नामिबियासँग नेपालको दोस्रो हार

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट (ओडिआई सिरिज) अन्तर्गत नामिबियासँग दोस्रो हार बेहोरेको छ । स्कटल्यान्डमा जारी सिरिजमा नेपालले शनिबार राती नामिबियालाई ६३ रनले पराजित गरेको हो । नामिबियाबाट २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.५ ओभरमा १ सय ३६ रनमात्रै बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३ चौकासहित सर्वाधिक ३८ रनबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सक्नुभएन ।

यस्तै आसिफ शेखले ३४, आदिल आलमले २०, रोहित पौडेल १७ र पवन सर्राफले १० रन जोड्नुभयो । आरिफ शेख ४ तथा देव खनाल र सोमपाल कामीले १/१ रनमात्रै थप्न सक्नुभयो । कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमदले खाता नै खोल्न सक्नुभएन ।
पहिलो ओभरमा नै नेपालले ओपनर कुशल भुर्तेललाई खाता नै खोल्न नपाई गुमाएको थियो । त्यसपछि पनि नेपालले विकेट गुमाउने सिलसिला कायम राख्यो । पाँचौँ ओभरको तेस्रो बलमा देव खनाल एक रनमै आउट हुनुभयो ।

त्यसपछि नेपाली पारी अघि बढाउनुभएका आसिफ ३२ बलमा ६ चौका प्रहार गर्दै ३४ रनमा आउट हुनुभयो । रोहितले ५० बल खेलेर १७ रन जोड्नुभयो । एक समय दीपेन्द्र र आदिल अन्सारीले ३६ रनको साझेदारी गर्दै नेपालको पारी अघि बढाउन खोज्नुभएको थियो । तर, आदिल ३० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रनमा आउट भएपछि नेपाललाई ठूलो धक्का लाग्यो । ३५औँ ओभरको पाँचौँ बलमा दुई रन लिनेक्रममा दीपेन्द्र पनि रनआउट हुनुभयो । त्यसपछि नेपाली पारीको औपचारिकतामात्रै रहेको थियो ।

नामिबियाका स्पिनर बेर्नार्ड शोल्ट्जले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिनुभयो । जान फ्रिंलिकले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि कम्बसदुन न्यु ग्राउन्ड एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १९९ रन बनाएको थियो । नामिबियाका कप्तान जेहार्ड एरास्मसले ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाउनुभयो । नामिबियाका डेभिड विएसले ३४ रन तथा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन थप्नुभयो । त्यसबाहेक जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाउनुभयो ।

कप्तान सन्दीप लामिछानेले सातौँ ओभरको पहिलो बलमा नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सलाई ५ रनमा बोल्ड गर्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । दशौँ ओभरको पहिलो बलमा सोमपाल कामीले डेभिन ला ककलाई २७ रनमा बोल्ड गर्दै त्यो क्रमलाई निरन्तरता दिनुभयो । ककले ३० बलमा ५ चौका प्रहार गर्नुभयो । ज्यान फिंलिकलाई सन्दीपले नै ३ रनमा बोल्ड पारेपछि नामिबिया संकटमा देखिएको थियो ।

तर, चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियाको पारी अघि बढाउनुभएको थियो । सन्दीपले निकोललाई १९ रनमा बोल्ड गर्दै साझेदारी तोड्नुभएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिनुभयो । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिनुभयो । त्यसबाहेक दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट तथा बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिनुभयो ।

जारी सिरिजको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो । तेस्रो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको हो । अब नेपालले अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ । यो हारसँगै नेपाल १९ खेलमा १० मा हार र ८ मा जितका साथ १७ अंकका साथ छैटौँ स्थानमा झरेको छ । नामिबिया १८ खेलमा नौमा जित र नौमा हारका साथ १८ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र आठमा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा नौमा जित र नौमा हारसहित १८ अंकका साथ पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा एकमा जित र १९ मा हारका साथ पुछारमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंकतालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

टी-२० लिगको टोली घोषणा आज
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले आज (सोमबार) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको टोली घोषणा गर्ने भएको छ । क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमको टोली रहनेछन् ।

प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले यसअघि नै जनाइसकेको छ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिइसकेको छ । क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?