आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय, एकल बहुमत ल्याउने लक्ष्य

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको निरन्तरताबारे विभिन्न टीका टिप्पणी भइरहेको बेला गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आगामी संघ र प्रदेशको चुनावमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा एक हप्तासम्म बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने निर्णय गरेको हो ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमत हासिल गराउने लक्ष्यसहित आगामी पाँच वर्ष स्थिर सरकार दिनका लागि गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै भनिएको छ, ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ । यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आमनेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।’

चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसको ठहर छ । चुनावी तालमेलमा भागबण्डाको विषयमा गठबन्धनका दलहरूबीच अनौपचारिक संवाद सुरु भइरहँदा कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।’

अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न आग्रह
सत्तारूढ दल नेपाली कांग्रेसले मुलुकको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरेको छ । सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आवश्यक कार्ययोजना तयार गर्नसमेत आग्रह गर्दै भनेको छ, ‘देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आमनागरिकमा अस्वभाविक ढंगले भय सिर्जना गर्ने काम भइरहेकोमा सरकारले आमनागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था कस्तो छ, मुख्य समस्या कहाँ छ, चुनौती के छन्, जोखिम न्यूनीकरण गर्न के गर्न सकिन्छ ? लगायत विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ ।’

कांग्रेसले मुुलुकको अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने
केन्द्रीय समिति बैठकले पार्टीका भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । तीमध्ये चारवटामा मात्र सभापति शेरबहादुर देउवाले अध्यक्ष तोक्नुभएको छ । अन्य संस्थाले भने नेतृत्व पाएका छैनन् । सभापति देउवाले नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष तोके पनि पूर्णता दिनुभएको छैन ।

श्रीलंकाको संकट मोचनका लागि समन्वय गर्न आग्रह
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले श्रीलंकाले बेहोरिरहेको गम्भीर आर्थिक संकट समाधानको पहलका लागि समन्वय गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रका हैसियतले नेपालले श्रीलंका र त्यहाँका नागरिकलाई सहयोग गर्न तथा समस्या समाधानका लागि अन्य देशसँग समन्वय गर्न सरकारलाई आग्रह गर्दै भनेको छ, ‘मित्रराष्ट्र श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई यो बैठकले संवेदनशीलतापूर्वक लिएको छ । यो प्रतिकूल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरू र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई यो बैठक आग्रह गर्दछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रका रूपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।’

तीनवटा समिति गठन
नेपाली कांग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले पूर्णता दिने बताइएको छ ।

तीनवटा नयाँ भ्रातृ संगठनलाई मान्यता
कांग्रेसले नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थालाई पनि मान्यता दिएको छ । सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले कांग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा ४२ (१) (क) बमोजिम (१) अनुसार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई भ्रातृ संघको मान्यता दिने निर्णय गरेको हो । बैठकले यसअघि पार्टीको भ्रातृ संगठनको मान्यता पाएका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, कुमाल संघ, लोकतान्त्रिक नेवाः खल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ आबद्ध संघका रूपमा रहने निर्णय गरेको छ ।

यस्ता छन् कांग्रेस केन्द्रीय समितिका १३ निर्णय :

१. स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी अनुमोदन

२. सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन ।

३. नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको मान्यता ।

४. अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आबद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने ।

५. नेपाली कांग्रेसको आगामी ‘नीति महाधिवेशन’ का सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव प्रस्तुत गर्ने ।

६. स्थानीय तहमा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आचारसंहिता जारी गरी केन्द्रले लागू गर्ने ।

७. २०७९ भाद्र २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रूपमा विशेष अभियान चलाउने ।

८. नेपाली जनसम्पर्क समिति साइप्रसबाट पार्टी विधानबमोजिम तोकिएको रकम र आवश्यक कागजातसहित प्राप्त हुन आएका क्रियाशील सदस्यताको नामावली जम्मा ५०१ (नवीकरण १३० र नयाँ ३७१) लाई स्वीकृत गर्ने ।

९. नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले स्थानीय निर्वाचन व्यवस्थित र निष्पक्ष रूपले एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्यसमितिको यो बैठक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको मन्त्रिपरिषद्को उच्च कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्ने । निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी एवं सम्पूर्ण सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायत सबैको मिहिनेत र दक्षताको उच्च प्रशंसा गर्ने ।

१०. स्थानीय निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मुलुकको लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउन योगदान गर्ने र आफ्नो अमूल्य मतमार्फत नेपाली कांग्रेसलाई पहिलो दल बनाउने तथा मतदाताको विश्वासलाई सदैव शिरोपर गर्ने प्रण ।

११. पार्टीलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने ।

१२. नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ र त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रह साथ यो बैठक जनजीविका र सुशासन लगायत निम्न विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।

१३. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रूपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ । मित्रराष्ट्र जापानका पूर्व–प्रधानमन्त्री सिन्जो आवेको हिंसात्मक आक्रमणमा निधन भएकोमा यो बैठक गहिरो दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?