रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषय नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण घातक भएको निष्कर्ष निकाल्नुभएको छ ।

उहाँले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू-बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको उहाँको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र-केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर-बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०-७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन् ।

आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेख्नुभएको छ ।

मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गर्नुभएको थियो ।

उक्त दस्तावेजमाथि देशभरबाट आमरूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?