बाँकेमा स्थानीय तह ४५ करोड बढी बेरुजु

हिमालय टाइम्स
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमा कूल ४५ करोड बेरुजु रहेको छ । महालेखा परिक्षकको कार्यालयको ५९ औँ लेखापरीक्षण प्रतिवेदन अनुसार कूल ४५ करोड ४० लाख ६४ हजार रुपैयाँ बेरुजु निस्किएको हो ।  आ.व. २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन  अनुसार आठ वटै तहले कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरेका थिए ।

गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले कोरोना लगायतका कारण देखाउँदै लेखापरीक्षण नै  गराएका थिएनन् ।  यसपटक भने सबै स्थानीय तहले लेखापरीक्षणको प्रतिबेदन बुझाएका थिए ।

बाँकेमा सबैभन्दा बढी बेरुजु जानकी गाउँपालिकाको छ । जानकी गाउँपालिकाको बेरुजु ६.२० प्रतिशत छ । सबैभन्दा कम बेरुजु नेपालगन्ज उपमहानगरपालिकाको १.२५ रहेको छ ।  यस्तै राप्तीसोनारी गाउँपालिकाको ३.६९, कोहलपुर नगरपालिकाको ३.७१ र खजुरा गाउँपालिकाको २.८१ रहेको छ । भने जानकी गाउँपालिकाको ६.२०, डुडुवा गाउँपालिकाको ४.३७, बैजनाथ गाउँपालिकाको २.९५ र नरैनापुर गाउँपालिकाको १.८५ प्रतिशत बेरुजु रहेको छ । बाँकेका आठ वटा स्थानीय तहमा जनप्रतिनिधि आएपछि बेरुजु भने घट्दै गएको पाइएको छ ।

जनप्रतिनिधि आएको बर्ष कतिपय विषयमा अज्ञानता, दबाब, स्थानीय अपेक्षा र महत्वकांक्षा पूरा गर्न मनपरी गर्दा बेरुजु बढी देखिएको थियो । त्यो प्रवृत्तिमा कमी आएपछि अहिलेपनि बेरुजु भने अपेक्षित रुपमा कमी आउन सकेको छैन ।

यसअघिका बेरुजु स्थानीय तहले महालेखाले तोकेको समयमा फस्र्यौट पनि गरेका छन् । तर, स्थानीय तहका धेरै बेरुजु अझै फस्र्यौट हुन सकेको छैन । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेका कारण बेरुजु रकम बढेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?