घरमै बसीबसी ब्लुबुक नवीकरण गर्न खोज्दा सयौं ठगिए

हिमालय टाइम्स
Read Time = 6 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । फेसबुक चलाउँदै जाँदा, एउटा विज्ञापन देखिन्छ । ‘यदि तपाईं घरमै बसीबसी सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण (रिन्यू) गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।’ जसलाई ब्लुबुक नवीकरण गर्नु छ उसलाई उक्त विज्ञापन देखेपछि पक्कै विस्तृतमा पढ्न र हेर्न मन लाग्छ । घरमै बसीबसी आफ्नो काम हुन्छ भने यातायात कार्यालयसम्म किन पुग्ने ।

काठमाडौं बस्दै आउनु भएका सुजन थापामगरले फेसबुकमा भेटिएको उक्त विज्ञापनमा देखापरेको नम्बरमा फोन गरेर आफ्नो ब्लुबुक नवीकरण गर्नु प¥यो भन्नु हुन्छ । एक व्यक्ति सिधैं घरमै आइपुग्छ र ब्लुबुक र ब्लुबुकमा रहेको मिति अनुसारको नवीकरण शुल्क ९ हजार ५ सय रुपैयाँ लिएर जान्छ । दुई दिनमा ब्लुबुक नवीकरण हुन्छ भनेर उक्त व्यक्ति निस्किन्छ । यता सुमन दुई दिनमा आफ्नो ब्लुबुक नवीकरण भएर आउँछ भनेर खुशी भएर बस्नु भयो तर पैसा लिएर हिँडेको व्यक्ति मोबाइल अफ गरेर फरार भयो ।

‘मलाई दुई दिनमै ल्याइदिन्छु भन्यो दुई दिनसम्म त केही भनिन पछि तपाईंको बाइक नम्बर मिस्टेक भएछ दश दिन लाग्ने भयो भन्यो । होला भनेर दश दिनसम्म कुरे । तर दश दिनपछि मोबाइल अफ छ’, सुमनले हिमालय टाइम्ससँग भन्नुभयो, ‘किन मोबाइल अफ भइरहेको होला भन्ने लागेको थियो । पछि मेरा अरू साथीले पनि त्यसैगरी पैसा दिएर पठाएका रहेछन् । पछि थाहा भयो कि म त ठगिएको रहेछु ।’
यातायात कार्यालयसम्म पुगेर ब्लुबुक नवीकरण गर्ने झण्झटबाट मुक्त हुने भएकाले केही रकम पारिश्रमिक दिएपछि ईजी सेवा नाम गरेको एक कम्पनीले ब्लुबुक नवीकरण गर्दै आएको थियो । तर पछिल्लो समय यो कम्पनी फरार छ । ब्लुबुक र पैसा लिएर यो कम्पनी फरार भएको हो । सयौं सवारी धनीबाट कम्पनीले एक व्यक्तिबाट ६ हजारदेखि ३० हजार रुपैयाँसम्म उठाएको बुझिएको छ ।

बुधबार ब्लुबुक लिनका लागि गाउँबेसी कुरिअर पुग्नु भएका सञ्चारकर्मीसमेत रहनुभएका विशाल राईले पनि सोही कम्पनीलाई आफ्नो स्कुटरको नवीकरण गर्न ६ हजार २ सय रुपैयाँ दिएर पठाउनुभएको थियो । पैसा दिएर पठाएको दुई दिनपछि सम्पर्कविहीन भएपछि आफूलाई शंका लागेको विशाल बताउनुहुन्छ । ‘मोबाइल अफ भएपछि शंका लाग्यो । विगत केही वर्षदेखि काम गरिरहेको संस्था भनेर विश्वासका आधारमा पैसा र ब्लुबुक दिएर पठाएको थिएँ । ब्लुबुक लिएर जाने व्यक्तिको एउटा मोबाइल नम्बरभन्दा अरू केही जानकारी आफूसँग नहुँदा अहिले त्यो व्यक्तिलाई समात्न गाह्रो भएको छ’, विशालले भन्नुभयो, ‘यातायात कार्यालयबाट कुनै अनुमति लिएको संस्था होइन, फेसबुकमा देखेको आधारमा कसैले पनि यस्ता किसिमका विज्ञापनमा विश्वास नगर्न अनुरोध गर्छु ।’

उक्त ईजी सेवा कम्पनीले पैसा ठगेर ब्लुबुक भने एक कुरिअर कम्पनीको जिम्मा लगाएर फरार भएको छ । गाउँबेसी लोजिस्टिक नामको एक कुरिअर कम्पनीलाई ब्लुबुक डेलिभरीको जिम्मा लगाएर उक्त कम्पनी फरार भएको हो ।

गाउँबेसी कुरिअरका अनुसार मंगलबार साँझ झण्डै पाँच बजेको समयमा आफूहरूले वसुन्धराको प्रहरी बिट नजिकबाट १ सय १९ थान ब्लुबुक रिसिभ गरेको थियो । काठमाडौंभित्र एक सामान पु¥याएबापतको सेवा शुल्क १०० रुपैयाँको दरले ११९ थान ब्लुबुक लिएको गाउँबेसी कुरिअरका कर्मचारी राजन सन्त्यालले बताउनुभयो । उहाँले उक्त ब्लुबुक आफूहरूलाई जिम्मा लगाएपछि फोन सम्पर्कबाट टाढा रहेको बताउनुभयो ।

उहाँले उक्त सामान आफूहरूले जिम्मा लिने बेलासम्म उक्त कम्पनीले ठगिरहेको छ भन्ने केही थाहा नपाएको र पछि ब्लुबुक धनीलाई बुझाउने क्रममा मात्र थाहा पाएको बताउनुभयो । गत बुधबार बिहानदेखि गाउँबेसी कुरिअरमा आफ्नो ब्लुबुक लिन थुप्रै व्यक्ति जम्मा भइरहेका थिए । गाउँबेसी कुरिअरले पनि फरार संस्था र सम्बन्धी व्यक्ति समात्न आफूले सक्दो मद्धत गर्ने बताएको छ ।

यस्तै उक्त ईजी सेवा कम्पनीले फिर्ता गरेको ब्लुबुकसँगै एक पत्र पनि पठाएको छ । उक्त कम्पनीले आफ्ना कर्मचारीले पैसा लिएर फरार भएकाले यस्तो गर्नु परको भन्दै माफी मागेको छ । साथै जतिसक्दो छिटो रकम फिर्ता गर्नै भन्दै आफूहरूमाथि विश्वास गर्न आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
grb
grb
2023-01-27 6:46 am

,तत्र, छुटेको हो भाइ अन्तिम पाउमा?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?