विनाशकाले विपरीत बुद्धि

Read Time = 15 mins

✍️ मणि शर्मा

आयुर्वेद शास्त्रका रचयिता महर्षि पुनर्वसु आफ्नो अद्वितीय ग्रन्थ लेखिसकेपछि अरण्यतिर गइरहेका थिए । घना अरण्यको गोरेटोमा अगाडि उनी थिए र पछाडि उनको शिष्य अग्निवेश । एक्कासि पुनर्वसु उभिए । अगाडि हेरे, दायाँबायाँ हेरे । चारैतिर हेरे । दीर्घनिःश्वास लिँदै भने महाविनाश आउनेवाला छ । अग्निवेशले सोधे कस्तो महाविनाश गुरुवर ? पुनर्वसुले भने मैले देखिरहेको छु, जल बिग्रिरहेको छ, पृथ्वी बिग्रिरहेको छ, वायु, तारा, आकाश, सूर्य र चन्द्र सबै बिग्रिरहेका छन् । अन्नले आफ्नो शक्ति परित्याग गर्नेछ, औषधिहरूले आफ्नो प्रभाव त्याग्नेछन्, पृथ्वीमा टुटिरहेका ताराहरू खस्नेछन्, विनाश गर्ने हुरीबतास चल्नेछ, विनाशकारी भूकम्प आउनेछ, ठूलाठूला आग्नेयास्त्रहरू खस्नेछन् । महानाशको महाताण्डव हुनेछ, मनुष्य बाँच्ने छैनन् ।

यो कथा ‘चरक’ को विमान स्थानको तेस्रो अध्यायमा आउँछ । यसमा लेखिएको छ कि अग्निवेशले जब यो भयानक भविष्यवाणी सुनेपछि हात जोडेर भने, गुरुवर हजुरले यो भयभीत गर्ने भविष्यवाणी किन गरिरहनु भएको छ ? सबै रोगको निदानको कुरा हजुरले ग्रन्थमा लेखिसक्नु भएको छ, संसारको सर्व रोगको उपचार लेखिसक्नु भएको छ । फेरि पनि यो विनाश किन आउनेछ ? महर्षि पुनर्वसुले भने महाविनाश यस कारण आउँछ कि मानिसहरू धर्मलाई छोडेर अधर्मतिर हिँड्नेछन्, सत्यलाई छोडेर असत्यको पथतिर लाग्नेछन् । सत्य तथा धर्ममा रुचि रहनेछैन ।

अग्निवेशले सोधे धर्म तथा सत्यप्रति रुचि नरहनुको कारण के हो गुरुदेव ? पुनर्वसुले भने बुद्धि बिग्रिनु नै यस महाविनाशको कारण हुनेछ । जब बुद्धि बिग्रिन्छ, मानिस सत्यको पथ छोडेर असत्यको पथतिर गमन गर्छन्, त्यसपछि धर्ममा रुचि रहँदैन । बुद्धि बिग्रिनु भनेकै सबै रोगको कारण हो । बुद्धि बिग्रिसकेपछि शारीरिक रोगमात्र उत्पन्न हुँदैन, सँगसँगै सामाजिक, राजनीतिक, आर्थिक तथा आत्मिक सबै रोग उत्पन्न हुन्छन् । त्यसैले भनिन्छ, विनाशकाले विपरीत बुद्धि । भगवान कृष्णले गीतामा भन्नुभएको छ बुद्धि नाशात्प्रणश्यति । बुद्धिको नाश हुनाले महानाश ब्युँझेर उठ्छ ।

नेपालको अवस्था अहिले श्रीलंका, लाओस, पाकिस्तान र अफगानिस्तानको हाराहारीमा पुगिसकेको छ । केही नेताहरूको परिवारवाद, केन्द्रदेखि स्थानीय निकायसम्म चुलिएको भ्रष्टाचार जुन महालेखाको प्रतिवेदनले नै दर्शाउँछ तथा राष्ट्रप्रतिको गद्दारीको कारणले नेपालको आर्थिक अवस्था टाट पल्टिने चरणमा पुगिसकेको छ । मुलुकलाई टाट पल्टाउन विश्व बैंक, एशियाई विकास बैंकलगायत विभिन्न राष्ट्र तथा निकायहरूले ऋणमाथि ऋण थोपरेर सहयोग गरिरहेका छन्, ऋण रकमको सदुपयोग हेर्ने हो भने प्रायः सबै मापदण्डविहीन बनेका संरचनामात्र छन् । यो ऋण रकमले नेताहरूलाई भ्रष्टाचारमा लिप्त हुन सहयोगबाहेक केही गर्दैन ।

२०४८ सालदेखि यताको भ्रष्टाचारको गणना गर्दा एउटा ठूलो पुस्तक नै लेख्न सकिन्छ । झन् गणतन्त्र आएपछि यो द्वितीयाको जुन झैँ बढेर पूर्णचन्द्रमा परिणत भइसकेको छ । एउटा भ्रष्टाचारको मुद्दा लुकाउन सरकार अर्को भ्रष्टाचार गर्ने गर्छ । केमा बोल्ने केमा नबोल्ने ? त्यस्तै राष्ट्रघात हेर्दा २०४८ साल यता टनकपुर सन्धिबाट सुरु भई महाकाली सन्धि हुँदै अहिलेसम्म आइपुग्दा महाभारत नै लेख्नुपर्ने अवस्था आउँछ । जनताले जतिसुकै विरोध गरे पनि सरकारहरू सुन्दै सुन्दैनन् । सत्तामोहमा शासक वर्ग अन्धो र बहिरो भएका छन् ।

केही वर्षअगाडि जब राजनाथ सिंह भारतको गृहमन्त्री थिए उनले भैरहवा नजिकको भारतीय शहर महाराजगञ्जमा आएर भनेका थिए, नेपालमा हाम्रा एक करोड नागरिकहरू छन् । अब चालीस लाखले नागरिकता लिन बाँकी छ । त्यही चालीस लाखलाई नागरिकता दिन अहिले सरकारले नागरिकता विधेयक ल्याएको हो । जुन नेपाललाई फिजीकरण गर्दै सिक्किम बनाउने षड्यन्त्रको मुख्य पाटो हो । भारतीयहरूलाई नागरिकता दिने अभ्यासमा अहिले हाम्रा नेताहरू भारत भ्रमणमा रहनु भएको हो । त्यसैले भाजपा र भारत सरकारले उहाँहरूको भ्रमणलाई उच्च महत्व दिएको छ र नेपाललाई कमजोर पार्न बन्ने आगामी योजनामा सहयोगको अपेक्षा पनि गरेको होला ।

करिब आठ वर्षसम्म पुष्पकमल दाहाल, बाबुराम भट्टराईलाई परिवारसहित र अरू नेताहरूलाई भारतमा सम्मानका साथ राखेको, माओवादीलाई हतियार र तालिम दिएको भारतले त्यसै होइन यो प्रमाणित भइसकेको छ । १२ बुँदे सम्झौता त्यसैको एउटा कडी हो । यही नीतिअनुसार राष्ट्रिय स्वयं सेवक संघले नेपालमा उसको भातृ संगठन हिन्दू स्वयं सेवक संघ खोलेर तराईदेखि हिमालसम्म हिन्दुत्वको नाममा आफ्नो संगठन विस्तार गरिरहेको छ । यसलाई सार्थक रूप दिन नागरिकता विधेयक जरुरी थियो । त्यसैले सरकारले हाल नागरिकता विधेयक ल्याएको हो ।

एकजना अमेरिकन लेखकले खैरो गैंडा शब्दको प्रयोग गरेका छन्, जसको अर्थ, अत्यधिक सम्भावना भएको तर बेवास्ता गरिएको खतरा भनेर बुझिन्छ । भ्रष्टाचारको सीमा उल्लंघन आफ्नो ठाउँमा छँदै छ, नागरिकता विधेयकले भविष्यमा मुलुकमाथि आइपर्ने ठूलो दुर्घटनाको सम्भावनालाई बल प्रदान गरेको छ जुन देशको लागि बेवास्ता गरिएको खतरा हो । नागरिकता विधेयकले हामी नेपालीको सभ्यता तथा संस्कृतिलाई नष्ट पार्नेछ । अहिले नै भारतीय टिभि च्यानल र फिल्मको प्रभावका कारण हाम्रो प्रत्येक सांस्कृतिक तथा सामाजिक कार्यहरूमा भारतीय संस्कृति भित्रिइसकेको छ ।

हामी जानी नजानी फेसनका लागि यस्ता विकृति भित्र्याइरहेका छौं जसको कारण प्रत्येक परिवारमा आर्थिक भार त बढ्दै गएको छ, साथसाथै हाम्रा मौलिक संस्कृतिको हामीले हत्या गरिरहेका छौं । यसका लागि सरकारमात्र होइन हामी जनता पनि दोषी छौं । भोलि विभिन्न मुलुकबाट आएका मानिसहरूका कारण यहाँ आतंकवादी गतिविधिलगायत धार्मिक दंगा हुने प्रचुर सम्भावना छ । अहिलेको नागरिकता विधेयकले त रोहिंगालगायत विभिन्न देशका कथित शरणार्थीहरूका सन्तानहरूले नागरिकता पाउन सजिलो मात्र भएको छैन तिनीहरू पनि पन्ध्र वर्ष यहाँ बसेपछि स्वतः नागरिकता पाउने छन् ।

२०६३ सालको नागरिकता विधेयकले चालीस लाखभन्दा बढी भारतीयले नागरिकता पाइसकेका छन् । धेरैजसो नागरिकता लिएर भारतमै बस्ने गरेका छन् । एउटा भारतीय समाचारपत्र अनुसार भैरहवा नजिकको भारतीय शहर महाराजगञ्जमै नेपाली नागरिकता लिएका चौबीस हजार भारतीयहरू छन् । तराईका विभिन्न जिल्लामा यस्ता भारतीयहरू कति छन् कति । अहिले आएर कतिपयले नेपालमा जग्गा किन्न थालेका छन् । तराईमा बस्ने पहाडी मूलका नेपालीहरू धमाधम तराई छाडेर काठमाडौं, चितवन, पोखरालगायत शहरमा बसाइँ सरेर गइरहेका छन् ।

कथित मधेस आन्दोलनताका पहाडी मूलका नेपालीहरूलाई तराईबाट लखेटी पहाडतिर पठाइएको पीडा अझै उनीहरूले बिर्सेका छैनन् । आफ्ना बाउ, बाजे, बराजुको पालादेखि तराईमा बस्दैै आएका उनीहरू आफ्नै देशमा गैरनागरिक जस्ता भए । विस्तारै तराईबाट मूल नेपालीहरू शून्य अवस्थामा झर्ने स्थिति बनिसकेको छ । राजा महेन्द्रले तराईको सुरक्षाका लागि भूपू सैनिकहरूलाई तराईको सीमामा ल्याएर बसोवास गराएका थिए जसले गर्दा सीमाको रक्षा भइरहेको थियो । पहाडी मूलका नेपाली तथा रैथाने तराईवासी मिलेर नेपालको सीमा आफ्नो बलबुताले भारतबाट मिचिनबाट रोकेका थिए । अब त रैथाने तराईवासी पनि अल्पमतमा परिसकेको अवस्था छ ।

एउटा भारतीय अखबारमा एकजना नेपाली चेली जो विहारमा विवाह गरेर गएकी थिइन् उनको बिलौना पढ्ने मौका मिल्यो । उनले पत्रकारलाई भनेकी थिइन्, उनी विवाह भएर भारत आएको पन्ध्र वर्ष भयो तर अहिलेसम्म भारतको नागरिक बन्न पाएकी छैनन्, भारतीय संविधानमा विवाह भएको सात वर्ष पुगेपछि भारतीय नागरिक बन्न पाउने अधिकार छ तर प्रक्रिया यति लामो छ कि उनले पन्ध्र वर्ष हुँदासम्म नागरिकता पाएकी छैनन् ।

तर, हाम्रो यहाँ मधुरजनीको फूलशैयामै बेहुलीलाई नागरिकता दिने कानुन चाहियो जस्तो गरिएको छ जबकि नेपाली चेली विवाह गरेर पाकिस्तान गए त्यहाँको नागरिकता लिन पाँच वर्ष, भारतमा सात वर्ष, भुटानमा विवाह गरेकी महिलाले सन्तानले नागरिकता पाएपछि, बङ्गलादेशमा दुई वर्ष, मालदिभ्समा १२ वर्ष तैपनि मुस्लिम नै हुनुपर्ने, अफगानिस्तानमा सात वर्ष र श्रीलंकामा सात वर्ष कुर्नुपर्छ । बाउको पत्तो नलागेकालाई वंशजको आधारमा नागरिकता दिने भनिएको छ । यसरी नेपालमा बाउको पत्तो नलागेका करिब पाँच लाख बालबालिका छन् । इण्डियाबाट भिख माग्न आएका वा कबाड बटुल्न आएका इन्डियन बालबालिकाले समेत नागरिकता पाउने भए ।

यसले चारित्रिक तथा सांस्कृतिक विकृति भिœयाउने अर्को पाटो छ । हाम्रो संस्कारमा विवाह नभईकन सन्तान जन्माउन पाइँदैन । के कुनै पनि बच्चा आमाले एक्लै जन्माउन सक्छिन् ? बच्चालाई थाहा नभए पनि आमालाई त थाहा हुन्छ यसको बाउ को हो भनेर ? अर्को धारामा नेपालमा जन्मेका बालबालिकालाई वंशजको आधारमा नागरिकता दिने हो । त्यसो भए त रोहिंगालगायतका सन्तानले पनि वंशजका आधारमा नागरिकता पाउने भए । खुला सीमाको फाइदा उठाएर इण्डियनहरू नेपालमा आएर बच्चा जन्माएर जन्मदर्ता लिने र पछि उमेर पुुगेपछि नेपालको नागरिकता पाउने अवस्था आउँछ ।

यो नागरिकता विधेयकको लक्ष्य नै नेपाललाई फिजी हुँदै सिक्किम बनाउने हो । इण्डियाले आफ्नो उद्देश्यबमोजिम सत्तागठबन्धनका पुष्पकमल दाहाल र आरजु देउवालाई सँगै राखेर वार्ता गरेको छ । समाचार अनुसार दाहालले लोकतन्त्रलाई खतरा छ यसलाई जोगाएर गठबन्धनलाई जिताइदिनुस् भनेर इण्डियाको अगाडि ‘गिडगिडाएका’ रहेछन् । भारतीय समाचार नवभारतले लेखेको छ । यस विधेयकले हामी मूल नेपाली पहाडको होऔं वा तराईका नेपालमै शरणार्थी बन्ने अवस्था आउनेछ । विनाशकाले विपरीत बुद्धि भनेको यही हो । त्यसैले नेपाली जनता श्रीलंकाका जनता जस्तै जाग्नुपर्ने अवस्था आइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?