कविता : माटो

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ खिमानन्द आचार्य

म माटो टेकेर उड्छु, आफूलाई उठाउन,
कोपिला मुस्कुराउँछन् देशलाई उठाउन ।
धर्तीका उठ है रत्न यही माटो खुलाउन,
मभित्र सिर्जना खुल्छन् आमालाई हँसाउन ।

यो माटो दुख्दा नै मेरो मुटुमै चस्चसाउँछ,
धर्तीमा सिर्जना खुल्दा माटो नै मग्मगाउँछ ।
माटामा ममता रच्दा सिर्जना सल्बलाउँछन्,
कोपिला मुस्कुराउँदा सौन्दर्य पनि पोख्दछन् ।

छोएर यो माटो मैले कर्मको बीज रोप्नु छ,
यहाँ कलम ज्योतिले उज्यालो पनि छर्नु छ ।
माटो नै स्वर्ग हो हाम्रो माटो नै मणितुल्य छ,
हेर त्यो भ्रूणको रत्न माटोबाट रसाउँछ ।

मभित्र भावना जाग्छन् माटोलाई केलाउँदा,
आमाको तन खुल्नेछ कोपिला जग्मगाउँदा ।
धर्तीका उठ हे बाहु हातमा सिर्जना लिई,
माटोमा तन रोप्नु छ मनमा कसम लिई ।

देह दुख्छ मलाई त माटो दुख्दा पनि,
शिर दुख्छ कता–कता हावा लाग्दा पनि ।
दिल दुख्छ मलाई त बाटो माग्दा पनि,
सपनी नै जस्तो लाग्छ विपनीमा पनि ।

सिर्जनाको गोरेटोमा आफैं हुँदा पनि,
भावनको बलेसीमा आफैं डुब्दा पनि ।
डर लाग्छ कता-कता स्वर सुन्दा पनि,
एकान्तमा जुम्बुबसी कराउँदा पनि ।

मुटु दुख्छ कता कता ज्यूनु मात्रै पर्दा,
मैले रुँदा कोइलीले कान थापी सुन्ला ।
देह दुख्ने बलेंसीमा माटो फुलाइदेऊ,
सिर्जनाको सप्तरङ्गी यहीँ बगाइदेऊ ।

माटोलाई जलाउने तन चाहिँदैन,
संघर्षमा बाँच्न सिकौँ सुख चाहिँदैन ।
स्वदेशको होइन भने कात्रो चाहिँदैन,
माटो समाई मर्न पाऊँ मुक्ति चाहिँदैन ।

माटो दुख्छ, पानी दुख्छ, हावा पनि दुख्छ,
आफू आफैं हराउँदा दिल पनि दुख्छ ।
चाहिँदैन पानी मलाई शीत भए पुग्छ,
ज्यूने रहर धर्तीमा नै पुगिदिए पुग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?