लेवान्डोस्की बार्सिलोनामा अनुबन्धित

Read Time = 4 mins

बार्सिलोना । पोल्यान्डका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की बायर्न म्युखिनबाट स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित हुनुभएको छ । बार्सिलोनाले उहाँलाई ४५ मिलियन युरोमा अनुबन्धित गरेको हो । यस ट्रान्सफर सिजनको यो सबैभन्दा ठूलो सरुवासमेत हो । लेवान्डोस्कीले बार्सिलोनामा तीन वर्षको सम्झौता गर्नुभएको हो । अर्को एक वर्ष थप गर्न सकिने विकल्प राखिएको छ । पारिश्रमिकबापत लेवान्डोस्कीले नौ मिलियन युरो प्राप्त गर्नुहुनेछ । सन् २०१४ मा बायर्न पुगेयता ३३ वर्षे लेवान्डोस्कीले ३७४ खेलमा ३४४ गोल गर्नुभएको छ । गत सिजन उहाँले ४६ खेलमा ५० गोल गर्नुभएको छ ।

बार्सिलोनाले विज्ञप्ति जारी गर्दै लेवान्डोस्कीलाई अनुबन्ध गरेको जनाएको छ । ‘बार्सिलोना र बायर्न लेवान्डोस्कीको सुरुवाका लागि सहमत भएका छन् । स्वास्थ्य परीक्षणपछि औपचारिकरूपमा सम्झौता हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँ आफ्नो गोल गर्ने क्षमताबाट परिचित हुनुहुन्छ ।’

बार्सिलोनाले यस सिजनमा पाब्लो टोरे, आन्द्रेस क्रिस्टिन्सिन, फ्राक केसिइ र राफिनालाई यो सिजन भित्र्याइसकेको छ । लेवान्डोस्कीले शनिबार आफ्ना समर्थकसँग बिदाइ माग्नुभएको छ ।

लेवान्डोस्कीले गत सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गर्नुभएको थियो । आफूलाई फुकुवा गर्नका लागि लेवान्डोस्कीले गरेको प्रस्ताव बायर्नले अस्वीकार गर्दै आएको थियो । उहाँले पछिल्लो आठ सिजन बायर्नबाट लगातार बुन्डेसलिगाको उपाधि जित्नुभएको छ । साथै उहाँले बायर्नबाट च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप पनि जित्नुभएको छ । ‘म मेरो टोली सहकर्मी, क्लबका कर्मचारी, क्लब व्यवस्थापन र मलाई अहिलेसम्म माया दिने समर्थकलाई धन्यवाद भन्न चाहन्छु,’ लेवान्डोस्कीले इन्स्ट्राग्राममा पोस्ट गर्दै भन्नुभएको छ, ‘हामीले धेरै सफलता चुमेका छौँ । मैले मेरो खेलजीवनको सुन्दर आठ वर्ष बायर्नमा बिताएँ । जुन मेरा लागि सधैँ यादगार रहनेछ ।’

यस्तै इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालियन क्लब नेपोलीबाट डिफेन्डर कालिडु कौलीबालीलाई अनुबन्ध गरेको छ । चेल्सीले सेनेगलको कप्तानसमेत रहनुभएका ३१ वर्षीय डिफेन्डरलाई चार वर्षका लागि क्लबमा भित्र्याएको हो ।

सन् २०१४ मा बेल्जियमको जेन्कबाट नेपोली आउनुभएका कौलीबालीले ३१७ खेल खेल्नुभएको छ । कौलीबाली अनुबन्धनमा चेल्सीले ४० मिलियन युरो खर्चिएको छ । कौलीबालीले सन् २०१५ मा सेनेगलको राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो । त्यसयता उहाँले ६२ खेल खेल्नुभएको छ । ‘चेल्सीमा आउन पाउँदा म निकै खुसी छु । जब मैले मेरो नजिकका साथी एडु (मेन्डी) र जोर्जिन्होसँग छलफल गरेँ । मलाई निर्णय लिन झनै सहज भयो,’ उहाँले अनुबन्धपछि प्रतिक्रिया दिँदै भन्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?