कर्णाली प्रदेशमा कृषि उत्पादन ११.२४ प्रतिशतले घट्यो

Read Time = 9 mins

काठमाडौं । विकास निर्माणलगायत भौतिक पूर्वाधारमा पछि पर्दै आएको कर्णाली प्रदेशमा पछिल्लो समय कृषि उत्पादनसमेत उच्च दरले घटेको छ । आर्थिक वर्ष २०७७/०७८ को पुसको तुलनामा आर्थिक वर्ष २०७८/०७९ को पुससम्ममा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि २०७८/०७९ को अर्धवार्षिक अध्ययन प्रतिवेदनअनुसार आव २०७७/०७८ को पुसको तुलनामा आव २०७८/०७९ को पुससम्ममा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ ।

प्रमुख बालीमध्ये धान बालीले ढाकेको क्षेत्रफल ११.९० प्रतिशतले घटेको छ भने मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल क्रमशः ८.६५ प्रतिशत, ४.९५ प्रतिशत र ०.३६ प्रतिशतले घटेको छ । तर, कोदो बालीले ढाकेको क्षेत्रफल ५.८१ प्रतिशत, फापर बालीले ढाकेको क्षेत्रफलमा ४९.५३ प्रतिशतले वृद्धि भएको छ । भटमास, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफल क्रमशः १.८१ प्रतिशत, १.६८ प्रतिशत र ०.०३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा तरकारी तथा वागवानी बालीले ढाकेको क्षेत्रफल क्रमशः ११ हजार छ सय ६५ हेक्टर र चार हजार सात सय ३५ हेक्टर रहेको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषिबालीमा धान बालीको उत्पादन २१.८९ प्रतिशतले घटेको छ भने मकै उत्पादन २.०१ प्रतिशतले बढेको छ । कोदो र फापरको उत्पादन क्रमशः ४०.९० प्रतिशत र ९.४० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा फापर बालीले ढाकेको क्षेत्रफलमा बढोत्तरी आएको भए पनि उत्पादकत्वमा गिरावट आएका कारण उत्पादन भने बढेको छ । तथापि आव २०७८/०७९ को पुस मसान्तमा दूध उत्पादन भने ८.४८ प्रतिशतले बढेको छ । मासु उत्पादन ०.१२ प्रतिशतले घटेको छ भने अण्डा र माछा उत्पादन क्रमशः १३.३७ र १२.३३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा उक्त प्रदेशमा रहेको कुल खेतीयोग्य जमिन एक लाख ६७ हजार एक सय हेक्टरमध्ये ९६ हजार तीन सय ८३ हेक्टरमा खेती गरिएको छ, जसमध्ये ४३ हजार तीन सय ७५ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ ।
तर, २०७८ पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्ष सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढेर चार अर्ब ५४ करोड १४ लाख पुगेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा जम्मा तीन हजार पाँच सय २६ कम्पनी दर्ता भएका छन् भने सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगको संख्या भने २९ हजार दुई सय ४८ रहेको छ । समीक्षा अवधिमा उक्त प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिको तुलनामा २७.४९ प्रतिशतले घटेको औद्योगिक कर्जा समीक्षा अवधिमा चार अर्ब ८५ करोड ४८ लाख ९० हजार रहेको छ । प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्ति अभाव, उद्योगमैत्री पूर्वाधार विकास तथा विपद् व्यवस्थापनका चुनौती जस्ता प्रमुख अवरोधले उल्लेखनीयरूपमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन सकेको छैन । २०७८ पुससम्मको तथ्यांकअनुसार सुर्खेत जिल्लाले सबैभन्दा धेरै अर्थात् तीन अर्ब १४ करोड २४ लाख रुपैयाँ औद्योगिक कर्जा उपयोेग गरेको छ भने सबैभन्दा कम तीन करोड ७ लाख १० हजार डोल्पाले उपयोग गरेको छ ।
सेवा क्षेत्रतर्फ भारत, चीनलगायत तेस्रो मुलुकबाट प्रदेशमा भित्रिने पर्यटक संख्या क्रमशः ९.२३ प्रतिशत, २५.७८ प्रतिशत र २१३.३८ प्रतिशतले वृद्धि भएको छ । कोरोनालगायतका कारण कर्णाली प्रदेशमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या शून्यप्रायः रहेकोमा पछिल्लो समय भने तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेको बताइएको छ ।

त्यस्तै आव २०७८÷०७९ को पुससम्म घरजग्गा रजिस्ट्रेसन संख्या १३ हजार सात सय ८० पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११.१५ प्रतिशतले कमी हो । घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व २६.५० प्रतिशतले घटेर १७ करोड ६५ लाख ९५ हजार रहेको छ । समीक्षा अवधिमा प्रदेशमा दर्ता भएका कुल सवारीसाधन संख्या ३५.१४ प्रतिशतले वृद्धि भई छ हजार सात सय ७६ पुगेको छ भने प्रदेशमा नेपाल टेलिकमबाट वितरीत टेलिफोनको संख्या २८.७२ प्रतिशतले घटेर ११ हजार ४१ कायम भएको छ । सरकारी/सामुदायिक अस्पतालको संख्या र ती अस्पतालमा रहेका शैय्या संख्या क्रमशः ६१.५४ प्रतिशत र ११.११ प्रतिशतले वृद्धि भएको छ भने प्रदेशमा जम्मा २१ सरकारी÷सामुदायिक अस्पताल र नौ सय ३० शैय्या रहेका छन् । समीक्षा अवधिमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८४.६ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । २०७७ पुसको तुलनामा २०७८ पुससम्ममा थप सात शाखा विस्तार भई कर्णाली प्रदेशमा वाणिज्य बैंकको शाखा संख्या एक सय ९५ पुगेको छ भने कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ३०.७३ प्रतिशतले बढेर ५५ अर्ब ७५ करोड ४० लाख पुगेको छ । निक्षेप १३.५३ प्रतिशतले वृद्धि भई ४९ अर्ब ३० करोड ७९ लाख ८० हजार पुगेको छ ।

पूृर्वाधारतर्फ कर्णाली प्रदेशमा कच्ची र पक्की सडक गरी करिब एक हजार चार सय ४१ किलोमिटर सडक सञ्जाल रहेको भए पनि प्रदेशका १० जिल्लामध्ये डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म कुनै पनि सडक कालोपत्रे भएका छैनन् । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनअनुसार प्रदेशमा विद्युत् प्रसारणलाइन पाँच हजार छ सय ३६ किलोमिटर पुगेको छ । रुकुम पश्चिममा सबैभन्दा धेरै विद्युत् प्रसारणलाइन एक हजार पाँच सय ४३ किलोमिटर रहेको छ भने जुम्ला जिल्लामा सबैभन्दा कम ५५ किलोमिटरमात्रै रहेको छ । कर्णालीमा १०.७० मेगावाट विद्युत् उत्पादन भएकोमा सबैभन्दा बढी ८.५५ मेगावाट विद्युत् उत्पादन दैलेख जिल्लाबाट र सबैभन्दा कम जुम्ला र डोल्पा जिल्लाबाट समान ०.२० मेगावाट उत्पादन भएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुको स्थलगत र नौ जिल्ला सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालिकोट, हुम्ला, डोल्पा र जुम्लाको गैरस्थलगत अध्ययनबाट २०७८÷०७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?