माओवादीले गरेको तालाबन्दीका कारण पातारासी गाउँपालिकाकाे कामकाज ठप्प

Read Time = 4 mins

-विजय रावत

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गरेको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ । गत असार महिनाको ८ गते पालिकालाई २२ बुँदे माग राख्दै आए पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ कमिटीले ताला लगाएको हो ।
माओवादी केन्द्र पातारासीका गाउँपालिका अध्यक्ष भक्तबहादुर बुढाले स्थानीय सरकार मनपरी रूपमा चलेकोले ताला लगाउन बाध्य भएको जानकारी दिनुभयो । गाउँसभा अगावै सरकारलाई माग पत्र दिएका थियौं । अध्यक्ष बुढाले भन्नुभयो, ‘माग उपर न छलफल भयो नत माग सम्बोधनको प्रक्रिया नै अघि बढ्यो । बाध्य भएर ताला लगाउने अवस्थामा पुग्यौं ।’

माओवादी केन्द्रले गाउँपालिका डिजिटल हुनुपर्ने, जुम्ला सदरमुकाम खलङ्गामा रहेको सम्पर्क कार्यालय खारेज गरिनुपर्ने, शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत जगतबहादुर शाही विद्यालयमा फिर्ता हुनुपर्ने, बढ्दो पेट्रोलियम पदार्थको खपत कम गर्दै आर्थिक अनियमितता रोक्नु पर्ने माग राखेको थियो । सामाजिक सुरक्षाभत्ता समयमै उपलब्ध गराइनु पर्ने,पहिलेका जनप्रतिनिधिले प्रयोग गरेका सबै सम्पत्ति पालिकामा बुझाउनु पर्नेलगायतका माग राखेर पालिकाको ध्यानाकर्षण गराएको थियो । माओवादी केन्द्रले राखेका कुनै पनि मागको सम्बोधन हुन नसकेपछि पालिकामा तालाबन्दी गरिएको अध्यक्ष बुढाले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने माओवादीले पालिकामा हस्तक्षेपकारी कदम चाल्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालिकामा कुनै पनि पार्टीले हस्तक्षेप गर्नु उचित हुन सक्दैन । उनीहरुले राखेका सबै माग सम्बोधन समेत हुन सक्दैनन् । बरु वडास्तरीय योजना तर्जुमा प्रक्रियाबाट आएका योजनालाई मात्रै गाउँसभाले मान्यता दिन सक्छ ।’

विधि र प्रक्रिया नपुगी पेस गरिएका माग सम्बोधन हुन नसक्ने बताउँदै उहाँले शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत जगतबहादुर शाहीलाई पहिलेको सरकारले काजमा राखेर काम चलाउँदै आएको र अहिलेको सरकारले गहन अध्ययन गरेर मात्र निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो । सदरमुकाम खलङ्गामा रहेको कार्यालय नयाँ आर्थिक वर्षको सुरुवातसँगै खारेज भइरहेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?