गण्डकीमा विकासप्रेमी नेताको छवि बनाउँदै सांसद मल्ल

हिमालय टाइम्स
Read Time = 8 mins

-युवराज पौडेल

स्याङ्जा । गण्डकी प्रदेशका सांसद तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवत् प्रकाश मल्लको पहलमा स्याङ्जाका चापाकोट, गल्याङ, कालीगण्डकी, पुतलीबजारलगायत क्षेत्रमा विकासका आयोजनाहरूको बाढी नै लागेको छ ।

सांसद भएबाट नै उहाँले कालीगण्डकी, गल्याङ, चापाकोट र भिरकोटलगायत क्षेत्रहरूमा विकासका विभिन्न आयोजनाहरू पारेर जनताले चुनावमा व्यक्त गरेको जनमतलाई कदर गरिरहनुभएको छ । वास्तवमा एउटा सांसद त्यो पनि प्रदेश सांसदको हैसियत संघीय संरचना र यसले व्यवस्था गरेको अधिकार क्षेत्रका आधारमा लोभलाग्दो छैन ।

प्रदेशमाथि नै निरन्तर प्रश्न उठिरहेका बेलामा प्रदेश सांसदको भूमिका ठूलो हुने कुरा पनि भएन । संघीय सांसदले समेत हावा खाइरहेका बेलामा प्रदेश सांसदले जनताको विकासको लहर ल्याउला भन्ने कुरा पत्याउन मुस्किल नै हुन्छ । तर, एउटा प्रदेशकै सांसदले चाहने हो भने विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न सक्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, सांसद मल्ल । उहाँले वास्तवमा एउटा मन्त्रीले गर्न नसक्ने काम गरेर देखाइदिनुभएको छ ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर सिंगो स्याङ्जा जिल्लाभरि खानेपानी, सिँचाइ, सडक, खेलकुद मैदान, अस्पताल, कलेज र विद्यालयहरूका भौतिक संरचना निर्माणका लागि गण्डकी प्रदेशबाट थुप्रै विकास आयोजना पार्ने काम गर्नुभएको छ । उहाँले प्रत्येक आर्थिक वर्षको बजेटमा स्याङ्जाको आफ्नो निर्वाचन क्षेत्र र समग्र जिल्लाका लागि विभिन्न विकास निर्माणका योजनालाई बजेटमा समावेश गराएर गण्डकीमै विकासप्रेमी नेताको छवि बनाइरहनुभएको छ ।

उहाँले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि स्याङ्जा जिल्लामा सडक निर्माण, खानेपानी, सडक, पुल, सिँचाइ, सामुदायिक भवन निर्माण, सालिक तथा पार्क निर्माणलगायत विभिन्न आयोजनाहरू जिल्लामा पार्न निकै दौडधुप गर्नुभयो । नेपालमा कामभन्दा बोल्न बढी रुचि राख्ने नेताहरूको प्रवृत्ति छ । भाषण जसले राम्रो गर्छ, त्यही नेतालाई राम्रो मान्ने मानसिकता कायमै छ ।

काम नगरे पनि भाषणमा शब्द र लय मिलाएर मधुर शैलीमा बोल्न सक्ने नेतालाई नै सक्षम नेता मान्ने प्रवृत्ति अझै पनि छ । कम बोल्ने नेतालाई ‘फलानोे जस्तो मिठो बोल्न जान्दैन’ भनेर टिप्पणी गरेको पाइन्छ । वास्तवमा यतिबेलाको नेपालले भाषण कम गर्ने र काम बढी गर्ने नेता खोजिरहेको छ । मल्लको कुरा गर्दा उहाँ भाषण सीमित गर्ने तर काममा रफ्तार देखाउने नेता हुनुहुन्छ । उहाँ भाषणहरूमा एकदमै कम रुचि राख्नुहुन्छ । ‘बोलेर विकास हुँदैन’ भन्ने उहाँको विश्वास छ । भाषणका लागि बोलाइहाले पनि उहाँले लामो भूमिकामा कुरा गर्न रुचि राख्नुहुन्न ।

उहाँलाई कार्यक्रमहरूमा प्रमुख अतिथि बन्न पनि रुचि हुँदैन । उहाँलाई प्रमुख अतिथि बनाइएका कतिपय कार्यक्रमहरूमा उहाँले आफूभन्दा सिनियर नेता, मन्त्री वा अन्य कसैलाई प्रमुख अतिथि बनाउन आयोजकलाई अनुरोध गरिरहनुभएको हुन्छ । कतिपय नेतालाई मञ्च साह्रै प्यारो हुन्छ । मञ्चमा बस्न पाएपछि आफूलाई ठूलोठालु मान्ने र जनतालाई रैती ठान्ने अहं तथा ठालुवादी मानसिकता पनि कतिपयमा नभएको होइन । आसन ग्रहणमा उद्घोषकले थोरै मर्यादाक्रम बिगार्नेबित्तिकै भाउ खोजेर मञ्च बहिष्कार गर्ने नेता पनि हामीकहाँ प्रशस्तै भेटिन्छन् ।

तर, यो भिडमा सांसद मल्ल त्यस्तो नेता हुनुहुन्छ, जसलाई मञ्चको मोह पटक्कै छैन । प्रायः धेरै कार्यक्रममा जनताकै वा रैतीकै लहरमा उहाँ भेटिन्छन् । उहाँलाई माला लगाउने रहर पनि देखिँदैन । कार्यक्रममा उहाँ आफूलाई लगाउने भनिएको माला अन्य अतिथिलाई लगाइदिन अनुरोध गरिरहेको देखिनुहुन्छ । न खादाको शोक, न मालाको शोक । यदि बलजफ्ती आयोजकले माला र खादा लगाइदिइहाले पनि उहाँको घाँटीमा ती धेरै बेर रहँदैनन् । उहाँ भन्नुहुन्छ, ‘म जनताको नेता हो । म जनताकै बीचमा ठिक छु । मलाई माला, खादा र भाषणको शोख छैन । मलाई जनताको बीचमा बस्न पाए पुग्छ ।’

उहाँ प्रदेश संसद् चल्दा वा नगइनहुने मिटिङहरू पर्दाबाहेक अन्य समय आफ्नै निर्वाचन क्षेत्र र जिल्लाका गाउँबस्तीहरूमा जनताकै घरदैलोमा भेटिनुहुन्छ । उहाँ कहिले जनतासँग बाँदर धपाउन मकैबारीमा पुग्नुहुन्छ त कहिले आफन्त गुमाएर पीडामा परेका जनताहरूका दैलोमा पुगेर सहानुभूति व्यक्त गरिरहेको हुनुहुन्छ । नेपाल विद्यार्र्थी संघका नेता धनराज पौडेल भन्नुहुन्छ, ‘सांसद मल्ल गण्डकी प्रदेश सभा चल्दा वा अनिवार्य बस्नैपर्ने अवस्थामा बाहेक प्रायः जिल्लामा बस्नुहुन्छ । जिल्लामा पनि उहाँ अधिकांश समय आफ्नै निर्वाचन क्षेत्रतिर जनताका बीचमा बस्न रुचाउनुहुन्छ ।’ यस्तै उहाँ कहिले पहिरोले पुरिएका जनताको उद्धारमा भेटिनुहुन्छ, त कहिले बिरामी भएर थला परेका बुढापाकाहरूका साथमा भेटिनुहुन्छ ।

विसं २०७४ सालको आमनिर्वाचनमा जताततै कम्युनिष्टहरूको विजयको लहर थियो । कांग्रेसका ठूलाठूला हस्तीहरूसमेत एमाले र माओवादीका नेताहरूसँग पराजित भइरहेका थिए । केपी ओलीको राष्ट्रियताको नाराले काम गरिरहेको थियो । यस्तो जटिल समयमा पनि उहाँले प्रत्यक्षमा जनताको मतबाट प्रदेश सभा सदस्यमा निर्वाचन जित्नुभयो । देशभरि कम्युनिष्टहरूको लहर सिर्जना भइरहेका बेलामा स्याङ्जा जिल्लाबाट जनताको प्रत्यक्ष मतले चुनाव जित्ने एकमात्र कांग्रेस सांसदका रूपमा मल्लले कांग्रेसको बिउ जोगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?