कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहारः शंकर पोखरेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताउनुभएको छ ।

पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुण्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालोधनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उहाँले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधको विरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गर्नुभयो ।

एमालेको अर्थ विभागमा गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नबारे गलत होहल्ला फैलाइएको उहाँको दाबी छ । ‘राजधानीमा फेक न्युजका कारखाना हुन्छन् । त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उहाँले भन्नुभयो, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो । वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यहि हो ।’

उहाँले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी भनेको दाबी गर्नुभयो । तर अधिकारीले भने आफूलाई विभागमा रहेको जानकारी नभएको बताइसक्नु भएको छ ।

पोखरेलले अब नेपालका पार्टीहरू दुई लाइनमा ध्रुवीकरण हुनुपर्ने बताउनुभयो । ‘धेरै पार्टी भएर मात्रै लोकतन्त्र हुँदैन । देशको समृद्धिका लागि गठबन्धनभन्दा ध्रुवीकरण राम्रो हो,’ उहाँले भन्नुभयो, ‘बुर्जुवाको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील नेतृत्व एमालेले गर्छ । अरु सबै पार्टी यसैमा ध्रुवीकरण भए हुन्छ ।’

माओवादी र एकीकृत समाजवादीलाई समेत एमालेमा पुनः एकीकरण गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा पोखरेल भन्नुहुन्छ, ‘हामी नीति र नेतृत्वमा विश्वास राख्छौं । उहाँहरू त्यसमा सहमत हुनुहुन्छ भने ठिक छ । तर यही अवस्थामा एकीकरण सम्भव छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?