कामै नगर्ने निर्माण कम्पनीको म्याद थप्न चलखेल

Read Time = 7 mins

भैरहवा । विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडकको म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा(विरुवा जेभीले काम गर्न सकेन ।

प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि बढायो । अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि स्थानीय तहको चुनावमा दलहरूले मुद्दा बनाए । चुनावपछि काम तीव्र गतिमा अघि बढे पनि सकिएन । अहिले पहिलेको प्रतिबद्धताअनुसार निर्माण कम्पनीलाई म्याद थप्न लबिङ सुरु भएको छ । ठेकेदार कम्पनीको म्याद थप गर्ने लविङमा बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डे अग्रस्थानमा हुनुहुन्छ ।

भित्रभित्रै म्याद थपको लविङमा लागेका मेयर पाण्डे बाहिर सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गरेको भन्दै सूचना प्रवाह गराउनु भएको छ । निर्माण कम्पनी द कञ्जनजंगा विरूवा जेभी दुवै सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन् । पार्टी आवद्धताको प्रयोग गर्दै निर्माण व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री पत्नी आरजु राणासम्मको ढोका ढकढक्याउन भ्याइसकेका छन् । विरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासँग पहुँच बनाएका व्यवसायी हुन् । उनी स्वंय कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील छन् ।

बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरूसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित भइसकेको सडक विभागका अधिकारीहरू बताउँछन् । त्यसैका लागि सार्वजनिक खरिद ऐनको नियमावलीको १२औं संशोधन भई बाटो खोलिएको छ ।

बुटवल चौराह-गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको विरुवाले यसअघि बुटवल(बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल(बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले बताउनु भयो ।

पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ । १८ असार २०७८ मा प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता कार्यान्वयन भएन । चौराह(गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी द्रुत गतिमा गर्ने सहमति भएको थियो । त्यो सहमतिलाई बेवास्ता गरेर निर्माण कम्पनी राजनीतिक लबिङमा लागेको छ ।

यसअघि बुटवल उपमहानगरपालिका मेयरमा एमालेका शिवराज सुवेदी हुनु हुन्थ्यो । उहाँकै कारण सडक अस्तव्यस्त भएको प्रचार अहिलेका मेयर पाण्डेसहितका कांग्रेस नेताले गर्नुभयो। चुनावी प्रचारमा यही प्रपोगण्डा तीव्र भयो । कांग्रेसका मेयरका प्रत्यासी पाण्डेले चुनाव जित्नुभयो। अहिले मेयर भएपछि तिनै पाण्डे नियत ठीक नभएको निर्माण कम्पनीलाई बोकेर हिँड्नुभएको छ ।

सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरू भत्काउन तिनै पाण्डेले अवरोधको नेतृत्व गर्नुभएको थियो । सडक क्षेत्राधिकार मिचेर बनाइएका घरधनीलाई बोकेर काठमाडौंसम्म पुगेका मेयर पाण्डे बुटवल उपमहानगरपालिकाको आयोजना झैं गरी यो सडक निर्माणको काम असार मसान्तसम्म सकिने सार्वजनिक कार्यक्रममा बोल्दै हिँड्नुभयो । अहिले सडक निर्माणको काम त सकिएन नै । अस्पताल लाइनको एकतर्फी एक सय मिटर पीच गर्न एक महिनादेखि सडक बन्द गरिएको छ । त्यसले यहाँको यातायात आवागमन अस्तव्यस्त भएको छ । दुर्गा मन्दिरदेखि अस्पताल लाइनसम्म पहिलेका साना खाल्डाखुल्डी पुर्न भन्दै मिस्कट राखेपछि समयमै अरु काम नहुँदा झन ठूला खाल्डाखुल्डी परेका छन् । अस्पताल लाइनको सडक पहाडी क्षेत्रको कच्ची सडकझैं भएको छ ।

आयोजनाका प्रमुख झा निर्माण कम्पनीको नियत ठीक नभएकाले अहिले अस्तव्यस्त भएको बताउनु भयो । ‘अब उसको म्याद थप्दा मात्रै काम हुने हो, म्याद थप भएन भने यो सडक फरक ढंगले अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘अहिले काम गर्छु भनेर प्रतिवद्धता जनाइरहेको छ, म्याद थप्ने काम सडक विभागको काम हो ।’

यो सडक विस्तारका लागि निर्माण कम्पनीले १७ चैत २०७३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १२ असोज २०७६ सम्म काम सक्नुपर्ने समयसीमा भए पनि सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले काम अघि बढ्न सकेन । घरधनीहरूले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो । २०७६ असोजको समयसीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो । सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महंगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश बनेका छन् ।
मोहम्मद हबिब/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?