चतुर्मासाको रहस्य

Read Time = 12 mins

✍️ डा. नारायणप्रसाद निरौला

यो संसार गतिशील छ । सूर्य पनि आफ्नै गतिमा निरन्तर परिभ्रमण गरिरहन्छन् । यही गतिका आधारमा ऋतु परिवर्तन हुन्छन् । ऋतुसँगै अयनमा पनि परिवर्तन हुन आउँछ । चलायनमान प्रकृतिले पर्यावरणलाई सुखद् परिवर्तित तुल्याउँछन् । सूर्यले ३६० अंश (डिग्री) पार गर्दा एक सौरवर्ष हुन्छ भने चन्द्रमाले ३६० डिग्री पार गरेको समय एक चान्द्र महिना हुन्छ । पौरस्त्य मान्यताका आधारमा सूर्य गतिशील छ र पृथ्वीलाई स्थिर मानिएको छ । आधुनिक मतअनुसार सूर्य स्थिर र पृथ्वी चलायमान रहेको छ । वास्तवमा दुवै चलायमान छन् ।

एउटालाई स्थिर आधार नमानी गणना र प्रभाव आकलन गर्न नसकिने भएकाले प्राच्य मतमा पृथ्वीलाई स्थिर मानी सूर्यलाई चलायमान बनाई गणना गरिएको छ । प्रभाव पृथ्वीवासीलाई पर्ने भएकाले अझ भनौँ ग्राहक पृथ्वीवासी रहेकाले पनि यस्तो गणना व्यवस्था गरिएको हो । जुन प्रक्रियाले हेरे पनि परिणाम एउटै नै आउने गर्दछ । हाम्रा धार्मिक मूल्य र मान्यतामा सूर्यको चाललाई नै आधार मानेर पर्वादि काल निर्धारण भएका छन् ।

आजको तुलनामा भोलि दक्षिणतर्फ सरेर सूर्य उदाउनु दक्षिणायन हुनु हो । यसरी दक्षिणतिर सर्दै उदाउँदै अस्ताउँदै गरेका सूर्य कार्तिक संक्रान्तिमा मध्य अवस्थामा आइपुग्छन् । जुनबेला दिन र रात बराबर हुने गर्दछ । यो समय अयनांशका कारणले २४ अंश वर सरेको छ । हाम्रा धर्मशास्त्रीय एवं फलादेशसँग सम्बन्धित शास्त्रले धु्रवप्रोतीय मध्यममानलाई अपनाएका छन् । किनकि अयन परिवर्तन चक्रीय नभई दोलायमान (पिङ जस्तै) २७ अंश वर र २७ अंश पर सर्ने गर्दछ ।

यो सर्ने मानाको मध्यबिन्दुलाई केन्द्र मानेर निरयण पद्धति चल्ने गर्दछ । यसमै हाम्रा धार्मिक कार्य सम्पादन हुने गर्दछन् । सूर्य दक्षितर्फ सर्दै उदाउने क्रम पौष महिनाको मसान्तसम्म चल्ने गर्दछ । पौष मसान्तमा सूर्य दक्षिणको अन्तिम बिन्दुमा पुग्दछन् । जुनबेला दिन छोटो र रात लामो हुने गर्दछ । पृथ्वीको पनि दक्षिणी भागतिरबाट छड्के परेर सूर्य उदाउने हुँदा यो समयमा अत्यन्त जाडो हुन्छ ।

हाम्रो उत्तरायण हुँदा देवताको दिन हुन्छ । यसैगरी दक्षिणयन हुँदा देवताको रात हुन्छ । देवताको दिनमा गरिएका पूजा पाठ आदि देवप्रार्थनाले देवता प्रसन्न भई वरदान दिन्छन् भन्ने धर्मशास्त्रीय मान्यता रहेको छ । यसैगरी देवताको रात हुने समय अर्थात् हाम्रो दक्षिणायनमा देव बल कमजोर रहने गर्दछ । किनकि दक्षिणयनको समय दैत्यको दिन हो । त्यसैले दक्षिणायनको तुलनामा उत्तरायणलाई उत्तम मानिएको हो । हाम्रा लगन जुराएर गर्नुपर्ने देवकार्य अधिकांश उत्तरायणकै समयमा हुने गर्दछन् ।

एक निश्चत बिन्दुलाई आधार मानी गणना गर्ने पद्धति निरयण हो । चल बिन्दुलाई आधार मान्ने सायन हो । हाम्रा धार्मिक संस्कार सम्पादनार्थ निरयण पद्धतिलाई अँगालिएको छ । चल गणनासँगै परिवर्तन गर्दा हाम्रा धर्मशास्त्रीय मूल्य र मन्यतामा पनि आमूल परवर्तन गर्नुपर्ने हुन्छ । चल बिन्दु निश्चित नहुने भएकाले निरयण पद्धतिअनुसार धर्मिक कार्य सम्पादनको व्यवस्था गरिएको हो । यसैगरी भाद्र कृष्णपक्षको अष्टमी तिथि रोहिणी नक्षत्रले युक्त हुँदामात्र श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने धर्मशास्त्रीय निर्देशन छ । सायन पद्धतिलाई अँगाल्दा उक्त दिन रोहिणी नक्षत्रमा पर्दैन ।

यसका साथै गंगा दशहरा हस्ता नक्षत्रका दिन पर्ने गर्दछ । रामनवमी पर्व पुष्य नक्षत्रयुक्त मानिन्छ । दशैँको टीकाको साइत श्रवण नक्षत्रयुक्त उत्तम हुन्छ । यो स्थिति पनि चल पद्धतिलाई मान्दा प्राप्त हुँदैन । यसका साथै हाम्रा कृत्तिकादि नक्षत्रबाट गणना हुने दशावर्ष मान, स्वरशास्त्र, योगिनी दशा साधनमा पनि निरयण पद्धति नै अवलम्बन गरिएको छ । सायन मान्यतालई मान्दा सम्पूर्ण फलित शास्त्रका साथै धर्मशास्त्रीय मान्तामा विचलन आउँछ । यसका साथै पञ्चांग विश्वव्यापी मान्यतामा आधारित हुन्छ ।

तर, कतै एक महिनाअघि त कतै एक महिनापछि पर्व मान्ने व्यवस्था सायन पद्धतिले निम्त्याउने भएकाले एकरूपताका निम्ति पनि निरयण पद्धतिलाई अवलम्बन गरिएको हो । हाम्रा धार्मिक पर्व व्यवस्था निरयण पद्धतिलाई आधार मानी तय भएका छन् । यसैले माघ १ गते शिशिर ऋतुको आरम्भका साथै उत्तरायणको आरम्भ बिन्दु पनि मानिएको हो । उत्तरायणमा सूर्यका रश्मि तेजिला हुँने, देवताको दिनको समय भएकाले पनि गरिएका कार्य पनि अधिक फलदायी रहनुका साथै देहान्त्यपश्चात् पनि उत्तम गति प्राप्त हुने उत्तरायणको महिमा रहेको छ । यसैले पनि हाम्रा काम्य धार्मिक कार्यको सम्पादन यो समयमा हुने गर्दछ ।

चतुर्मासाको रहस्य :
पृथ्वीको उत्तरी भाग ध्रुवप्रदेशमा एक विशाल मेरु पर्वत रहेको छ । यो पर्वतमाथि पनि तीन अग्ला थुम्का रहेका छन् । जसमा ब्रहृमा, विष्णु र महेशको निवास रहेको छ । यसैगरी सोभन्दा तल देवताका पुरीहरू रहेका छन् । सोभन्दा पनि तल विभिन्न भूखण्ड रहेका छन् । ।। (सिद्धान्तशिरोमणि, गोलाध्याय, भुवनकोश, श्लो. ३१) मेरु पर्वतमा देवताको निवासस्थान बताइएको छ । यसरी हेर्दा भगवान्को निवासस्थान उत्तरी ध्रुव भन्ने पुष्टि हुन्छ । यही आधार मानेर नै देवताको एकदिनरातको सयम हाम्रा लागि वर्षदिन हुन पुग्छ । अर्थात् भनाँै हाम्रो उत्तरायण हुँदा देवताको दिन र दक्षिणयन हुँदा देवताको रात पर्ने गर्दछ । यसरी हाम्रो ६ महिनासम्म देवलोकमा दिन र ६ महिनासम्म रात पर्दछ । भगवान् पनि दिनको आठघण्टा मात्र शयन गर्नुहुन्छ ।

यही सयन गर्ने समय हाम्रा लागि चार महिनको हुन आउँछ, जसलाई चतुर्मासा भनिन्छ । उक्त समयमा भगवान्को नाम संकीर्तन शुभ मानिन्छ । ध्रुवप्रदेशमा रहनेका निम्ति ६ महिना सूर्य देखिन्छन् र ६ महिना अस्त हुन्छन् । देवताको निवासस्थनमा पनि मेरु पर्वत ध्रुवकै आसपास रहने गर्दछ । देवता (विष्णु भगवान्) को सयन गर्ने समय हामीले सयन गर्ने सरदर समयको बराबरी आठ घण्टा हुन्छ । यो समयलाई गणितीय प्रक्रमले यसरी देखिाउन सकिन्छ :
देवताको २४ घण्टा (१ दिन)=मनुष्यको ८६४० घण्टा (३६० × २४=१२ महिना वा १ वर्ष) ।
देवताको १ घण्टा= ८६४०/२४=३६० मनुष्य घण्टा ।
देवताको ८ घण्टा= ३६० × ८=२८८० मनुष्य घण्टा ।
२८८०/२४ = १२० दिन । १२०/३०=४ महिना ।

यसरी विष्णु भगवान्ले ८ घण्टा शयन गर्दा हाम्रा लागि चार महिनाको समय लागेको हो । वास्तवमा भगवान्ले पनि हाम्रो जति नै अर्थात् भनौ ८ घण्टा नै शयना गर्नुभएको हो । यही समयलाई चतुर्मासा भनिन्छ । जसको आरम्भसँगै तुलसी रोप्ने, चतुर्मासा व्रत गर्ने, भगवान्लाई झुलामा झुलाउने, दान धर्मका अन्य कार्य गर्ने कार्य हुने गर्दछन् ।

दक्षिणायनका समयमा श्रावण संक्रन्ति, चतुर्मासा व्रत, नागपञ्चमी, श्रवणी उपाकर्म (जनैपूर्णिमा), कुशेऔँसी, हरितालिका तीज, ऋषिपञ्चमी, पितृपक्ष (सोह्रश्राद्ध), दुर्गापक्ष (दशैँ), तिहारलगायत मुख्य चाड पर्ने गर्दछन् । अयन परिवर्तन हुनु प्रकृतिमा बदलाव आउनु हो । जुन निरन्तर प्रक्रियाका रूपमा चलिरहन्छ । ऋतु परिवर्तनसँगै मौसमा पनि बदलाव रहन्छ । जसले हाम्रा आहारविहारलाई पनि प्रभावित बनाइरहेका हुन्छन् । यसैगरी देवताको शयन गर्ने आठ घण्टाको समय हाम्रा लागि चार महिना हुन्छ ।

उक्त समयमा दैवी बल कमजोर रहने धार्मिक मान्यता छ । यसैले चतुर्मासा व्रत गरी श्रीमद्भागवत् लगायत कथा श्रवण गर्ने शास्त्रीय व्यवस्था रहेको छ । पितृपक्षमा पितृको आराधना, दुुर्गापक्षमा दुर्गा भगवतीको उपासना, यमपञ्चकमा यमसम्बद्ध वस्तु पूजन, महालक्ष्मीको आराधना, तुलसी विवाहलगायत चाडपर्व दक्षिणायनमा पर्ने गर्दछन् । हरेक चाडपर्वको आआफ्नै महिमा रहेको पाइन्छ ।

(निरौला ज्योतिषाचार्य हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?