✍️ खेमनाथ दाहाल
वर्तमान परिप्रेक्ष्यमा नेपाली साहित्यमा अनुभूति, स्मृति, संस्मरण आदि विभिन्न रूपमा कतै भावनात्मक अनुभूति त कतै जीवनीको चास्नीसमेत मिसाएर प्रशस्त कृतिहरू प्रकाशित भइरहेका पाइन्छन् । यसरी अहिलेको परिप्रेक्षलाई नियालेर हेर्दा यो प्रवृत्ति यो प्रक्रिया निरन्तर उन्नत पनि भइरहेको छ । र, यसले नेपाली साहित्यलाई घनिभूत बनाउन यथेष्ठ योगदान पनि गरिरहेको छ । परापूर्व काल श्रुति परम्परामा आश्रित काल भएकाले अनुभव, अनुभूति जीवनी आदि जे जति लेखिन्थे ती सबै लयबद्ध कृतिका अंशका रूपमा लिपिबद्ध गरिएका थिए । रामायण, महाभारत र पछि रघुवंश महाकाव्यसम्म जे जति लेखिएका छन् सबै काव्य र महाकाव्यका रूपमा लेखिएको पाइन्छन् ।
वास्तवमा नेपाली साहित्य संस्कृत साहित्यको अंगको रूपमा विकसित साहित्य हो भन्दा अतिशयोक्ति नहोला । त्यसैले समयानुसार पूर्वकालीन (भानुभक्त पूर्वका) नेपाली विद्वानहरूले त्यसैको अनुशरण गरेको पाइन्छ । उनीहरूले कृतिमार्फत आफ्नो विद्वता जे जति प्रकट गरे संस्कृत भाषामार्फत नै प्रकट गरे । भानुभक्तपूर्व नेपाली साहित्य केवल श्रुति परम्परामा जीवित थियो भन्ने अनुमान गरिन्छ । यहाँसम्म आइपुग्दा पनि नेपाली समाजमा लेखन प्रणली असहज र एक प्रकारले पहुँचबाहिर भएका कारणले पनि नेपाली भाषा मूलत कविता, लोकगीत र उखान टुक्काका रूपमा श्रुति परम्परामा आधारित थियो । परिवर्तिनी संसार परिवर्तनशील छ । आज समयसँगै लेखनमा पनि परिवर्तन आएको छ । विश्व भोजपत्रको युगबाट कम्प्युटरको युगमा परिवर्तित भएको छ ।
अनुभूति र संस्मरणलाई तन्काउँदै जाने हो भने जीवनीमा परिणत हुन्छ भन्ने एकथरि विद्वानको मतलाई ठाडै नकार्न पनि न्यायोचित हुँदैन । अधिकांश लेखकका स्मृति, अनुभूति र संस्मरणमा कताकता जीवनीका अंशहरूको आस्वाद आएकै हुन्छ र त्यसले अग्रस्थान पाएकै हुन्छ । पूर्वकालमा जीवनी प्रायशः अरूद्वारा लिपिबद्ध गरिने भए पनि अहिले विविध स्मृति, अनुभूति र संस्मरण आदिका रूपमा लेखिएर आफैंले प्रकाशन गर्ने चलन प्रचलनमा आएको छ, एक प्रकारले स्वरूप परिवर्तन भएको छ । मिश्र र पश्चिम एशियाका प्रस्तर आलेखबाट सुरु भएको यो परम्परा आज विश्व साहित्यको एक शाखा भएर उदीयमान भएको छ ।
चीनका स्सु-मा चियन, युनानका प्लूतार्क, फ्लावियस र दियाजिकीपछि पाश्चात्य साहित्यमा चियाउँदा आधुनिक जीवनी लेख्ने परम्परा १७९१ मा जेम्स बोसवेलद्वारा लिखित सामुयल जोनसनको जीवनीबाट सुरु भएको देखिन्छ । सायद यिनैको प्रभावले होला अहिले नेपाली सहित्यका रचनाकारले रामायण, महाभारत रधुवंश जस्ता पद्य कृतिमा अभ्यस्त भएर पनि गद्य लेखनमा आफूलाई समाहित गरेका छन् । गद्य लेखनलाई समय साक्ष्य मानेर पनि हो कि ?
वसन्त श्रेष्ठ नेपाली साहित्य क्षितिजमा एक सुपरिचित नाम हो । उनी देश, विदेश जहाँ जता भए पनि जता गए पनि नेपाली साहित्यका फूलबारीमा नयाँ बिरुवा रोप्न उद्यत् रहन्छन् भन्ने कुरा उनका आजसम्मका कृयाकलापले उजागर गरेका छन् । उनका समय सान्दर्भिक कृतिहरूले नेपाली साहित्य आकाशलाई थप प्रदीप्त गरेका छन् । नेपाली साहित्य जगतलाई उनले उहिलेसम्ममा सुम्पिएका उनका यी चार कविता कृतिहरू (१) वसन्त श्रेष्ठका कविता, (२) भावनाका लहरहरू, (३) उज्यालो खोज्ने आवाजहरू, र (४) अर्को गोलाद्र्धमा उभिएको मान्छे (२०७७) लाई अध्यन गर्दा उनी जुन ठाउँमा गए पनि त्यहाँको सन्दर्भलाई टिपेर कविताको माला गुथ्न सक्ने प्रतिभावान् कवि हुन् भन्ने स्वतः प्रष्ट हुन्छ ।
यसरी कविता लेख्नसक्नु उनको विशेषता पनि हो । यत्रदेखि परत्रसम्मका उनका कृतिहरूमा देश र परदेशका मूलतः मर्महरू यथेष्ट समाहित छन् । आफ्नो कविता विधालाई थाती राखेर यस पटक कृतिकार वसन्त श्रेष्ठ ‘अँगालोभरिको अनुभूति’ नामक कृतिलाई संस्मरणको रूपमा लिएर पाठकबीच प्रस्तुत भएका छन् । उनका अधिकांश कविता गद्य कविताका रूपमै प्रस्तुत भएझैँ यो कृति पनि पूर्णतः गद्य विधामै रचित छ । यो कुरालाई ‘गद्य विधामा यो मेरो प्रथम पुस्तक हो’ भनेर स्वयम् रचनाकारले ‘मैले भन्नुपर्ने कुरा’ मार्फत् प्रष्ट्याएका छन् ।
कृतिका रचनाकार वसन्त श्रेष्ठको जन्म विसं. २०१२ फागुन ४ गते तेह्रथुमको म्याङलुङ बजारमा बुबा नारानमान श्रेष्ठ तथा आमा सुभद्रादेवीका जेष्ठ सुपुत्रका रूपमा भएको हो । चार कविता संग्रहहरू कृतिका रूपमा प्रकाशित गरिसकेका वसन्त श्रेष्ठ कविमात्र नभएर उनी नेपाली साहित्यका एक उल्लेख्य अभियन्तासमेत हुन् । अमेरिकाको भर्जिनिया राज्यमा बसेर आफ्नो मातृभूमि, मातृभाषा, साहित्य र संस्कृतिको संरक्षण र संबद्र्धनमा हुरुक्क हुने वसन्तले केवल चौध वर्षको कलिलो उमेर (२०२६) मा नै तीनजुरे पत्रिकाको सम्पादन गर्न थालेको देखिन्छ ।
यसरी केवल चौध वर्षको उमेरमा पत्रिका सम्पादन गर्ने हिम्मत गर्नु र सफल हुनु आफैँमा उनमा निहित वैशिष्ट्यता हो । जहाँ गएपनि कवितामा रम्ने वसन्तले प्रवासमा बसेर आफ्नो गृहस्थीरूपी जहाजलाई सफलतापूर्वक किनारा लगाएपश्चात् पनि सक्रिय सामाजिक जीवन यापन गरिरहेका छन् । वसन्तले कविता लेख्नका अतिरिक्त ‘अन्तर्दृष्टि’ ‘आवाज’ ‘उत्तर अमेरिकाका नेपाली कवि र कविता’ आदि कृतिको सम्पादन गरेर नेपाली साहित्यको इतिहासमा इँटा थप्ने उल्लेखनीय कर्मसमेत गरेका छन् ।
रचनाकार श्रेष्ठको यो नयाँ ‘अँगालोभरिको अनुभूति’ नामक कृति विभिन्न शीर्षकअन्तर्गत रचना गरिएका एक्काइस गुच्छाको मालाका रूपमा संगृहीत कृति हो । उनको यो नयाँ कृतिमा कृतिकारले विशेषतः आफूले स्वदेश र परदेशमा देखेका, भोगेका र अनुभूत गरेका कृत्यहरूलाई पाँच कालखण्डमा विभाजन गरेर संस्मरणका रूपमा प्रस्तुत गरेको मात्र होइन उनका जीवनको कालखण्डको इहवृत्तको समेत उजागर गरेको पाइन्छ । (क) बाल्यकालदेखि विद्यार्थीकालसम्मको संस्मरण (ख) अनायाश आइलागेको व्यावसायिक जीवन (ग) प्रवास गमन र भोगाइ (घ) कोरानापछिको पुनर्जीवन (ङ) स्वदेश फिर्न नसक्दाको पीडा र पच्चीस वर्षपछि म्याङलुङ बजार पुग्दाको अवस्था ।
(क) बाल्यकालदेखि विद्यार्थीकालसम्मको संस्मरण :
यो शीर्षकमा यस कृतिमा उल्लेख गरिएका मध्ये ‘सम्झनामा मेरो बालापन, म्याङ्लुङ बजारका ती सुनौला दिनहरू, बुवाको सपना र मेरो विद्यार्थी राजनीतिमा सक्रियता, काठमाडौंमा ममः, साहित्य र राजनीति, यी चार गुच्छा (संस्मरण) मा लेखकले आफ्ना बाल्यकालदेखि युवावस्थाको प्रथम चरणपार गर्दासम्मको अवस्थालाई संस्मरणका रूपमा तयार पारेका आलेखलाई समेटेका छन् । यी लेखमध्ये (१) ‘सम्झनामा मेरो बालापन’ मा वसन्तले आफ्नो बाल्यकालको सम्म्झना गर्दै आफ्नो जन्मथलो र आमाको महत्वलाई मर्मस्पर्शी शब्दमार्फत यसरी ‘मैले खेलेका ती आँगन, साथै खेलेका दौँतरी अनि धुले भुइँमा कखरा पढेको कसरी बिर्सन सकिन्छ ?
समय नै त्यस्तो-भोक न भकारी, शोक न सुर्ताको बेला ! मन परेको चिज चाहियो बाआमासँग रोइदिए भइहाल्यो । भोकलाग्यो, आमा । चोट लाग्यो, आमा । कसैसँग झगडा भयो, आमा । केही चाहियो, आमा । नयाँ कुरा किन्नु पर्यो या केही ठूलै कुरा चाहियो, बुबालाई भनसुन गर्न पनि आमा ! भनौँ, बालापनमा सबै कुराको दबाई नै आमा हुन् -वसन्त श्रेष्ठ पृष्ठ १) यी हरपहरू पढिरहँदा को भावविभोर नहोला ? साँच्चै सबैका हृदयका यी उद्गार वसन्तमार्फत पढ्दा को पाठक ! आफ्नो बाल्यकालमा विचरण नगर्ला ?
सायद यही भावनाले ओतप्रोत भएर रामले भाइ लक्ष्मणलाई भनेको हे ! लक्ष्मण सुनको लंका मलाई चाहिँदैन, किनकि आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् ‘अपि स्वर्गमयी लंका न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ यो मर्मस्पर्शी कथनलाई पुनः आत्मसात गर्न नपुग्ला । धर्तीमा सायद आमामात्र यस्तो पवित्र स्निग्ध तीर्थ हो जसको महिमा गाएर सकिँदैन जसको दर्शनबाट तृप्त हुन सकिँदैन । आमा सबै थोक हुन् यसैले भनिएको छ आमा समान कुनै छायाँ छैन, कुनै आश्रय छैन, कुनै सुरक्षा हुँदैन, आमाजस्तो जीवनदाता विश्वमा कोही हुँदैन ‘नास्ति मातृसमा छायाँ नास्ति मातृसमा गतिः, नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा’ । क्रमश :
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका