जुम्लाको सिंजामा निर्माणाधिन पक्की पुल पूरा नहुँदै चर्कियो

हिमालय टाइम्स
Read Time = 8 mins

-विजय रावत

जुम्ला । जुम्ला र कालिकोट जोड्ने सिंजाखोला पुलको निर्माण कार्य सम्पन्न नहुँदै चर्किएको छ। पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो।

सिंजाखोला नदीमा बनेको १३ करोडौंको पक्की पुल निर्माण सम्पन्न नहुँदै पुलको बीच भाग चर्किएको छ । सो पुलको कामबारे ठेकेदारको चरम लापरबाही माथि छानबिन गर्ने स्थानीयवासिको आवजसमेत उठ्न थालेको छ ।

पक्की पुलमा गाडी चढेर सयर गर्ने कर्णालीवासीको सपना ६ वर्षसम्म पनि पूरा हुन सकेन । कहिले पुलको काम नै सुरु नहुने, कहिले काम सुरु भएर पनि रोकिने र कहिले निर्माण गरिएको पुलको संरचनासमेत भत्किने जस्ता समस्याले सिंजा खोलाको पक्की पुलमा यात्रा गर्ने कर्णालीवासीको सपना अधुरै बनेको छ ।

अहिले सो नदीमाथि बेलिब्रिज पुलमा सवारीसाधन आवतजावत गरिरहेका छन् । पुल जीर्ण अवस्था रहेको छ। तिला गाउँपालिका-१ का टोपबहादुर रावतले पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद भएको जानकारी दिनुभयो । उत्त प्ुलसँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन् ।

सिंजा खोलामा बनेको पक्की पुल अहिले पनि निर्माणाधीन अवस्थामै रहेको छ । यो कसको लापरबाहीले हो तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने यहाँका स्थानीयवासि बताउँछन् ।

पुल निर्माणको अन्तिम चरणमा प्रिटेस्ट गर्दा पुलको बीचको भाग नै चर्किएपछि झन् अन्योल सिर्जना भएको छ । लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु बिडम्वना नै रहेको स्थानीय अगुवाहरू बताउँछन् ।

असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भइरहेको थियो । पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माणको काम रोकिएको छ, सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्माले भन्नुभयो, सञ्चालनमा नआउँदै पुल चर्किनु को कारण बारे छानबिन गरिने बताउनुभयो । मृत्यु मार्गको रुपमा चिनिएको कर्णाली राजमार्गमा बन्ने पुलका सन्दर्भमा सरकार र निर्माण कम्पनी दुबै गैरजिम्मेवार बनेको यहाँका नागरिक समाजका अगुवाहरू बताउँछन् ।

विभिन्न बहाना बनाउँदै पुल निर्माणको काम धकेल्दै जाने तर सरकार म्याद थप्दै ठेकेदार कम्पनीलाई सहज बनाउँदै जाने हो भने अबको दस वर्षसम्म पनि पुल बन्न सक्ने अवस्था छैन ।

सिंजा खोला पुल निर्माणको कामका लागि २०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्ट्रक्सन प्रालिसँग सम्झौता भइसकेको थियो । सम्झौतामा २०७५ चैत १४ गते पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ गराउने उल्लेख छ । तर ६ वर्षसम्म पनि पुल बनिरहेको छैन । धौ धौ गरेर बनेको पुलसमेत बीचैमा चर्किएको छ ।

कमसल सामग्रीको प्रयोग र कमजोर जनशक्ति पुल निर्माणमा खटाइएपछि पुल चर्किएको हुनसक्ने आशंका गर्न थालिएको छ । सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ । जसमा एकमुष्ट रकम १३ करोड रुपैयाँ रहेको छ । सुरुदेखि नै सिंजा खोला पुल निर्माणमा अवरुद्ध सिर्जना हुँदै आएको थियो । पुलको पहिलो डिजाइन नै गलत थियो । जसले सम्झौता गर्दाको वर्षका पुल निर्माणको काम अघि बढ्न सकेन । इन्जिनियर शर्माले भन्नुभयो, अर्को डिजाइन गर्नुपर्ने भयो । पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो ।

ठेक्का नं. ३ मा रहेको सिंजाखोला पुल यो वर्ष सकिने गरि म्याद थप गरिएको थियो । तर पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ । पहिले ढलान गरेर केबल तान्ने खालको पुल भएकोले समस्या आएको इन्जिनियर शर्माले बताउनुभयो । अब पुललाई ग्राउटिङ गरेर पुर्न स्टेसिङ गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । प्रिस्टेस गर्दा पुल चर्किएको छ । फेरि ग्राउटिङ गर्नुपर्छ । जसका लागि नेपालमा उपकरण र जनशक्ति पाइँदैन । भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ । ग्राउटिङ गरेर पुल कण्डिसनमा ल्याएपछि मात्र प्रिस्टेस गर्न मिल्छ । प्रिस्टेस गर्दा पुल चर्कियो । चर्किएको देखिँदा देखिँदै गाडी चलाउन मिलेन । पुलको भित्रिभाग समेत चर्किएको छकि हेर्नु पर्ने अवस्था देखियो,इन्जिनियर शर्माले भन्नुभयो ।

भारतीय विज्ञसँग छलफल भइसकेको छ । साउन पहिलो सातामै आएर दरार आएको ठाउँमा दबाब दिएर बनाइ करेक्सन हुनेछ । दसैं अघिसम्म पुलमा गाडी गुडाउन मिल्ने बनाउन गरि काम अघि बढ्ने भएको छ । अहिलेसम्म तीन पटक पुलको म्याद थपि सकिएको छ । कर्णाली राजमार्गमा आधा दर्जन बढी पुल बन्न लागेकोमा सिंजाखोला पुल मात्र बन्न बाँकी छ । इन्जिनियर शर्माले कमसल सामाग्रीको प्रयोग नभइ स्टेसिङ गर्दा समस्या आएको दावी गर्नुभयो । ।

उहाँका अनुसार प्रिस्टेसको पुल कर्णालीमा कतै छैन । हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या आएको उहाँको भनाइ छ । पुल निर्माणको काम गर्दा कत्तिको तापक्रम थियो वा दक्ष जनशक्तिको प्रयोग भइरहेको थियो कि थिएन भन्ने कुराले पनि फरक पार्ने इन्जिनियर शर्माले बताउनुभयो ।

अहिलेसम्म काम गरेको कन्ट्रयाक्टरले भुक्तानी पाएको छैन । पुल सबै हिसाबले परीपक्क नबनाइँदासम्म भुक्तानी नदिने र अहिलेसम्म प्रयोगमा आएको टेक्नोलोजी फेल भएमा फेरि भत्काएर बनाउनु पर्ने इन्जिनियर शर्माले जानकारी दिनुभयो । सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाई ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?