सिन्धुलीकी एक्ली महिला वडा अध्यक्ष भद्रा, जसले बदलिन ३० वर्षे इतिहास

Read Time = 13 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुलीमा ७९ वटा वडा छन् । एउटा वडाले वडा अध्यक्ष महिला पाएको छ । त्यो वडा हो, दुधौली नगरपालिका-३ । वनले हरियाली, खेतीयोग्य जमिनमा लगाइएका बालीनालीले हराभरा देखिने सुन्दर यो वडा १९ हजार हेक्टरमा फैलिएको छ । वडाको पूर्वमा दुनपा-६ हर्षाही, पश्चिममा कमलामाई नगरपालिका-१४ चन्दनपुर, दक्षिणमा २ नम्बर प्रदेशको धनुषा, उत्तरमा कमला नदी, दु.न.पा.-१ र २ हत्पते पर्दछ । प्रकृतिले सजिएपनि विकासले ठगिएको यस वडालाई समृद्ध बनाउन ३० वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा अमुल्य मत दिएर वडा अध्यक्ष बनाएका हुन्, वडावासीले भद्रा कुमारी माझी (३६) लाई । उहाँ ८०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्धन्द्धी किसनलाल कुमरले ५५७ र माओवादी केन्द्रका उम्मेदवारले ३४३ मत प्राप्त गर्नुभएको थियो ।

कैयौँ वर्षदेखि कम्युनिष्टका पुरुष नेतृत्वले शासन गरेकोे वडामा कांग्रेस पार्टीबाट उम्मेदवारी दिएर महिला विजयी हुनु चानचुने कुरा नभएको स्थानीयवासी खड्गबहादुर सार्की बताउनुहुन्छ । ‘३०औँ वर्षदेखि एमालेको एकलौटी शासन थियो । तर, पनि यो ठाउँको विकास भएन, अब कांग्रेसको सत्ताले केही गर्छ कि भन्ने आशा छ,’ उहाँले भन्नुभयो, ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो नभए हुने थियो ।’ कम्युनिष्टको शासनमा खाइरहेको राजीरोटी घुमाउनु पर्दाको पीडा सीता अधिकारीले सम्झिनुभयो । ‘अहिले वडामा नेपाली कांग्रेसको सत्ता आएको छ । मजस्ता गरिब, दिनदुःखीको रोजीरोटी नखोसियोस्,’ उहाँले भन्नुभयो ।

पार्टी नछुट्याई काम गर्छु
वडा अध्यक्ष माझीले व्यक्तिवादी विकास गर्ने, समाजलाई परिवर्तन गर्न नचाहने, एकतन्त्रीय शासन गर्ने र विकासको नाममा विनास गर्ने परिपाटीको अन्त्य गर्न आफू राजनीतिमा लागेको बताउनुभयो । आफूले गर्ने काम व्यक्तिवादी, पार्टीवादी नभई समाजवादी हुने उहाँको भनाइ छ । ‘कम्युनिष्ट जस्तो एकतन्त्रीय शासन हामी गर्दैनौँ, उनीहरूको सत्ता हुँदा जसरी वडावासी पीडित हुनुपर्ने छैन,’ उहाँले भन्नुभयो, ‘म नेपाली कांग्रेसको प्रतिनिधि भएर होइन, सम्पूर्ण वडावासीको साझा व्यक्ति भएर काम गर्नेछु ।’

निर्वाचित भएपछिको दुई महिना
निर्वाचित भएको दुई महिना नबित्दै वडा अध्यक्ष भद्राकुमारी माझीले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गर्नुभएको छ । यस वडा कार्यालयमा पुगेका सेवाग्राहीहरूलाई कर्मचारीदेखि जनप्रतिनिधिहरू सबैले नमस्कार गर्छन् अनि मुस्कान सहितको सेवा दिन्छन् । पहिला कर्मचारीदेखि जनप्रतिनिधिसम्मले असहयोग गरेको गुनासो थियो ।

त्यस्तै, वडा कार्यालय आउने सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा पनि दिन थालिएको छ । यसअघि वडा कार्यालयमा भएको फोटोकपी मेसिन कार्यालय प्रयोजनको लागि मात्र हुन्थ्यो । सेवाग्राहीले पैसा तिरेर पनि सेवा लिने अवस्था थिएन । वडा कार्यालयनजिकै फोटोकपी गर्ने मेसिन नहुँदा सेवाग्राहीलाई सास्ती थियो । ‘फोटोकपी गर्न टाढा जानुपर्ने हुन्थ्यो । अहिले वडामा पुगेका सेवाग्राहीहरूलाई अन्यत्र जानुपर्ने झन्झट छैन । यो सेवा कार्यालयभित्र निःशुल्क प्रदान गरिएको छ ।

यस्तै, खहरे नियन्त्रण गरेर बस्ती र खेतीयोग्य जमिन जोगाउने काम आफ्नो पहिलो प्राथमिकतामा परेको उहाँले बताउनुभयो । युवालाई कृषि तथा पशुपालनमा प्रेरित गरी बेरोजगारी कम गर्न किसान हक, हितको लागि काम गर्ने उहाँको योजना छ । स्वास्थ्य र शिक्षाको विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ । ‘स्वास्थ्य चौकी छ, डाक्टर छन् । तर, औषधि छैन । यसले स्वास्थ्य सेवा प्रभावित बनेको छ । यो समस्याको समाधान गर्न तत्कालै पहल गर्दै छु, कतिपय बालबालिका विद्यालय पढ्न गएको पाउँदिनँ, उनीहरूलाई विद्यालय जाने वातावरण बनाउन लागि परिरहेकी छु,’ वडा अध्यक्ष माझीले हिमालय टाइम्ससँगको कुराकानीमा भन्नुभयो ।

वडाको सिफारिस लिन पनि सेवाग्राहीलाई सहज भएको छ । स्वास्थ्य समस्या तथा अन्य विभिन्न समस्याका कारण वडा कार्यालयसम्म पुगेर सिफारिस लिन नसक्ने सेवाग्राहीको घर आँगनमा पुगेर उहाँले सिफारिसमा हस्ताक्षर गर्ने गर्नुभएको स्थानीय बालकुमारी खड्काले बताउनुभयो । धेरै सपना बाँडेर भ्रम छर्ने काम आफूबाट नहुने वडा अध्यक्ष माझीको भनाइ छ । ‘म घोषणापत्रमा लेखेका र बोलेर प्रतिबद्धता गरेका कुरा पूरा गरेरै छाड्छु,’ उहाँले भन्नुभयो । खहरे नियन्त्रण, शिक्षा, स्वास्थ्य, स्थानीय पूर्वाधार विकास, प्राकृतिक स्रोत र पर्यावरण, कृषि, उद्यमशीलता, रोजगारी, सामाजिक सुरक्षा, गरिबी निवारण लगायतका कार्यक्रमलाई विशेष जोड दिने उहाँको योजना छ ।

चुनावी खर्च
निर्वाचन आयोगले वडा अध्यक्ष पदका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तीन लाख रुपैयाँसम्म तोकेको थियो । तर, बढी नै खर्च भएको वडा अध्यक्ष माझी बताउनुहुन्छ । ‘चुनाव खर्चिलो बनाइएको छ । मैले खसी नकाट्दा कार्याकर्ताले झण्डै मारेनन् । अर्को पार्टीले २० वटा खसी काटेर मासु बाँडिसक्यो । तपाईं एउटा पनि नकाट्ने ? यो खालको प्रश्न आयो,’ उहाँले भन्नुभयो, ‘चुनाव एउटा चाड हो । रमाइलोमा विपक्षीले मासु खाए । नाचगान गरेर खुसी मनाएका देखेँ। मैले पनि वडावासीलाई खाऊ, रमाऊ भनेर एक छाक मासुको व्यवस्था गरिदिएँ । दशैँमा नहुने मान्छेले ऋण गरेर भए पनि मासु किनेर खान्छन् नि, त्यस्तै भएको हो यहाँ मलाई पनि । जति खर्च गरे त्यो रहरले होइन, बाध्यताले गरेकी हुँ । यसैलाई भोट किनेको भन्नुहुन्छ होला । मासु भोट दिने सर्तमा खुवाएको होइन । यति हजार दिन्छु भनी वा विभिन्न लोभ देखाएर भोट दे कसैलाई भनिनँ ।’

ठ्याक्कै यति नै खर्च भयो भनेर हिसाब निकालिनसकेको उहाँको भनाइ छ । अब तत्कालै तिर्नुपर्ने ठाउँमा गएर हिसाब बुझ्ने र खर्च अनुसारको पैसा दिने उहाँले बताउनुभयो । यी कुराहरू सुनाइरहँदा वडा अध्यक्ष माझीले २०७४ को चुनावमा कांग्रेसको विपक्षी पार्टीले थुतेर फालिदिएको घटना स्मरण गर्नुभयो । चुनावको बेला घरमा मासु पकाएर खाँदा कुटाई खाने टंकबहादुर केसीलाई सम्झिनुभयो । ‘अहिले त्यो बेलाको परिस्थिति बदलिएको छ । हाम्रो वडामा कांग्रेस मौलाएको छ, तर पनि कम्युनिष्टको जस्तो भाषण र व्यवहार हामी कसैलाई गर्दैनौँ । सबैको अधिकारको सुनिश्चित गर्छौं’ उहाँले सुनाउनुभयो ।

अन्तरजातीय विवाह, राजनीति गर्न श्रीमान्को साथ
माझी परिवारकी भद्रा कुमारीले सुनुवार परिवारसँग वैवाहिक सम्बन्ध जोड्नुभयो । उहाँले १७ वर्षको उमेरमा लीलाबहादुर सुनुवारसँग प्रेम विवाह गर्नुभएको हो । अन्तरजातीय विवाह गर्ने सोच सानैदेखि थियो उहाँको । परिवारलाई भन्नु पनि भयो । तर, अन्तरजातीय विवाहलाई परिवारले नस्वीकारेपछि भागी विवाह गरेको उहाँ बताउनुहुन्छ । अहिले उहाँहरूको एक छोरा र एक छोरी हुनुहुन्छ । मायामा परेर सानो उमेरमा अन्तरजातीय विवाह गर्नुभएकी माझी अरूलाई भने परिपक्व भएर विवाह गर्न सुझाव दिनुहुन्छ । दिदी–बहिनीहरूलाई शिक्षित भएर आफ्नो खुट्टामा आफैँ उभिएपछि मात्र विवाह गर्नुस्, भन्छु म,’ उहाँले भन्नुभयो ।

हाम्रो समाजमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सुरुमा त तिरस्कार गर्ने अवस्था छ । उहाँले पनि परिवारलाई बुझाउन ठूलै संघर्ष गर्नुपर्‍यो । परिवारले केही समय छुटाएर राखे पनि । परिवारलाई सम्झाउँदा नभएपछि जबरजस्ती उहाँ पे्रमीको घर फर्कनुभयो । यो बेलाको संघर्ष र कथा लामो छ । विवाहपछिको १५ वर्ष श्रीमान् विदेश बस्नुभयो । उहाँ आफ्नो करिअर, छोराछोरीको पढाइकोे सिलसिलामा कहिले गाउँ कहिले सहर हुनुभयो । श्रीमान् विदेश हुँदा उहाँले एसएलसीपछिको पढाइ अगाडि बढाउनुभयो । १२ पास गर्नुभएकी भद्रा पढाइमा तेजिलो हुनुहुन्थ्यो । कक्षामा सधैँ प्रथम हुने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ अहिले बुहारीहरूका लागि गतिलो उदाहरण हुनुहुन्छ । बुहारी चुलोचौकामा मात्र सीमित हुनु हुँदैन भन्ने सन्देश प्रवाह गरिरहनु भएको छ । विवाहले करिअर नबिग्रिने उहाँको अनुभव छ । ‘म विवाहित महिला हुँ । मेरो यो सफलताको पछाडि श्रीमान्को पनि ठूलो हात छ,’ वडा अध्यक्ष माझीले भन्नुभयो ।

गाउँका महिलालाई नेतृत्वमा आउन झनै गाह्रो छ । घर परिवारसँग विद्रोह गरेर सामाजिक सेवा तथा राजनीतिमा लागेका महिला नेतृहरू नेतृत्वदायी भूमिकामा पुरुष हावी हुने हुँदा महिलाले नेतृत्वमा आउन निकै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउँछन् । माझीलाई घर परिवार, समाजले रुचाए पनि टिकट नपाउने अवस्था सिर्जना भएको थियो । पार्टीमा विद्रोह गर्नुका साथै गठबन्धनको कुरालाई अस्वीकार गरेर आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको थियो । दुधौली नगरपालिका–३ मा माझी नेतृत्वको प्यानल नै विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. सुरुवाती समय राम्रो छ , गाउ , समाजको सम्मुनत बिकाश को निम्ति बुलन्द उदाहरण बन्नुहोला शुभकामना !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?