सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

खार्तोम । सुडानको खार्तोममा भएको जातीय दङ्गामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ ।

सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दङ्गा भएका छन् , ती घटनामा परी कम्तीमा पनि ६५ जनाको मृत्यु भएको उक्त दैनिक पत्रिकाले जानकारी दिएको छ । सो दङ्गामा परेर अरु दर्जनौँ व्यक्ति घाइते पनि भएको यहाँका एक सुरक्षा समितिले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

झडपका क्रममा कैयौं पसलहरु क्षतिग्रस्त भएका छन् भने केही घरमा आगजनी पनि गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । आइतबारसम्म सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको जनाएका छन् भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रमा मानिसहरुलाई आवतजावत र भिडभाड गर्न निषेध गरिएको छ । स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?