काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निर्वाचनपूर्वका प्रतिबद्धताहरूको अध्ययन, सिंहावलोकन गर्नुपर्छ । अमुक व्यक्तिको सालिक निर्माणप्रतिको उर्लँदो जनअसन्तुष्टि पूर्वप्रतिबद्धताप्रतिको विचलनको हो । बालेनले आफू जनताको सूक्ष्म निगरानीमा छु भन्ने किन भुले ? किन सालिक निर्माण गर्ने निर्णय सार्वजनिक हुने बित्तिकै विवादित बन्यो ? राजनीतिमा विवादित निर्णयहरूबाट बच्नुपर्छ । दलहरूको बीचमा च्यापिएको आफ्नो वास्तविकतालाई भुलेर उनले बहुमत प्राप्त दलको मेयरले जस्तै निर्णयहरू गर्ने घृष्टता गरे भने उनी जसरी उदाए त्यसरी नै आस्ताउनेछन् ।
सालिक निर्माण गर्ने निर्णयसम्बन्धी विरोध राजीनामा सम्ममा केन्द्रित नहोला भन्न सकिँदैन । आफ्नै खर्चको दम्भ झन् प्रतित्युत्पादक हुनसक्छ । दलहरूले उनका कमजोरीलाई एकमुष्ट गरेर एक्कैचोटि नहिर्काउलान् भन्न सकिँदैन । सार्वजनिक पदको धर्म र मर्मसमेतको अध्ययन र विश्लेषण गर्ने क्षमता विकास नगरिकन उनले काठमाडौं जस्तो समस्याहरूको चाङ भएको मेयरको पदको भारीलाई गन्तव्यसम्म पु¥याउने विषय सहज छैन । पहिलो जिम्मेवारी शहरलाई सफा, स्वच्छ राख्न फोहोर व्यवस्थापनको परिमाणात्मक अनुभूति अविलम्ब जनतालाई दिनुपर्छ । समस्याहरूको पहिचान र सामाधन गर्ने इमानदार मेयर जनताको चाहना हो ।
यसका लागि सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्ने संयन्त्र बनाऊ । जनताको मुख्य चिन्तामा रहेको अहिलेको उच्च करका दरहरूलाई पुनर्विचार गर । तिम्रो सफलताको पूर्वाधार भनेको कामको जिम्मेवारी वडा अध्यक्षहरूलाई विकेन्द्रीकृत गर्नु हो । आफूमात्र सहजकर्ता बन । म जान्दछु भन्ने घमण्ड प्रदर्शन नगर । अन्यथा दलका प्रतिनिधिहरूले तिमीलाई कत्ति पनि नजान्नेमा दर्ता गर्न बेर हुनेछैन । उनले आफ्नो अवस्था र दलबाट जित्ने वडा अध्यक्षहरूको मनोविज्ञानलाई बुझेर सहजकर्ता बन्न सकेनन् भने उनी सर्वाधिक असफल मेयर हुने सम्भावना कम छैन ।
तिम्रो पहिलो प्राथमिकता जिउँदा नागरिकहरू हुन् कि स्वर्गीय ? जिउँदालाई बाँच्न, नाँच्न अनुकूल वातावरण बनाऊ । त्यसपछि स्वर्गीय नागरिकहरूका सालिकहरू जति बनाए पनि हुन्छ । जिउँदाहरू खान नपाएर, स्वास्थ्य सुविधा नपाएर अकालमै स्वर्गीय भइरहेको अवस्थामा जिउँदा मानिसलाई जिउँने, स्वस्थ्य रहने, रोजगारी पाउने, जीवनप्रतिको निराशालाई आशामा बदल्ने जस्ता मानव हितसँग सम्बन्धित काममा साधन र स्रोतहरूलाई उच्चतम् परिचालन गर ।
सालिक बनाउने जस्तो अनुत्पादक र जिउँदा मानिसहरूलाई तिरस्कार र निरुत्साहित गर्ने क्षेत्रमा तिम्रो ध्यान गएको हो भने तिमी युवा, वृद्ध, विद्वान, मूर्ख जे भए पनि विवेकहीन हौ । विचार शून्य हौ । मानवीय मूल्यप्रति उदासीन हौ । जनताप्रति अनुउत्तरदायी हौ । निर्वाचनमा तिम्रा प्रतिबद्धताहरू के के थिए ? ती पूरा गरेर जिउँदा जनमानसलाई पूर्ण सन्तुष्टिको वातावरण निर्माण नगरीकन स्वर्गीयहरूको सालिकमा आफ्नै तलब, पारिश्रमिक वा व्यक्तिगत लगानी गर्ने पनि छुट तिमीलाई छैन ।
जनताको चित्त दुख्ने काम तिमीले आफ्नो तलवबाट त के पुस्तौनी सम्पत्तिबाट खर्च गर्ने हक तिमी मेयरको सार्वजनिक पदमा बहाल रहेको मितिसम्म पाउँदैनौ । तिमी सार्वजनिक पदमा बहाल रहुन्जेल तिम्रो व्यक्तिगत भन्ने वस्तु केही छैन । तिम्रो शरीर, मस्तिष्क, साधनस्रोत सबै अहिले जनताको इच्छा, चाहनाविपरीत खर्चने त के बोल्ने, हिँडनेमात्रै होइन शारीरिक भाषामा पनि संकेतसम्म गर्न नपाउने कुरा तिमीले बुझ्नुपर्छ ।
निर्वाचन जित्नु प्राविधिक विषय हो । पदमा रहेर पदअनुकूलको आचरण, व्यवहार गर्ने र जनताको मनको मेयर बन्ने विषयकाप्रति गम्भीर बन । इतिहासमा आफूलाई सम्मानित र कलंकित गर्ने कुरा तिम्रो बोली, व्यवहार र निर्णय नै निर्णायक हुन्छन् । विवेक, ज्ञान र ध्यान पु¥याउने तिम्रो धर्म र कर्तव्य हो । हामी शुभचिन्तकहरू भीर नजिकै उभिएर भीरमा खस्नै लागेको गाईलाई हामीले गर्न सक्ने र भन्न्ने राम राममात्रै हो । बाँकी भीरबाट नलड्ने बुद्धि र विवेक पु¥याउने काम तिम्रो हो ।
तिमीले अनुत्पादक क्षेत्रमा खर्च गर्ने र जनताको चाहनाविपरीत निर्णय गर्ने वा बोल्ने काम नगर । काशी जाने कुरा गरेका थियौ तर जनताले तिम्रो गन्तव्य कुतीतिर हो भन्ने अनुभव गरे भने लोकप्रियता क्षणभरमै घृणामा रूपान्तरण हुन्छ । सोचेर निर्णय गर । नेपाली राजनीतिमा सोचेर बोल्नेहरू छैनन् । घोचेर बोल्नेहरूको बोलावालालाई चुनौती दिन नै जनताले तिमी जस्तो राजनीतिमा फुट्टी अनुभव नभएको, कुनै विशिष्ट पेशागत योग्यता नभएको केटालाई दिएको भोटप्रति पछुतो हुने निर्णयलाई सार्वजनिक नगर ।
सोचेर नबोल्ने, घोचेर बोल्ने, सार्वजनिक सम्पत्तिलाई दुरुपयोग गर्ने पार्टीहरूका उम्मेदवारसँग वाक्क दिक्क भएर तिमीलाई बाढीको त्यन्द्रो जस्तैलाई पनि समात्दा केही राहत हुन्छ कि भनेर दिएको मतले आहत हुने निर्णय र काम नगर । तिमीले सालिक बनाउने निर्णय फिर्ता नलिएर बनाउँछु भन्ने अड्डी र घमण्ड प्रदर्शन गरेर व्यक्तिगत स्रोतले बनाउँछु भन्यौ भने तिमी असफल मेयर हुने राजमार्ग खन्दैछौ । यो समाजमा सार्वजनिक पदमा निर्वाचित हुन दुईचार नाराले सकिएला । तर, सफल मेयर हुन सकिँदैन । हिजो तिमी कमजोर थियौ ।
त्यसैले जनताको सद्भाव र सहानुभूति थियो । अहिले तिमी पदका हिसाबले शक्तिशाली छौ । त्यसैले अब जनताको सहानुभूति तिमीतिर हुँदैन भन्ने कुरालाई भाषणले होइन व्यवहारले आत्मसात गर । तिम्रो व्यवहार, कार्यशैली, जीवनशैली र निर्णयशैलीबाट सन्तुष्टि भएको जनताले अनुभव गर्नुपर्छ । आफैंलाई विकासको सफल अभियन्ता भनेर स्वघोषित दलका मेयरहरू किन सफल भएनन् ? त्यसका कारणहरूको भित्री रहस्यमा प्रवेश गरेर त्यो बाटो र विषयलाई तिमीले परित्याग गरेको जनताले अनुभव गरेनन् भने त्यो पदमा टिक्न तिम्रो कुनै टेक्ने समाउने ठाउँमात्रै होइन राम राम भन्ने मानिस पनि काठमाडौं महानगरपालिकामा नभएको अनुभव गर्ने दिनहरू टाढा हुने छैनन् ।
तिम्रो अहिलेको यो पाँच वर्षभरि व्यक्तिगत जीवन छैन । अहिलेको समय परिवारलाई पनि छुट्याउने हक गुमाएका छौ । समय, क्षमता, बौद्धिक सम्पत्ति, विवेक, ज्ञान सबै जनताको हितमा अहोरात्र खर्च गर्छु भन्ने तिम्रो अनुबन्ध, संकल्प र प्रतिबद्धतालाई नबिर्स । निर्वाचनमा मत कोसँग माग गरियो ? जीवितसँग कि स्वर्गीयसँग ? जीवितसँग गरेका वाचा, प्रतिबद्धता र आश्वासनलाई थाँती राखेर स्वर्गीयको सालिकमा मेरो आफ्नै लगानी गर्छु भन्ने दम्भको भाषाले तिम्रो राजनीतिक प्रतिबद्धता र इमानदारीमा जबर्जस्त प्रश्नचिहृन लाग्यो । राजनीतिमा एउटै निर्णयले व्यक्तिको प्रतिष्ठा र विश्वसनीयता सकिन्छ । सामाजिक आशंकाले हुने हानी र त्यसको दीर्घकालीन प्रभावलाई ख्याल गर ।
सालिकको निर्णयलाई अविलम्ब पुनर्विचार गरेर जनतासँग क्षमायाचना गर । प्रायश्चितबाहेक अर्को विकल्प भनेको त असफल मेयर हुनु हो । असफल हुने कि सच्चिएर सफल हुने प्रयासमा लाग्ने ? त्यो रोज्ने विवेकलाई प्रयोग गर्ने काम सम्बन्धित व्यक्तिको हो । हाम्रो होइन । सार्वजनिक पदमा हुनेहरूको व्यक्तिगत जीवन हुँदैन । व्यक्तिगत जीवनलाई परित्याग नगर्नेले सार्वजनिक पद धारण गर्नु हुँदैन । केही पाउन केही गुमाउनुपर्छ । जनअसन्तुष्टिलाई बेवास्ता होइन अविलम्ब सम्बोधन गर्नुपर्छ । आफूलाई ठीक लागेको कुरासमेत सार्वजनिक अनुमतिविना कार्यान्वयनमा जानु हुँदैन ।
सार्वजनिक पदमा रहँदा सबै कामहरू के यो आममानिसको भावनाविरुद्ध त हुँदैन भन्ने प्रश्नलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन भन्ने हेक्का राख्नैपर्छ । यसलाई सरल भाषामा सार्वजनिक जवाफदेहीप्रतिको निष्ठाको प्रमाणीकरण भन्दा अत्युक्ति नहोला । समाजको भावना र चाहनालाई बुझ्ने र आफ्ना काम कार्यवाहीलाई विवादित होइन जनअनुमोदित हुने क्रियाकलापले जनप्रतिनिधिलाई जवाफदेही बनाउँछ ।
सार्वजनिक पदमा बस्ने वा शक्तिको प्रयोग गर्ने जोकोहीले आफूले गरेका वा आफ्नो जिम्मेवारीभित्र भए गरेका कामको जिम्मेवारी लिने विषयलाई सामाजिक उत्तरदायित्व भनिन्छ । सार्वजनिक ओहदामा रहेको कुनै व्यक्तिले सार्वजनिक सरोकार र चासोको विषयमा आफूले र आफ्नो मातहतमा भए गरेका काम, कार्य सम्पादनको शैली, गुणस्तर र सार्वजनिक स्रोत तथा साधनको उपयोग बारे सरोकारवाला वर्गलाई उत्तर दिने आधुनिक प्रणाली वा व्यवस्थालाई सार्वजनिक जवाफदेही भनिन्छ ।
सार्वजनिक पदमा बहाल रहँदा जोकोहीले म सधैँ सरोकारवाला र सञ्चारको निगरानीमा छु भन्ने मनोविज्ञानलाई आत्मसात गर्नुपर्छ । सभ्य समाज र प्रणालीले सबै सार्वजनिक पदमा रहेनहरूको सार्वजनिक जवाफदेहीको परीक्षण गर्दछ । सार्वजनिक जवाफदेहीको विषय कुनै सार्वजनिक पदमा हुने व्यक्तिको लिखित वा मौखिक अभिव्यक्तिबाट होइन उसको व्यवहारले प्रमाणित गर्न सक्नुपर्छ । सार्वजनिक उत्तरदायित्व भनेको त्यस्तो कार्य र संयन्त्र हो जसले सेवा प्रवाह, नागरिक भलाइ, अधिकारहरूको संरक्षण र प्रबद्र्धनका सन्दर्भमा नागरिक समूहद्वारा सार्वजनिक पदाधिकारी वा जननिर्वाचित प्रतिनिधि वा सेवा प्रदायकलाई उनीहरूको आचरण तथा कार्य सम्पादनका लागि जनताप्रति त्यो जिम्मेवारी अनुभूत गर्दै जिम्मेवार बनाउँछ ।
जनताको भावना र चाहनानुकूल कानुन र नियमहरूको परिधिभित्र आफूलाई सीमित गर्दै आफ्ना पूर्वघोषित कार्यक्रम तथा लक्ष्यमा पुग्ने साधना, संकल्पप्रतिको इमानदार प्रतिबद्धतालाई व्यवहारमा अनुवाद गर्ने कामले सार्वजनिक जवाफदेहीको सैद्धान्तिक पक्षलाई पुष्टि गर्छ । बालेन भाग्यमानी मेयर हुन् । दलहरूको जगजगीमा राजधानी जस्तो ठाउँमा जिते । अब उनले फोहोर व्यवस्थापन, सुशासन, मितव्ययिता जस्ता चुनौतीहरूको खाका कोर्नु छ । महानगरसँग भएका विविध क्षमतालाई उपयोग गर्ने योजना बनाउन सके भने उनी असफल हुँदैनन् ।
त्यसका लागि उनीसँग अन्य महानगरसँग भन्दा धेरै विज्ञ, विशेषज्ञ सेवा निवृत्तहरू मौजुद छन् । के महानगरसँग ती विशेषज्ञको लगत संकलन छ ? समस्याको समाधानमा उचित सल्लाह पाउने क्षेत्र सेवा निवृत्तहरू हुन् । ज्येष्ठ नागरिक समाजका अभिभावक हुन् । उनीहरू फुर्सदिला छन् । त्यसमध्ये स्वास्थले साथ दिनेहरू जाँगरिला पनि छन् । अनुभव र ज्ञानका समेत ती खानी नै हुन् । सेवा निवृत्तहरू बोझ होइनन् वरदान हुन भन्ने प्रमाणित गर्ने अवसरलाई सदुपयोग गर्न नचुक । सबै समस्याहरूमा सल्लाह दिने क्षमतावान त्यो क्षेत्रको सल्लाह र सुझाव लिने प्रणाली विकास भयो भने तिम्रा निर्णय विवादित हुँदैनन् ।
निर्णयहरू विवादिन नहुने र काम निर्धारित लागत र समयमा सम्पन्न गर्ने बित्तिकै बालेन अहिलेसम्मकै उम्दा मेयरका रूपमा जनताको मनमा दर्ता हुन्छन् । उनले आफू सफल हुन सबै क्षेत्रका सेवा निवृत्तहरूको अनुभवलाई महानगरपालिकाका सबै समस्यासँग जुध्न सल्लाह लिने वातावरण बनाउन असल सहजकर्तामात्रै बने भने उनको सफलता निश्चित छ । सबै जिउँदाहरूको साथ लिएर जिउँदाको जीवनलाई खुशी बनाउनु तिम्रो पहिलो प्राथमिकता हुनुपर्छ । त्यसपछिको पालो स्वर्गीयलाई देऊ । अनि निर्धक्क सालिक बनाऊ । अहिलेको प्राथमिकता जिउँदालाई कि स्वर्गीयलाई भन्ने गम्भीर विवादबाट बच ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका