पुतलीबजार नगरपालिकाद्वारा पटके सवारी कर पूर्ण रूपमा खारेज

हिमालय टाइम्स
Read Time = 5 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सडक उपयोग गरेबापत सडकमा गुड्ने सवारीसाधनका लागि लिइँदै आएको पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । पुतलीबजार नगर कार्यपालिकाको बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडकमा लगाइँदै आएको सडक उपयोग शुल्क यो वर्षको लागि स्थगित गर्ने निर्णय गरको हो ।

खासगरी पुतलीबजार नगर क्षेत्रभित्रका भित्री सडकहरूमा प्रवेश गर्दा सडक मर्मतका लागि भन्दै सडक उपयोग शुल्क वा पटके कर लिइँदै आएको थियो । जतिपटक सवारी सडकमा गुड्छ, त्यति नै पटक शुल्क तिर्नुपर्ने नियम बनाइएका कारण यसबाट यातायात व्यवसायीहरू असन्तुष्ट हुँदै आएका थिए । एउटै सडकमा जति पटक सवारी चल्छ, त्यति नै पटक शुल्क तिर्नुपर्ने भएकाले यसलाई ‘पटके कर’ का नामबाट चिनिने गरेको छ । स्याङ्जामा सबै पालिकाहरूले यस्तो सडक उपयोग शुल्कको व्यवस्था गरेका थिए भने पछिल्लो समय व्यापक जनगुनासोपछि पालिकाहरूले यसलाई हटाउन थालेका छन् ।

यातायात व्यवसायी र सर्वसाधारणको गुनासापछि पुतलीबजार नगर सभाले एउटा सडकमा एकपटकमात्र सडक उपयोग शुल्क तिरे हुने निर्णय गरेको थियो । यसबाट यातायात व्यवसायी केही सन्तुष्ट भएका थिए । नगर सभाबाट सवारी शुल्क दरमा समेत २५ प्रतिशतले घटाउने निर्णय गरेको थियो । यो निर्णयपछि पनि पुतलीबजारभित्रको सवारी उपयोग शुल्क पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै दबाब बढ्दै गइरहेको र जनगुनासो बढ्दै गइरहेपछि नगर कार्यपालिकाले उक्त गुनासोलाई सम्बोधन गरी सडक उपयोग शुल्कका रूपमा लिइने सम्पूर्ण कर खारेज गर्ने निर्णय गरेको हो ।

सवारी उपयोग शुल्क खारेज गर्ने निर्णयका सम्बन्धमा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले भन्नुभयो, ‘हिजो चुनावका बेलामा पनि हामीले बोलेकै हो । पटकपटक सवारी कर तिर्नुपर्ने अवस्थाले धेरैलाई समस्यामा पारेको गुनासो पनि थियो । छिमेकी नगरपालिका र गाउँपालिकाहरूले पनि पटके कर हटाएको अवस्था र आम नागरिकहरूको दुःखलाई हेरेर हामीले सवारी कर र चुंगिकर खारेज गर्ने निर्णय गरेका हौँ ।’

पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले पुतलीबजार नगरपालिकाले राष्ट्रिय राजमार्गबाहेकका नगरपालिकाको लगानीमा भएका सडकहरूको सन्दर्भमा सडक मर्मतका लागि भनेर सवारी साधनलाई लिइने गरेको सडक उपयोग शुल्क हटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकलाई प्रत्यक्ष असर पर्ने खालका करहरूलाई पुनर्विचार गर्ने बरु करका अन्य दायराहरूको खोजी गर्ने भन्ने सन्दर्भमा यो निर्णय भएको हो ।’

बाडखोला–दुलेगौडा ग्रामीण सडक, प्रगतिनगर–बहाकोट ग्रामीण सडक, स्याङ्जा–पुतलीखेत–लाम्पाटा–टिकाजा–सतौँ–आरुचौर ग्रामीण सडक, प्रगतिनगर–घुम्ती चिसापानी ग्रामीण सडक, सुम्रेखोला–नुहारभञ्ज्याङ–अर्जुनचौपारी ग्रामीण सडक, जाँडखोला–पेल्काचौर ग्रामीण सडक, स्याङ्जा बजार–हुनिकोट ग्रामीण सडक, पुतलीखेत–ठूलीवेशी उनियाचौर–नागडाँडा सडकलगायत अन्य सडकमा नगरपालिकाले सडक मर्मतका लागि भन्दै सडक उपयोग शुल्क लिने गरेको थियो ।

नगर कार्यपालिकाको कर खारेज गर्ने निर्णयसँगै अब यी सडकमा कुनै प्रकारको सवारी शुल्क कर तिर्नु नपर्ने भएको छ । यी सडकहरूमा सवारी शुल्कबापत भन्दै अब कुनै ढाँट तेस्र्याउन नपाइने भएको छ । यसबाट पुतलीबजार नगर क्षेत्रभित्रका यातायात व्यवसायी र आम सर्वसाधारणमा खुसियाली छाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?