लामो पुलले फेरियो खुङ्खानीवासीको दैनिकी

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । तीन वर्षअगाडिसम्म बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका सयौँ नागरिकलाई खुङ्खानीखोला वारपारमा निकै समस्या थियो । खोलाभन्दा गाउँ माथि रहेको हुँदा वल्लोपल्लो गाउँ गर्नका लागि घण्टौं लाग्ने गथ्र्यो । वर्षातको समयमा झनै कठिन थियो ।

गत दुई वर्षअगाडि तमानखोला गाउँपालिका–५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुंगे पुल बनेपछि वर्षौंदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको छ । पुलले दुई गाउँलाई मात्र जोडेन, गाउँलेहरूको मनलाई पनि जोड्यो । पुल बनेपछि खुङ्खानी, थास्पुरीवासीले खुसीको श्वास फेरेका छन् । यो पुलले विद्यार्थीलाई अझ बढी राहत दिएको छ । डेढ घण्टा लगाएर खोला वारपार गर्ने स्थानीय र विद्यार्थीहरू अहिले पाँच मिनेटमै खुङ्खानी–ठूलाबिसौना गर्न सक्छन् । गाउँभन्दा पारि रहेको जंगलबाट गाउँलेले घाँसदाउरा ल्याउन सहज भएको  छ ।

‘पारि गाउँमा जान ऊ तल खोलामा झरेर फेरि माथि निस्किनुपथ्र्यो, तल गएर गाउँमा निस्कन एक घण्टा पूरै लाग्थ्यो, अहिले त यहीँ लामो पुल बन्यो, एकै छिनमा पारि जाने वारि आउने गरिन्छ, हाम्रो ठूलो समस्या समाधान भयो,’ स्थानीय पदम हर्मेलले भन्नुभयो, ‘हामी त जन्मे र जान्ने बुझ्ने भएदेखि नै पारि गाउँ जान तल खोलामै पुगेर सानो पुल तरेर जानुपथ्र्यो, अहिले त यो पुलले पाँच मिनेटमै पारि जान सकिन्छ ।’ उहाँले खुङ्खानीवासीका बारीहरू खोलापारि हुँदा बारीमा काम गर्न जाँदाआउँदा नै धेरै समय लगाउनुपर्ने बाध्यता रहेको भन्दै पुल निर्माण भएपछि सबैलाई सहज भएको बताउनुभयो । पुलले खुङ्खानीका स्थानीयलाई जंगलबाट घाँसदाउरा ल्याउनसमेत सहज भएको भन्दै वारपार गर्न असहज हुँदा बाँझो बनेका बारीहरूमा पुलले सहज गराएपछि खेतीपाती गर्न थालिएको बताउनुभयो ।

‘गाउँ यहाँ छ, यहाँका गाउँलेहरूको बारी, जग्गा जमिन सबै पारि छ, पारिको गाउँमा पुग्न तल खोलामा बनेको पुल तर्नुपथ्र्यो, बारीमा काम गर्न जाँदा घरको काम रोकिने, घरको काम गर्दा बारीको काम रोकिने हुन्थ्यो, अहिले त घरको काम सकेर बारीमा पनि जान किने भयो, बारीको काम सकेर घरको काम पनि सजिलै गर्न सकिने अवस्था भएको छ, पुलले त हामीलाई निकै खुसी दिएको छ ।’

बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाइ ३३३ मिटर छ । वडा नम्बर ५ थास्पुरीका पूर्णिमा सुञ्चौरीले पुल बनेपछि आफूहरूलाई विद्यालय आउजाउमा निकै सहज भएको बताउनुभयो । पहिले आफू थास्पुरी गाउँबाट पढ्नका लागि दुई घण्टा लगाएर खुङ्खानीको शान्ति माध्यमिक विद्यालयमा जाने गरेकोमा अहिले आधा घण्टामै पुग्न सकिने उहाँको भनाइ छ ।

पुल नबन्दा आफूहरू बिहान ८ नबज्दै विद्यालय हिँड्ने गरेको सुनाउँदै सुञ्चौरीले अहिले ९ बजेपछि हिँडे पनि समयमै विद्यालय पुग्न सकिने बताउनुभयो । ‘पुल नहुँदा त हामी बिहान ८ बजे नै विद्यालय हिँड्नुपथ्र्यो, बर्खामा निकै डर हुन्थ्यो तर अहिले पुल बनेपछि धेरै नै सहज भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले त २० मिनेटमै स्कुल पुगिन्छ ।’

पुल बनेपछि नर्जाखानी, भित्रीवन, खुङ्खानी, थास्पुरीलगायत स्थानका करिब तीन सय घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पुलका कारण स्थानीयले वर्षौंदेखि धेरै सास्ती खेप्दै आएकाले पुल निर्माण गरिएको बताउनुभयो । उहाँले पुल बनेपछि यहाँका नागरिकले ठूलो राहत पाएको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले पुलले स्थानीयको समस्यालाई समाधान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको बताउनुभयो । उहाँले पश्चिम क्षेत्रमा यो जत्तिको लामो पुल कुनै पनि ठाउँमा नभएको हुँदा घुम्न र फोटो खिच्न आउने आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?