राससले अब श्रव्यदृश्य सेवा पनि दिने, सञ्चारमन्त्रीद्वारा शुभारम्भ

Read Time = 5 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० को केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोबाट श्रव्यदृश्य (भिडियो) सेवा शुभारम्भ गर्दै मन्त्री कार्कीले त्यसप्रकारको पत्रकारिताले सुशासन र दिगो विकासको लक्ष्यलाई सघाउने उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले सङ्घीयताको मर्मअनुसार केन्द्रिकृत नभई विकेन्द्रित भएर प्रदेश र स्थानीय तहका साना लगानीका सञ्चारमाध्यमका लागि समाचार सामग्री उत्पादन र वितरणमा राससले आफूलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । उहाँले सूचना र प्रविधिमा आएको समयसापेक्षित परिवर्तनसँगै आफूलाई त्यसअनुसार बदल्दै समाचार बैंकका रुपमा रहेको राससले सेवाग्राहीको चाहना र मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।

ठूला भवन र आधुनिक प्रविधियुक्त कोठाले मात्रै गुणस्तर नसुध्रने चर्चा गर्दै मन्त्री कार्कीले रासस जुन उद्देश्यले स्थापना भएको हो, त्यसलाई आत्मसात् गरेर प्रभावकारी सेवा दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “रासस इतिहासको साक्षी हो । यसले अहिलेको सान्दर्भिकताको ख्याल गर्दै समाजमा सूचना प्रवाहका क्रममा बदलिँदो समयलाई ध्यानमा राखेर अनुकरणीय भूमिका निर्वाह गर्नसक्ने विश्वास लिएको छु ।”

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्थापनाको ६१ वर्षमा पुगेको राससले सेवालाई विविधीकृत गर्ने क्रममा परीक्षणका रुपमा श्रव्यदृश्य सेवा सञ्चालनमा ल्याएको र यसले अन्तर्राष्ट्रिय समाचार संस्थालाई प्रतिस्पर्धीरुपमा समाचार सामग्री दिनसक्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले आजको समयमा परम्परागत मिडियाका आधारमा मात्रै आम जनतालाई सूचनाको पहुँचमा ल्याउन नसकिने भएकाले श्रव्यदृश्य सेवाको महत्व रहेको उल्लेख गर्नुभयो ।

“जनतालाई सुसूचित गराउन वर्तमान सरकार कति संवेदनशील छ भन्ने कुराको उदाहरण श्रव्यदृश्य सेवालाई सरकारले गरेको सहयोगबाट स्पष्ट हुन्छ”, अध्यक्ष झाले भन्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले रासस आधिकारिक सूचनाका लागि पर्यायका रुपमा रहेको राससले आफ्नो सेवालाई समयानुकूल बनाउने क्रममा श्रव्यदृश्य सेवा आरम्भ गरेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले रासस सरकारका साथै जनताको आवाज बोल्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रमुख समाचारदाताको जिम्मेवारीसहित राससमा २२ वर्ष सेवा गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको श्रव्यदृश्य सेवा मुलुककै लागि सुखद् विषय भएको बताउनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले राससको श्रव्यदृश्य सेवा सञ्चलनसँगै यसको प्रभावकारिता विस्तार हुन सकोस् भन्ने कामना गर्नुभयो । कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उत्तरकुमार खत्री, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायतको उपस्थिति थियो ।

राससले परीक्षणका क्रममा एक महिनासम्म निःशुल्करुपमा श्रव्यदृश्य सेवा उपलब्ध गराउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?