३८ जना स्वास्थ्यकर्मी एकैसाथ बाहिरिए : अस्पतालको सेवा अस्तव्यस्त

Read Time = 6 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरुको एकैसाथ करार अवधि सकिएपछि अस्पतालबाट बिदा लिएका छन् ।
चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मीहरु एकैसाथ बाहिरिदा बेनी अस्पतालको सेवा पनि अस्तव्यस्त बनेको छ ।
अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो ।
५० बेढ क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार म्याद सकिएर बाहिरिएपछि साउन १ गतेबाट सेवा प्रभावित बनेको छ ।
कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृसंस्था निक साइमण्ड इन्सिच्युट (एनएसआई) ले पठाएका ४ स्वास्थ्यकर्मीको अवधि एकैसाथ सकिदा अस्पतालको सेवा प्रभावित भएको हो ।

ठूलो संख्यामा करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद समाप्त हुँदा नियमित सेवा प्रवाह प्रभावित भएको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ३१ गते पत्र पठाएर करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद समाप्त भएको जानकारी दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी हुने गरी कार्यरत विभिन्न पदका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३८ जनाको करार म्याद सकिएको अस्पतालले जनाएको छ ।

म्याद सकिने स्वास्थ्यकर्मीहरुमा हेल्थ असिस्टेन्ट ३,अ.हे.ब २ स्टाफ नर्स १२ ,फार्मेसी सहायक २,अनमी २,ल्याब टेििक्नसियन २ र कार्यालय सहयोग ५ जनाको म्याद समाप्त भई साउन १ गतेबाट सेवाबाट बाहिरिएको अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।
डा.कँडेलका अनुसार स्वास्थ्यकर्मीको अभावमा बेनी अस्पतालको सर्जिकल सेवा वन्द गरिएको छ । अस्पतालमा ८ कन्सल्टेन्ट डाक्टर र ४ मेडिकल अधिकृत सहित ५९ जनाको दरवन्दी भएपनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन् । डा.कँडेल अस्पतालका एक्ला मेडिकल अधिकृत हुन् । अस्पतालमा ४० जना स्वास्थ्यकर्मी अपुग रहेका डा. कँडेलले बताउनु भयो ।

यसैगरी अस्पतालको स्विकृत दरबन्दीमा करार तर्फबाट कार्यरत अनमी २ जना,स्टाफ नर्स १ जना,ल्याब असिस्टेन्ट १ जना, हेल्थ असिस्टेन्ट २ जना ल्याब टेक्निसियन १ जना र अस्पतालमा एनएसआईको तर्फबाट कार्यरत मेडिकल अधिकृत १ जना स्टाफ नर्स १ जना र एनेस्थेसिया असिस्टेन्ट १ जनाको करार म्याद समाप्त भई सेवाबाट बाहिरिएका छन् । एनएसआईको तर्फबाट कार्यरत मेडिकल अधिकृत वाहिरिदा अप्रेशन सेवा केही दिनका लागि रोकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनु भयो ।
५० बेडमा स्तरोन्नति गरिएको भनिएको अस्पताल व्यवहारिक रुपमा अस्तव्यस्त छ । कागजी रुपमा ५० बेडको भनिए पनि २० बेड क्षमताको अस्पताल भन्दा कम पूर्वाधार र स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका सेवाग्राहीहरुको गुनासो छ । अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट नै नभए पछि वेहोस बनाएर गरिने सम्पूर्ण उपचार सेवा बन्द भएको छ ।

ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु सेवाबाट बाहिरिदा सेवा प्रवाहमा असर परेको डा. कँडेलले बताउनु भयाे । चाँडाे जनशक्ति व्यवस्थापन मिलाइदिन गण्डकी प्रदेश सरकारसँग माग गरिएको उहाँको भनाइ छ । एकसाथ धेरै स्वास्थ्यकर्मी बाहिरिदा र नयाँ स्वास्थ्यकर्मी पनि तत्कालन नआउँदा अस्पतालको, ल्याबसेवा, ओपीडी, इन्डोर, इमर्जेन्सी समेतका स्वास्थ्य सेवा प्रभावित बनेको बेनी अस्पतालले जनाएको छ ।
अस्पतालको ओपिडी सेवामा दैनिक रुपमा दुईसयदेखि तीनसय जनासम्मले सेवा लिने गरेकोमा अहिले एकसयजना विरामीलाई मात्र सेवा दिन सकिएको अस्पताल व्यवस्थापन समितिका सदस्य बेलबहादुर कटुवालले बताउनु भयो ।

अस्पतालमा बालरोग, हाडजोर्नी, रेडियोलोजी, स्त्रीरोग, शल्यक्रिया, यनेस्थेसिया सहित सातवटा वार्ड र सोही अनुसार प्रत्येक वार्डमा एकजना विशेषज्ञ डाक्टर सहित एक जना मेडिकल डाक्टर र चार जना नर्सले सेवा दिनुपर्ने हुन्छ । तर अहिले अस्पतालमा विशेषज्ञ डाक्टरको त परको कुरा ८ जना स्टाफ नर्स मध्ये जम्मा ५ जना मात्र कार्यरत छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?