, संगीतकार, गीतकार पदम रोकायाको ‘कर्णालीको दुर्दशा ।’ दुवै गीत कर्णाली र कर्णालीवासीका पीडा र वेदनाले भरिएका छन् । जुन गीत उत्तिकै कर्णप्रिय र लोकप्रिय पनि छन् । अन्य स्रष्टाहरूले पनि गीत, संगीत र कवितामार्फत् कर्णालीको वह पोख्दै आएका छन् ।

त्यसो त कर्णालीले जति कराए, चिच्याए पनि काठमाडौंले सुन्दैन भन्ने आरोप छ । काठमाडौंले सुनिदिएको भए सांस्कृतिक, पर्यटन र प्राकृतिक स्रोतमा नेपालकै धनी भएर पनि कर्णालीले अहिलेसम्म गरिबीको पहिचान बनाउनुपर्ने थिएन । कर्णाली हरेक सिर्जनाको वेदनायुक्त पात्र बन्नुपर्ने थिएन । दुःखको कुरा, पटक-पटक राजनीतिक परिवर्तन भए पनि काठमाडौंले कर्णालीलाई हेर्ने, गर्ने व्यवहारमा भने कुनै परिवर्तन हुन नसकेको कर्णालीवासीले गुनासो गर्दै आएका छन् । विकास निर्माण क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि कर्णालीमाथि विभेद कायमै रहेको उनीहरूको गुनासो छ ।

कर्णालीको दुर्गम जिल्लामध्येको एक हो, जुम्ला । वर्षौंदेखिकर्णालीका अन्य जिल्लाका तुलनामा जुम्लाको काठमाडौंमा धेरै चर्चा हुँदै आएको छ । जुम्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धनमा लाग्नुभएका संगीतकर्मी पदम रोकाया पनि कर्णालीले पटक-पटकको राजनीतिक परिवर्तनको महसुस गर्न नसकेको बताउनुहुन्छ । कर्णालीको नाम बेचेर काठमाडौंले कमायो, सीमित व्यक्ति वा समूह माथि पुगे तर कर्णाली थिचिएको थिचियै भयो ।

निरन्तरको संघर्षपछि राष्ट्रिय कलाकारका रूपमा स्थापित भइसक्नुभएका रोकाया कर्णाली विकासमा मात्र नभई कर्णालीको कला, संस्कृति र स्रष्टाहरूसमेत ओझेलमा रहेको बताउनुहुन्छ । झण्डै डेढ दशक लामो सांगीतिक जीवनमा डेढ सयभन्दा बढी गीतमा स्वर र करिब सात सयभन्दा बढी गीतमा शब्द/संगीत दिनुभएका रोकाया आफ्नै शब्द/संगीत र स्वरको गीत ‘जुम्ला कालिकोट’ बजारमा ल्याएपछि चर्चामा आउनुभएको थियो । त्यसबाहेक ‘माया गर्ने जीवन साथी,’ ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, ‘तिम्ले घृणा गरे पनि’, ‘मेरी मायालु’, ‘बस मैना घरमा’, ‘कर्णालीको दुर्दशा’, ‘निष्ठुरी र परि’ लगायत गीत श्रोतामाझ पस्किसक्नुभएको छ । उहाँले आफूमात्र नभई नेपाली गीतसंगीतको विकास, विस्तार र प्रवद्र्धनका लागि नवप्रतिभालाई पनि प्रोत्साहित गर्दै आउनुभएको छ । सोहीक्रममा उहाँ कर्णाली कलाकार समाजको अध्यक्ष हुँदै यहाँसम्म आइपुग्नुभएको हो ।

रोकायाले कर्णालीको कला संस्कृतिको प्रवद्र्धनमार्फत् पर्यटन प्रवद्र्धनमा पनि जोड दिँदै आउनुभएको छ । उहाँले नेतृत्व गर्नुभएको कर्णाली कलाकार समाजको अगुवाइमा सिञ्जा महोत्सव २०६९, कालिकोट महोत्सव २०७१, कर्णाली सांस्कृतिक उत्सव २०७१, दोस्रो कालिकोट महोत्सव २०७३, कर्णाली सांस्कृतिक कार्यक्रम २०७४ र प्रथम सिञ्जा पर्यटन महोत्सव २०७६ भएका थिए ।

राष्ट्रिय पुरस्कार २०७५ द्वारा समेत सम्मानित रोकाया म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल म्युजिक अवार्ड २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, बक्स म्युजिक भिडियो अवार्ड २०१८, कर्णाली सांस्कृतिक सम्मान २०७६, कनकासुन्दरी गाउँपालिका २०७६, रारा साहित्य प्रतिष्ठान स्रष्टा सम्मान २०७६ लगायतबाट पनि सम्मानित भइसक्नुभएको छ । २०६९ सालमा पदम रोकाया एकल साँझसमेत आयोजना भएको थियो । उहाँले विगत लामो समयदेखि काठमाडौंका विभिन्न विद्यालय र संगीत प्रतिष्ठानमा पनि गीतसंगीत सिकाउँदै आउनुभएको छ ।

रोकायाका अनुसार पछिल्लो समय गीत रेकर्डिङ निकै खर्चिलो बन्दै गएकाले नवप्रतिभाका लागि चुनौती बनेको छ । अडियोको जमाना परिवर्तन भएर अडियो–भिडियोले प्रवेश पाएसँगै रेकर्डिङ खर्चिलो बन्न पुगेको हो । विगतमा सामान्यतया ६० देखि ७० हजार रुपैयाँमा एउटा गीतको अडियो तयार हुने गरेकोमा अहिले भिडियोसमेत गर्नुपर्ने भएको डेढ लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने उहाँ बताउनुहुन्छ ।

त्यतिमात्रै नभई पछिल्लो समय नेपाली मौलिक गीतसंगीतमाथि पश्चिमी शैलीका संगीतको हावी हुन थालेकाले गीतको मर्म र भावना मर्दै गएको बताउनुहुन्छ । रोकाया भन्नुहुन्छ, ‘एउटा गीतका लागि मिल्दो स्वर, शब्द, लय र संगीत हुनुपर्छ तर अब गीतका लागि केही नचाहिने अवस्था आएको छ, जसले पनि गाउने, जस्तो पनि गीत हुने, स्वर, शब्द, संगीत, लयको कुनै मापदण्ड छैन ।’

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Khatri Santosh
Khatri Santosh
2022-07-17 12:53 pm

अझै राम्राे काम गरनुहाेला है नि अङकल हजुर आउने समयकाे अगिरिम सुभकामना हुजुरकाे हरेक सपना हरु सबै पूरा हुदैजाउन साथै पत्रकार सर लाईनि धन्बाद साथै हजुरकाे सपाेट सधैरअिरहाेस धन्बाद

रिलेटेड न्युज

छुटाउनुभयो कि ?