जुम्लाका भेडापालक किसानले पाए गोठालो भत्ता

हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत

जुम्ला । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए ।

निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारीले फिल्डस्तरमै स्थलगत रिपोर्ट र मूल्यांकन गरेपछि मात्र भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरेको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले यहाँका भेडाको उत्पादन बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ने उद्देश्यस्वरूप गोठालो भत्ता दिने गरिएको छ । भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम लागू गरिएको पशुसेवा कार्यालयका प्रमुख महतले बताउनुभयो ।

५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो । यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो । रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । सो कार्यक्रम माथिल्लो कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पामा गरी पाँच जिल्लामा लागू भएको छ ।

भेडा गुमाएका कृषकलाई राहत वितरण

जिल्लाको पातारासी गाउँपालिका–४ लुमका चट्याङमा परी भेडा गुमाएका पाँचजना कृषकलाई राहत वितरण गरिएको छ ।  कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा. लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्तरूपमा कृषकहरूलाई राहत वितरण गर्नुभएको हो । कृषकहरूलाई कुल पाँच लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ ।

यसमध्ये धर्मसिंह रिउले एक लाख ४४ हजार, सुक रिउले एक लाख ७६ हजार, मानबहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकाया ८० हजार पाउनुभएको छ । प्रतिभेडाको चार हजार दरले वितरण गरिएको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो ।

गत असार १७ गते पातारासी–४ मा पर्ने बागजाले पाटनका चट्याङ परी पाँचजना कृषकका ८० वटा भेडा मरेका थिए भने तीन सय भेडा हराएका थिए । राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले कर्णालीका किसानले अनिवार्य बिमा गर्नुपर्ने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?