-विवेक खड्का
दाङ । दंगीशरण गाउँपालिका–३ का टोपाराम चौधरीका आँखा घरी आकाश, घरी रोप्न बाँकी खेतका गराहरुमा पर्छन् । उज्यालो आकास, चिराचिरा परेका गराले उहाँको मन खिन्न छ । रातभर टहटह जुन लागिरहेको छ । ‘भ्यागुता कराउन थालेका छैनन् । गाउँलेहरुले भन्ने गरेका छन्– ‘इन्द्र रिसाएर हो कि पानी परेको छैन’, टोपाराम चौधरीले भन्नुभयो । दंगीशरण पालिका भरी कम्तीमा पनि ५० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । आकाशे झरी नलाग्दै खेलमा कुला चल्दैनन् । जसोतसो गाउँमा राखिएको लिफ्ट सिँचाइले सबै खेतलाई पानी पर्याप्त छैन ।
यो दुर्दशा दाङका सवै किसानहरुको हो । विगतका वर्षजस्तै समयमा पानी परेको भए अहिलेसम्म जिल्लामा धान रोपेर सकिन्थ्यो, केही ठाउँमा बाँकी रहन्थ्यो होला तर यस वर्ष पानी राम्ररी नपर्दा सिंचाइ हुने बाहेक अन्य ठाउँमा किसानले अझै धान रोप्न पाएका छैनन् ।
धान रोप्ने समय भइसक्दा पनि पानी नपरेपछि कतिपय ठाउँमा व्याड सुक्न थालेको छ भने केही ठाउँमा रोपेको धान जाग्नुपर्नेमा पानी नहुँदा सुक्न थालेको छ । धानखेतीका लागि रासायनिक मल नपाएका किसानहरू रोपाइका लागि वर्सात समेत नहुँदा चिन्तामा परेका छन् । असार सकिँदा समेत खेतीका लागि गत्तिलरी पानी नपर्दा कुलामा समेत पानी नआएपछि रोपाइका लागि राखेको व्याड नै सुक्न थालेको घोराही–१६ निवासी सरिता चौधरीले वताउनुभयो ।
‘रोपाइका लागि राखेको बिउ महिना दिन बढी भइसक्यो, अहिले त पानी नपर्दा व्याड नै सुक्न थालिसकेको छ’, उहाँले भन्नुभयो, ‘पहिले राखेको व्याड सुक्न थालेपछि फेरि नयाँ व्याड राखेका छौँ ।’ गाउँमा वर्षे खेती गर्न आवश्यक पर्ने सिंचाइका लागि खोलाको पानी कुलोबाट खेतसम्म ल्याउने गरिन्छ तर यसवर्ष खोलाकै मुहान सानो भएकाले कुलामा समेत पानी नभएको चौधरीले बताउनुभयो ।
साउन लाग्दासमेत पानीको अभाव भएपछि उनी मात्र होइन सिंचाइको सुविधा नहुने जिल्लाका अधिकांश किसान चिन्तित छन् । ‘धानको बिउ अब छिप्पियो, २०–२५ दिनमा बिउ रोपिसक्नुपर्ने हो तर बिउ राखेको ३० दिन नाघिसक्यो’, दाङ शान्तिनगर गाउँपालिका–१ निवासी किसान हरि घर्ती मगरले भन्नुभयो, ‘ठूलो पानी नपर्दा कुलोमा पानी छैन, खेत बाँझै छ ।’
घर्तीले खेतसम्म सिंचाइ कुलो पुगेको भए पनि मुहानमै पानी नभएपछि कुलामा पानी नआएको बताउनुभयो । उनीहरू मात्रै होइन वर्षे खेतीका लागि राम्रो पानी नपर्दा धेरै किसानले तयार भएको व्याड समेत रोप्न पाएका छैनन् । सिंचाइको व्यवस्था भएको ठाउँमा किसानले धान रोपे पनि जिल्लाका अधिकांश ठाउँका किसानले असार सकिँदासम्म पनि धान रोप्न पाएका छैनन् ।
स्थानीय सरकारले कृषि क्षेत्रलाई जोड दिने र कृषिको विकासका लागि लाग्ने भनेर भूउपयोग नीति ल्याउने भने पनि भएका जमिनहरु सिँचाइ सुविधा नहुँदा बाँझै छन् । जिल्लामा करीब ३९ हजार हेक्टरमा धान खेती हुँदै आए पनि पर्याप्त सिँचाइ सुविधा भने छैन । असार महिना सकियो तर खेतीपातीका लागि आकाशबाट खेतलाई पुग्ने पानी पर्न सकेको छैन । खेतमा रोप्नलाई ठिक्क भएका धानका व्याड पानी नपाएर पहेँलै हुन थालिसकेको किसानहरु बताउँछन् । कतै व्याड सुक्न थालिसक्यो भने कतै खेत सुकेर चिराचिरा परेका छन् ।
किसानका आँखा भने आकासतिरै छन् । पानी पर्छ कि भन्ने आशामा बसिरहेका छन् । आकासे पानीको भरमा खेती गर्नुुपर्ने किसानहरु आकासतिर हेरेर बस्नुपर्ने बाध्यता छ । तुलसीपुर उपमहानगरपालिका–१२ का किसान सुन्दरकुमार चौधरीले आकासेपानीलाई पर्खेर बसेको बताउनुहुन्छ । ‘न पानी आउँछ न रासायनिक मल, यसपालि खेती लाग्दैन कि भन्ने चिन्ता छ’, किसान लोकराज वलीले भन्नुभयो ।
४५ प्रतिशत खेत बाँझै
जिल्लामा सिंचाइको राम्रो व्यवस्था नहुँदा र खेती अनुकूल वर्सात नहुँदा असार महिना सकिँदा समेत ४५ प्रतिशत खेत बाझै रहेको छ । सिंचाइको सुविधा भएको देउखुरी उपत्यकासँगै डिपबोरिङको सुविधा भएका दाङ उपत्यकाभित्रका केही ठाउँमा रोपाइँ भए पनि अधिकांश ठाउँमा रोपाइ हुन सकेको छैन ।
देउखुरी उपत्यकामा लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर गाउँपालिकामा भने अधिकांश ठाउँमा रोपाइ सकिएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । देउखुरीमा रोपाइ भए पनि दाङ उपत्यकमा भने अझै ४५ प्रतिशत खेतमा धान रोपाइ हुन नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । रोप्नका लागि धानको बिउ तयार भए पनि पानीको अभावले धान रोप्न नसकेको लामिछानेले बताउनुभयो ।
घोराही र तुलसीपुर उपहानगरपालिकासहित बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिकामा अधिकांश खेतहरूमा बाँझै रहेका छन् । असार सकिँदा पनि जिल्लामा करिब ५५ प्रतिशत मात्र धान रोपाइ सकिएको कार्यालयले जनाएको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा ३० प्रतिशत कमी हो । गत आर्थिक वर्षमा जिल्लामा असारसम्म ८५ प्रतिशत रोपाइ सकिएको थियो । यसरी असार सकिँदासमेत कृषकहरू धान रोप्न नपाउँदा उत्पादनमा कमी आउनसक्ने देखिन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका