कांग्रेस बैठक : नेतृत्वप्रति इतर समूहको तीव्र आक्रोश, एजेण्डाभन्दा आरोप प्रत्यारोपमै केन्द्रित

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । गत सोमबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक संस्थापन र इतर समूहबीचको आरोप प्रत्यारोपमै सीमित भएको छ । बैठकमा संस्थापनइतर समूहले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको पार्टी र सरकार सञ्चालन शैलीप्रति प्रश्न उठाएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले भने प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाको बचाउ गरिरहेका छन् । कतिपय स्थापनइतरकै नेताहरूले समेत सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । स्थानीय तहको निर्वाचनको समीक्षा आगामी निर्वाचनको तयारी र पार्टी संगठनसम्बन्धी एजेण्डा तय गरेर बसेको बैठक एजेण्डामा केन्द्रित हुनुको सट्टा गुटगत एजेण्डालाई स्थापित गर्न केन्द्रित देखिएको छ ।

संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा आक्रामक रूपमा प्रस्तुत भएपछि इतर समूहका नेताहरू प्रतिवादमा उत्रेका छन् । संस्थापन पक्षका नेताहरूले इतर समूहले बाहिर–बाहिर गुटको भेला गरेर पार्टीलाई कमजोर पारेको आरोप लगाएका छन् । तर, इतर समूहका नेताले पार्टीमा अर्को समूहलाई पेलेर जाने नीति लिएको र आन्तरिक पार्टी एकताभन्दा पार्टी बाहिरको गठबन्धनलाई जोड दिएको र पार्टीलाई विधिसम्मत ढंगले नचलाएको आरोप लगाएका छन् ।

इतर समूहको प्रश्न : पार्टीलाई एकलौटी चलाउन खाजेको हो ?
शनिबार बसेको केन्द्रीय समिति बैठकमा पनि इतर समूहका नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेका छन् । बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दलका तदर्थ समिति गठन गर्दा नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै आपत्ति जनाउनुभयो । छलफलबिना नै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलका अध्यक्षमा विद्वान् गुरुङलाई मनोनयन गरेकोप्रति आपत्ति जनाउँदै सहमहामन्त्री पाण्डेले भन्नुभयो, ‘नेविसंघ र तरुण दलको अध्यक्ष मनोनयन गर्दा शेखरसँग छलफल नै गरिएन र एकलौटी गर्न खोजियो ।’ अर्का सहमहामन्त्री परियारले महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका शेखर कोइरालासँग सभापतिले छलफल नगर्नु दुःखद भएको टिप्पणी गर्दै भन्नुभयो, ‘भ्रातृ संस्थाको तदर्थ समिति गठनलगायत विषयमा छलफल नै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोज्नुभयो ।’ पाण्डे र परियार दुवैले कांग्रेसको १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित कोइराला प्यानलबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।

मन्त्रीहरूको स्पष्टीकरण
जारी केन्द्रीय समिति बैठकमा सरकारको चर्को आलोचना भएको छ । अधिकांश सदस्यहरूले जनतालाई अनुभूति हुने गरी सरकारका मन्त्रीहरूले काम गर्न नसकेको र सरकारको कार्यशैलीका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् । पछिल्ला दिनमा सरकारले नेपाल प्रहरीको लागि भनेर हतियार किन्न गरेको तयारीप्रति पनि बैठकमा चर्को आलोचना भएको छ । सरकारको तयारीप्रति चर्को आलोचना भएपछि शनिबारको बैठकमा केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको स्पष्टीकरण दिनुभएको छ । सरकारसँग हतियार किन्न पैसा नै नभएको दाबी गर्दै खाँणले भन्नुभयो, ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो । हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन । हतियार किन्ने प्रक्रिया अघि बढ्दैन र किनिँदैन ।’

केन्द्रीय समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा अझै मूल्य बढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको र सोही कारण नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै मन्त्री बडूले भन्नुभयो, ‘रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ । त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता छ । महँगीका कारण उपभोक्तामा असर परेको छ । पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने हाम्रो प्रयास जारी छ ।’ गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र मन्त्रीहरूले बोल्नेक्रम सकिएसँगै शनिबारदेखि पदाधिकारीको पालो सुरु भएको छ ।

कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्छ :  डा.कोइराला
नेपाली कांग्रेसभित्र लामो समयदेखि गठबन्धनविरुद्धको आवाजको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा.कोइरालाले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको जानकारी दिँदै भन्नुभयो, ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ । स्थानीय निर्वाचनमा हामीले रुखमा, हँसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन ।’

शनिबार नै नवलपरासीको गैडाकोटमा आयोजना गरिएको कार्यक्रममा नेता कोइरालाले नेतृत्वले गलत गर्दा बोल्नुपर्ने बताउनुभयो । वर्तमान नेतृत्वलाई सही बाटोमा हिँडाउन र कांग्रेसको अस्तित्व बचाउनका लागि आफूहरू लडिरहेको जिकिर गर्दै डा.कोइरालाले भन्नुभयो, ‘हामी कसैको दास होइनौँ । हामीलाई लागेका कुराहरू हामी भन्छौँ हामी बोल्छौँ । र नेतृत्वलाई करेक्सन गर्ने बाटो भएन भने त नेतृत्वले जे पनि गर्छ । कांग्रेसमा विधान छ,त्यो विधानलाई टेकेर अगाडि बढ्न हामीले भनेका छौँ । विधिसम्मत तरिकाले हिँड्नुहोस् भनेका छौँ । न्यायोचित तरिकाले वितरण होस् भनेका छौँ । कसैलाई काखा कसैलाई पाखा नगरौँ भनेका छौँ ।’ नेता कोइरालाले कांग्रेस र कम्युनिष्टबीचको गठबन्धन नमिलेको जस्तो देखिएको टिप्पणीसमेत गर्नुभयो ।

महाधिवेशनमा साथ दिएका नेताहरू नै रुष्ट
गत मंसिर अन्तिम साता काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको थियो । पहिलो चरणको निर्वाचनबाट परिणाम नआएपछि सभापतिको लागि दोस्रो चरणमा डा. शेखर कोइरालासँग प्रतिस्पर्धा हुँदा देउवालाई पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिनुभएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले सहयोग गर्नुभएको थियो । अघिल्लो कार्यकालमा संस्थापनइतर समूहमा रहनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल, निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पनि अप्रत्यक्ष रूपमा देउवालाई नै सघाएको चर्चा हुँदै आएको छ । तर, पछिल्ला दिनहरूमा महाधिवेशनमा सघाएका नेताहरू नै सभापति देउवाप्रति असन्तुष्ट देखिएका छन् । असार २७ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा उनीहरूले देउवाको कार्यशैलीको विरोध गरेका छन् ।

बिहीबारको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य विमलेन्द्र निधिले सभापति देउवालाई अन्य पार्टीसँगको चुनावी एकताभन्दा अगाडि पार्टीभित्रै एकता खोज्न सुझाव दिनुका साथै महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विभागहरू नबनाएको भन्दै आलोचना गर्नुभयो । १४औँ महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा सहयोग गर्नुभएका अर्का नेता प्रकाशमान सिंहले पनि पार्टी र सरकार सञ्चालनको पुरानो कार्यशैलीलाई निरन्तरता दिएको र सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै केन्द्रीय समिति बैठकमा चर्को आलोचना गर्नुभएको छ । मंसिरमा सम्पन्न महाधिवेशनमा ‘मौन’ बसेर देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सघाउनुभएका वरिष्ठ नेता पौडेलले पनि जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री देउवालाई ओलीपथमा नलाग्न सचेत मात्र गराउनुभएन सभापतिको पुरानै कार्यशैलीका कारण पार्टीले गति लिन नसकेको भन्दै आलोचना गर्नुभयो ।

६ सय बढी कार्यकर्तासँग सोधियो स्पष्टीकरण
नेपाली कांग्रेस सुर्खेतले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै ६ सयजना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ । संस्थापन समूहले निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेपछि इतर समूहले गुटका आधारमा मात्रै स्पष्टीकरण सोधेको भन्दै विरोध गरेका छन् । कांग्रेसका संस्थापनइतर समूहका अधिकांश नेता-कार्यकर्तालाई मात्र स्पष्टीकरण सोधिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । इतर समूहका नेताहरूले आगामी संघ र प्रदेश निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा पार्टीभित्रको यो लडाइँले कांग्रेसलाई थप कमजोर बनाउने जिकिर गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?