पुख्र्यौली व्यवसाय प्रवद्र्धनमा मेयरको साथ

Read Time = 4 mins

भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुख्र्याैली पेशा र व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सांस्कृतिक महत्व बोकेको लाय्कू साः अर्थात् पुख्र्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना भवनको आइतबार उद्घाटन गर्दै उहाँले लोपोन्मुख अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रवद्र्धनमा नगरपालिकाको विशेष सहयोग रहने बताउनुभएको हो । उहाँले सिवा साय्मि खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपुर्जा बनाइदिनेसमेत आश्वासन दिनुभयो ।

मानन्धर समुदायको पुख्र्यौली पेशाका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनरुत्थान गर्नुपर्नेमा मानन्धर समुदायले जोड दिँदै आएको छ । सोही क्रममा पुख्र्यौली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीका रूपमा विकास गर्ने अभियान सुरु भएको हो । भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघनरूपमा बस्दै आएको मानन्धर समुदायले अभियानमा साथ दिँदै आएको छ । भक्तपुरको स्थानीय उत्पादन जुजु धौ, कालो टोपी, हृयान्डिक्राफट, लोकल रक्सी, चिउरा, चाकुलगायतलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने बताइएको छ ।

उपमेयर विजयकृष्ण श्रेष्ठले तेल उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही दशकअघिसम्म म आफैं तोरी तेल खरिद गर्न जान्थेँ तर आजको दिनमा यस्तो अवस्था छैन । हामी विदेशी तेल प्रयोग गरिरहेका छौँ ।’

पुख्र्यौली पेशा र परम्परागत प्रविधिलाई आत्मसात गरी स्थानीयस्तरमै उत्पादन हुने वस्तुलाई प्राथमिकता दिने हो भने आयात प्रतिस्थापन सम्भव हुने उहाँको भनाइ छ । सोही अवसरमा ठिमीको मल्लकालीन दरबार अर्थात् लाय्कू परिसरसँगै रहेको भएर पुलां साः वा क्वथु साःलाई लाय्कू साःका रूपमा सम्बोधन गरिएको खलःका अध्यक्ष अष्टरत्न मानन्धरले बताउनुभयो ।

टोलका थकाली ९१ वर्षीय मोहनलाल लाखे मानन्धरको उपस्थितिमा मध्यपुर ठिमी नगरपालिकाका मेयर श्रेष्ठले भवन उद्घाटन गर्नुभएको हो । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, चार वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा सदस्य रामकेशरी श्रेष्ठ, पूर्वजिसस उमेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?