स्वास्थ्यको लागि खेल महत्वपूर्णः खेलकुदमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्व भएको बताउनु भयो । उहाँले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

सातदोबाटोको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा खेलकुद पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५-४ गोल अन्तरले पराजित गर्दै विजयी भयो । उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिएको थियो । मञ्चको जितमा वासु अवाल र दिल तामाङले समान दुई/दुई गोल गरे भने अभिनव जोशीले एक गोल थपे ।

यता अन्नपूर्णका लागि भने सन्तोष खड्काले दुई गोल गर्दा नीराजन श्रेष्ठ र नरेश खड्काले १/१ गोल थपे । विजेता टोलीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य एवं प्रशिक्षक राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गर्नुभयो । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यको प्रशंसा गर्नुभयो ।

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो । सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबका कप्तान सन्तोष खड्काले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?